05 May 2026
२०८३-०१-२२ (मंगलबार)
मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशयको पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द गरिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान साढे ५ बजेदेखि ड्यामका २ वटा ढोका खोलिएको थियो ।
ढोका खोलेर जलाशयको पानी निकासा गरेको करिब १२ घण्टापछि दुवै ढोका बन्द गरिएको कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका साढे ४ मिटरसम्म खोलिएको थियो ।
कुलेखानीको जल सतह बिहान ९ बजेर ४० मिनेट जाँदा एक हजार पाँच सय २८ दशमलव ४८ सेन्टिमिटर रहेको प्रमुख भट्टले जानकारी गराए । जलाशयको भण्डारण क्षमता एक हजार पाँच सय ३० मिटर रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’ मानिने यस केन्द्रबाट अहिले २४ सै घन्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।