04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
मन्त्री खड्काले आज यहाँ आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिने गरी मन्त्रालयले छलफल अघि बढाएको बताए । उनले कुनै पनि जलविद्युत् आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरूले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताए ।
'कुनै आयोजनाहरू विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहे पनि हुनेले लगानी गर्ने र नहुनेले लगानी गर्न नसक्ने अवस्था रहकाले पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन भन्नेबारे मन्त्रालयले छलफल गरिरहेको छ । तल्लो वर्ग समृद्ध नभइ मुलुक समृद्ध हुन सक्दैन,' मन्त्री खड्काले भने ।
‘नेपालको पानी, जनताको लगानी’ भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेसनको रूपमा लिएको उनले बताए । मुलुकको विकासका लागि सकारात्मक कुरालाई समावेश गरेर जाने मन्त्री खड्काले उल्लेख गरे । उनले सरकारले अबको १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताए ।
'यो मध्ये १३ हजार पाँच सय मेगावाट विद्युत् नेपालमा नै खपत गर्ने र १५ हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको छ,' उनले भने ।