04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारिणी समितिले सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन विज्ञहरूको उपस्थितिमा छलफल गरी निष्कर्षसहितको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको छ । "Quick Respone: Immediate Action for Road safety and Vehicle Mobility" शीर्षकमा आज सम्पन्न छलफलको प्रतिवेदन नेइएका केन्द्रीय उपाध्यक्ष ई. प्रकाश केसीको उपस्थितिमा बुझाइएको हो ।
असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा ठूलो धनजनको क्षति भएको र नजिकिएको चाडवाडमा काठमाडौँबाट ठूलो संख्यामा यात्रुहरू बाहिरिने र भित्रिने परिस्थितिलाई समेत आकलन गरी नेइए बागमती प्रदेश कार्यकारिणी समितिको आयोजनामा सडक सुरक्षा एवं यातायात व्यवस्थापन सँग सम्बन्धित विज्ञहरूको उपस्थितिमा बृहत् छलफल गरिएको थियो । चाडपर्वहरूमा सडक सुरक्षा सुनिश्चित गर्न र सवारी आवागमनलाई सहज बनाउनका लागि तत्काल प्रतिक्रिया दिने उपायहरूको बारेमा सुझावसहितको निष्कर्ष समेत निकालिएको हुँदा आम जनताले सहज र सुरक्षित रूपमा आवतजावत गर्न पाउन् भन्ने उद्देश्य राखी ध्यानाकर्षण पत्रसहित विज्ञहरूबाट दिइएको सुझावलाई प्रतिवेदनको रूपमा पेस गरिएको सभापति ई. बलराम पुडासैनीले जानकारी दिए ।
उक्त प्रतिवेदनले हालैका प्रकोपहरूबाट प्रभावित राजमार्गहरू र ग्रामीण सडकहरूमा सुरक्षित र सहज सवारी साधनको आवागमनलाई सुदृढ बनाउँदै चाडपर्वको अवधिमा ट्राफिक व्यवस्थापनको समस्या समेत सम्बोधन हुने विश्वास लिइएको छ ।
साथै समीपमै आइसकेको विजया दशमी, शुभ दिपावली, नेपाल सवंत ११४५ तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घ जीवनको शुभकामना समेत व्यक्त गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
