उपत्यकामा कहाँ-कहाँ डुबानमा परे हाउजिङ, अपार्टमेन्ट र कोलोनी ?


Posted: Oct. 3, 2024
  Engineers Nepal

काठमाडौँ- शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण बागमती, बिष्णुमती, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बग्यो । बाढी र डुबानले ठूलो धनमालको क्षति भयो ।

उपत्यकाका अधिकांश नदी किनारका बस्ती डुबानमा परे । थुप्रै क्षेत्र जलमग्न भए । बाढीले उपत्यकाका सयौं घर डुब्दा स्थानीयको बिचल्ली भयो । मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी करिडोर पार गरेर बस्तीसम्मै पसेको थियो ।

यस्तै बाढीले च्यासलमा नेकपा एमालेको पार्टी कार्यालय र फुटबल मैदानसहितको तटीय क्षेत्र डुबानमा पर्यो । ललितपुरको नख्खु-कुसुन्ती क्षेत्र पनि बाढीले प्रभावित बनेको थियो । भक्तपुरमा राधेराधे क्षेत्र र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका थिए भने बाढी पसेर हजारौँको संख्यामा घरहरू डुबेका थिए ।

काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न र सुरक्षित भनिने ठूला ठूला हाउजिङ, अपार्टमेन्टदेखि कोलोनीमा पनि बाढी पस्यो । भैंसेपाटीसहित काठमाडौँको कुलेश्वरलगायतका स्थानमा बनाइएका सुविधा सम्पन्‍न संरचना डुबानमा परे ।

देशकै पुरानो मध्येको एक अपार्टमेन्ट स्तुपा कोलोनीको भुइँ तलामा बाढी पसेको थियो । बागमती र धोबी खोलाको दोभान बुद्धनगरमा रहेको स्तुपा कोलोनीमा बाढी पसेपछि भुइँ तलाका बासिन्दा प्रभावित भएका थिए ।

बाढीले हात्तीवन क्षेत्रमा पनि उग्र रूप लियो । हात्तीवनको बस्तीदेखि लिटिल एञ्जल स्कुल, जेम्स स्कुल र मेरो सिटी अपार्टमेन्ट पुरै डुबानमा परेका थिए ।

यस्तै, बालकुमारीको हिल भ्यू हाउजिङ पनि डुबानमा परेको थियो । इमाडोलको डाउनटाउन रेसिडेन्सी पनि डुबानमा पर्यो भने बालकुमारीको भेगास सिटी, नख्खुमा रहेको सनराइज अपार्टमेन्टमा पनि बाढी पसेपछि डुबानमा परेको थियो । यहाँका भुइँ तला र पहिलो तलामा असर गरेको थियो ।

हालै गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको मन्त्रालयको जनाएको छ ।






Leave a comment




Comments