काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध


Posted: Sept. 28, 2024
  Engineers Nepal

काठमाडौँ- निरन्तरको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको धेरै ठाउँमा विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरूमा क्षति पुर्याएपछि आपूर्ति प्रभावित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको बताए । उनले काठमाडौँ उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको जानकारी दिए ।

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । यस्तै नयाँ चावहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता घोषका अनुसार विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न टोली खटिएको छ भने धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको छ ।






Leave a comment




Comments