काठमाडौँ। इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का निवर्तमान डीन प्रा.डा. शशीधर राम जोशीले चार वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय इ.अ.स. को डीन पदमा नियुक्त भइ २०८१ साउन १० गते चार वर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न भएको भन्दै आफूले गरेको कामको सूची डीनको कार्यालयको बुलेटिन मार्फत सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो कार्यकालको उपलब्धि स्वरुप इ.अ.स. अन्तर्गतका आंगिक क्याम्पसहरूको शुल्क बढाउन सफल भएको उल्लेख गरेका छन् ।
विगत २५ वर्षदेखि पूर्णशुल्कीय कार्यक्रममा भर्ना शुल्क समायोजन नहुनाले संस्था धराशायी हुन लागेको अवस्था रहेकाले इ.अ.स. को आंगिक क्याम्पसहरूमा विद्यार्थी भर्ना शुल्क समायोजन गर्न सफल भएको डीनको कार्यालयले उल्लेख गरेको छ ।
यस्ता छन् उपलब्धिहरू :
- इ.अ.स.का काम कारबाहीमा पारदर्शिता कायम राख नियमित बुलेटिन प्रकाशन गर्ने ।
- इ.अ.स.अन्तर्गतका आंगिक क्याम्पसहरु बिचमा हुने असान्दर्भिक शिक्षक सरुवा रोक्ने ।
- स्नातक तहका सबै कार्यक्रमका पाठ्यक्रमहरु परिमार्जन गरी अन्तराष्ट्रिय स्तरको र उत्पादन मुखि बनाउने ।
- इ.अ.स. को परीक्षा प्रणालीमा परिमार्जन गर्दै रिलेटिभ मार्किङ प्राणालीलाई परिवर्तन गरी अन्तराष्ट्रिय स्तरको ग्रेडिङ प्राणालीमा लैजाने ।
- शैक्षिक गुणस्तर सुधार गर्न स्नातक तहको अन्तरिक र सेमेस्टर बोर्ड परीक्षा प्रणालीलाई पूनसंरचना गर्ने ।
- सेमेस्टर परीक्षा सञ्चालन र स्वचालित नतिजा प्रकाशन प्रणालीलाई अपग्रेड गरी नतिजा प्रकाशनलाई थप चुस्तदुरुस्त बनाउने ।
- इ.अ.स.को पूर्ण कम्प्युटरमा आधारित प्रवेश परीक्षालाई बिकेन्द्रिकरण गरी काठमाडौं भन्दा बाहिरका आंगिक क्याम्पसहरुबाट पनि प्रवेश परीक्षा सञ्चालन गर्ने, अनलाइन केन्द्रिकृत भर्ना प्रणालीलाई थप सहज पार्ने ।
- आंगिक क्याम्पसहरुमा शिक्षक तथा कर्मचारी दर्वन्दी समायोजन गरी कार्यक्रमहरुको आफ्नो बिद्यार्थी अनुपातको आधारमा शिक्षक, कर्मचारी दरखन्दीको व्यवस्था गर्ने साथै डिप्लोमा तहका दरवन्दीहरु मिलान गरी क्षमता पुगेका शिक्षकरहरुको पदोन्नती गर्ने ।
- बिगत २५ बर्ष देखि पूर्णशुल्कीय कार्यक्रममा भर्ना शूल्क समयोजन नहुनाले संस्था धरासाही हुन लागेको अवस्था रहेकाले इ.अ.स. को आंगिक क्याम्पसहरुमा बिद्यार्थी भर्ना शूल्क समायोजन गर्ने ।
- अन्तराष्ट्रिय सम्बन्ध बढाउने र अनुसन्धानलाई प्राथमिकता दिँदै विदेशी विश्वविद्यालयहरु संगको सहकार्यत्मक अनुसन्धानको वातावरण सृजना गर्ने, अनुसन्धान केन्द्रहरुलाई पुनःसंरचाना गरी अनुसन्धान योजनाहरु बढाउने, थप अनुसन्धान तथा परामर्श केन्द्रहरु सञ्चालन गर्ने।
केही कार्ययोजना सम्पन्न भएको र केही पुरा हुने प्रक्रियामा रहेको जोशीको दावी छ ।
निवर्तमान डीन प्रा.डा. जोशीको कार्यकाल सकिएसँगै सो पद रिक्त रहन गएको हो । अहिले संस्थानकै सहायक डीन (शैक्षिक प्रशासन) प्रा.डा. विनोदकुमार भट्टराईले निमित्त डीनको जिम्मेवारी सम्हालिरहेका छन् ।
आइओइको डीन चयन प्रक्रियामा पाँच जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । त्रिविको डीन छनोट समितिले ११ आवेदकमध्येबाट उनीहरूलाई सर्टलिस्ट राखेको हो ।
सर्टलिस्टमा प्रा.डा. भोलानाथ शर्मा घिमिरे, प्रा.डा. लक्ष्मण पौडेल, प्रा.डा. संगीता सिंह, प्रा.डा. सुवर्ण शाक्य र प्रा.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।