- 13 October 2024
- २०८१-०६-२७ (आइतबार)
काठमाडौँ- पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा विद्युत् प्रसारणको 'हाई टेन्सन टावर' मर्मत गर्नका लागि आज मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले एक सूचना जारी गर्दै असोज १५ गते राति १० बजेदेखि १६ गते बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
सोमबार दिउँसो नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४ दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक 'रिटेनिङ्ग वाल' भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत् प्रसारणको 'हाई टेन्सन टावर' समेत ढलेको थियो । जसबाट पूर्णरूपमा यातायातका सवारी सचालनमा अवरोध भएको थियो । लगत्तै सामान्य मर्मत गरेर मंगलबार बिहानदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।
सहज रूपमा यातायात सञ्चालनमा ल्याउने प्रयोजनका लागि राजमार्ग बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।