नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको तीन दिने इन्जिनियरिङ प्रदर्शनी हुँदै


Posted: Oct. 20, 2024
  Engineers Nepal

काठमाडौँ- नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको तीन दिने इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । इन्जिनियर्स भ्लग्सले सगरमाथा इन्जिनियरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहयोगमा प्रदर्शनी आयोजना गर्न लागेको हो । 

सोही कलेजको प्रांगणमा आगामी मङ्सिर २१, २२ र २३ गते सञ्चालन हुने प्रदर्शनीको नाम ‘ओर्बिट इन्जिनियरिङ्ग एक्स्पो २.०’ दिइएको छ । 

इन्जिनियरिङ विद्यार्थी तथा पेशेवरहरूको सिर्जनात्मकता, नवीनता, र प्राविक क्षमता प्रदर्शन गर्ने र गराउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त तीन दिने कार्यक्रममा सिभिल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर तथा अन्य इन्जिनियरिङ र सो सरहका क्षेत्रमा संलग्न +2 स्तर लगायतका अन्य व्यक्तिहरूले आ-आफ्ना अत्याधुनिक परियोजना, विभिन्न वास्तविक समस्याहरूका प्राविधिक समाधानहरू र सो को समाधानका लागि नयाँ विचारहरू प्रस्तुत गर्नेछन् ।

प्रदर्शनीमा रोबो सकर, रोबो वार, सीएडी प्रतियोगिता, सर्वेक्षण चुनौती, टेक्नो-बहस, प्रोजेक्ट डेमोन्स्ट्रेशन, ४८ घण्टे ह्याकाथन, पेपर ब्रिज प्रतियोगिता लगायतका अन्य आकर्षक प्रतिस्पर्धाहरूको पनि आयोजना गरिनेछ । यसले इन्जिनियरिङका उत्साहीहरूलाई मात्र नभई तल्लो माध्यमिक, माध्यमिक, +2 स्तर र सो सरहका विद्यार्थीहरूलाई पनि आकर्षित गर्नेछ । 

कार्यक्रमले सहभागीहरूको सहकार्य र नवीनतालाई प्रोत्साहित गर्दै दिगोपन र प्राविधिक प्रगतिका सन्दर्भमा आफ्ना विचारहरूलाई पुनर्निर्माण गर्न प्रेरित गर्नेछ । उक्त एक्सपोमा निःशुल्क स्वास्थ्य शिविर, भव्य सङ्गीत रात र नगद पुरस्कार वितरणसहितको समापन समारोह पनि हुनेछ ।

यस प्रदर्शनीका इभेन्टहरूमा २० वटा रचनात्मक चुनौतीहरू जस्तै प्राचीन इन्जिनियरिङ्ग विरुद्ध आधुनिक इन्जिनियरिङ्गः, भू-प्राविधिक चुनौतीहरू र प्रकोप जोखिम व्यवस्थापन, बिधुतीय हानी र यसको सुरक्षा, प्रविधि र वैदिक विज्ञान, काठमाडौंको वायु गुणस्तरसँगको लडाइँ, काठमाडौँ उपत्यकाको फोहोर पुनः प्रयोग, नेपालमा बायोमेडिकल प्रविधिको बृद्धि, सिँचाइ उपयोगका लागि बागमतीको पानीको उपचार, एआई/एमएल र नेपालमा यसको अनुकुलता, सामान्य घरपरिवारमा रोबोटहरू, नेपालको शहरहरूमा भविष्यको यातायातको नमुना, जलवायु परिवर्तनको प्रभावसँग नेपालको लडाइँ, आधुनिक नेपालको स्रोत नक्साङ्कन, ई-शासन, एसएमई प्रविधि तपाईंको स्थानमा, राष्ट्रिय रक्षा र सुरक्षा, नेपालीहरूको अन्तरिक्ष अन्वेषण र यससँगको सम्बन्ध, नेपालका लागि भविष्यको खाद्य समस्या र यसको इन्जिनियरिङ्ग समाधान, भविष्यको निर्माण प्रविधि र लेजर प्रविधिको प्रगति राखिएको छ । 

यसले नेपालमा कसरी कृत्रिम बुद्धिमत्ता (AI) को विकास हुँदैछ र यसलाई नेपालका विभिन्न क्षेत्रहरूमा कसरी अपनाइँदै छ भन्ने महत्त्वपूर्ण विषयहरूलाई पनि सम्बोधन गर्ने छ ।






Leave a comment




Comments