21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को प्रविधि सङ्कायले नवप्रवर्तन तथा प्रविधि अनुसन्धान र विकासको प्रस्ताव आह्वान गरेको छ ।
असोज १६ गते बुधबार आ.व. २०८१/८२ का लागि नेपाललाई आवश्यक पर्ने नवीनतम् प्रविधि विकास गर्न वा प्रविधिहरूलाई सुधार गर्नका लागि प्रतिभाशाली नेपाली नागरिकहरूको पहिचान गरी उनीहरूका नवीनतासहितको प्रविधि विकास गर्न सहकार्य गर्ने उद्देश्यले नास्टले प्रस्ताव आह्वान गरेको हो ।
उक्त प्रयोजनका लागि उत्साही नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन (कार्यालय समय) भित्र आफूले गर्न चाहेको परियोजनाको प्रस्तावसहितको निवेदन यस प्रतिष्ठानको खुमलटार, ललितपुरस्थित केन्द्रीय कार्यालयमा वा technologyfaculty [email protected] मा कार्यालय समयभित्र दर्ता गराउन आह्वान गरिएको नास्टले उल्लेख गरेको छ । नास्टका अनुसार हस्त लिखित प्रस्तावहरूलाई मान्यता दिइने छैन ।
उक्त प्रस्ताव बढीमा १५ पृष्ठसम्मको हुनु पर्ने र उक्त प्रस्ताव नास्टको होम पेजमा दिइएको कार्यविधिमा उल्लिखित ढाँचाअनुसार नेपालीहरूको समस्याहरूलाई सम्बोधन गरी समाधान दिने खालको हुनु पर्ने सूचनामा भनिएको छ । साथै समस्या अध्ययन गरी प्रतिवेदन मात्र पेस गर्ने अनुसन्धानलाई यस कार्यक्रममा समावेश गरिने छैन ।
नास्टका अनुसार प्रस्तावमा उल्लिखित बजेट बढीमा रु. १०,००,००० (अक्षरुपी रुपैयाँ दश लाख मात्र) ले नबढाई गरिएको हुनु पर्ने छ । छनोट भएका प्रस्तावकहरूलाई १ वर्षको कार्य अवधि दिइने छ भने प्रस्तावकहरूले प्रस्तावको साथमा एक प्रति नागरिकताको प्रतिलिपि र बढीमा २ पृष्ठको व्यक्तिगत विवरण (बायोडाटा) पनि संलग्न गर्नु पर्नेछ ।
प्रस्तावका लागि अनुसन्धानका प्राथमिक क्षेत्रहरू
कृषि तथा खाद्य प्रविधि, ऊर्जा तथा यातायात, प्राकृतिक स्रोत साधनको उपयोग, विपद् जोखिम न्यूनीकरणको क्षेत्रसँग सम्बन्धित समस्याहरूको समाधानका लागि आवश्यक पर्ने प्रविधिहरूको विकास गर्नु हो । अतः अनुसन्धानको उद्देश्य माथि उल्लिखित क्षेत्रहरूमा नयाँ प्रविधि विकास गर्ने वा विद्यमान प्रविधिहरूको सुधार गर्ने हुनुपर्नेछ । साथै यी प्रविधिहरू नेपालका विभिन्न ठाउँका जनतासमक्ष बढीभन्दा बढी उपयोगमा आउनुपर्ने र रोजगारी सिर्जना गर्ने खालका हुनुपर्नेछ । यस प्रज्ञा प्रतिष्ठानको तत्सम्बन्धी निर्देशिका अनुसार लघु सूचीमा समाविष्ट निवेदकहरूलाई मात्र सम्पर्क गरिने छ । आवेदन फाराम र प्रस्तावसम्बन्धी विस्तृत जानकारीका लागि यस प्रतिष्ठानको वेबसाइट https://nast.gov.np हेर्न अनुरोध गरिन्छ ।