थापाथली क्याम्पसको करारमा नाम ननिस्किएका प्रशिक्षार्थीको आरोप 'परीक्षामा सेटिङ भयो!'


Posted: Sept. 25, 2024
  Engineers Nepal

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका लागि विभिन्न पदहरूमा करार सेवामा पदपूर्तिका लागि लिइएको लिखित परीक्षामा सेटिङ भएको दाबी गरिएको छ ।

क्याम्पसले विभिन्न विषयमा उपप्राध्यापक, प्रशिक्षक र प्राविधिक सहायक (कर्मचारी), पद करार सेवामा पदपूर्ति गर्नका लागि विज्ञापन प्रकाशित गरेको थियो । 

उक्त विज्ञापन अन्तर्गत लिइएको परीक्षाको नतिजा निश्पक्ष नरहेको परीक्षार्थी तथा थापाथली क्याम्पसमै अध्यापन गराउँदै आएका एक प्राध्यापकले इन्जिनियर्स नेपाललाई बताए । उनले थापाथली क्याम्पसमा माओवादी केन्द्र पार्टीको भागबन्डाबाट भएका क्याम्पस प्रमुखले माओवादीको विभिन्न भातृ संगठनका नाममा राजनीति गर्ने, पार्ट टाइम शिक्षकहरूको नाम निकालेको आरोप लगाएका छन् ।

'कक्षा नलिएर राजनीति गर्ने मान्छेको नाम लिखितमा निस्किने तर जो मान्छेले सातौँ वर्षदेखि पढाइराको छ परीक्षा पनि राम्रो गरेको छ उसको ननिस्किने,' उनले आक्रोश पोखे । 

यसअघि पहिलो पटक चैतमा खुलेको विज्ञापनमा ३० जना मागिएको थियो । त्यस बखत परीक्षा विशेष कारण देखाएर स्थगित गरिएको थियो । दोश्रो पटक विज्ञापन खुलाउँदा ३० बाट घटाएर २१ सिटका लागि विज्ञापन गरिएको छ । यसमा पनि केही रहस्य रहेको दाबी छ ।  

पदपूर्ति समितिका सदस्य महेश लुइँटेललाई  प्रभावित गराएर काम गरेको उनको आरोप छ । 'अलि शंकास्पद के हो भने मैले त्यहाँ पढाएको धेरै नै वर्ष भयो । लिखितमा मैले राम्रो गरेको थिएँ । म जस्तो अरू पनि थिए । हामीहरू पास हुनुपर्थ्यो जस्तो लाथ्यो मलाई तर भएन । यहाँ नाम निस्किएकाहरू धेरै माओवादी धारबाट राजनीति गरेका मान्छेहरू छन्,' उनले भने । 

उनी जस्तै अर्का प्रशिक्षार्थीले पनि यसको विरोध गरेका छन् । उनले विगतमा त्रिवि सेवा आयोगले लिएको स्थायी शिक्षकको विज्ञापनमा समेत सेटिङ भइरहेको समयमा क्याम्पस करारमा निश्पक्ष हुन्छ भनेर सोच्न नसकिने बताए । 'अहिलेसम्म चलेको चलन नै यही छ, यहाँ,' उनले भने ।

उनी अगाडि भन्छन्, 'यस्ता परीक्षामा विगतदेखि नै राजनीतिक सेटिङ तथा भागबन्डाका आधारमा चल्दै आएको यो संस्थामा अहिले यस्तो कुरा आउनु नौलो होइन ।'

यता पदपूर्ति समितिका संयोजक राजकुमार चौलागाईँले सेटिङ भएको कुरालाई अस्वीकार गरेका छन् । उनले परीक्षाका सबै प्रकृया निश्पक्ष रूपमै सम्पन्न भएको बताए ।    


कसरी सम्भव हुन्छ करार सेवामा सेटिङ ? 

एक जना पूर्व क्याम्पस प्रमुखले करार नियुक्ति गर्दा देखेको आफ्नो अनुभव यसरी बताउँछन्  :

"राजनीतिक भागबन्डाका आधारमा कुन कुन उम्मेदवारको नाम निकाल्नुपर्ने हो सुरुमा त्यो तय हुन्छ । क्याम्पस प्रमुखले आफू अनुकूल सशर्त काम गर्ने गरी संयोजक नियुक्त गर्छ । प्रश्न बनाउने विषय विज्ञ र परीक्षाको उत्तर पुस्तिका जाँच गर्ने व्यक्तिको छनौट गर्ने निर्णय पदपूर्ति समितिको संयोजकको हातमा हुन्छ । नाम निकाल्नुपर्ने उम्मेदवारको हातमा परीक्षा अगावै प्रश्नहरू उपलब्ध गराउने काम गर्छन् । त्यतिले पनि पुगेन भने उत्तर पुस्तिका चेक जाँच गर्दा भागबन्डामा परेको उम्मेदवारलाई बढी नम्बर दिने र अन्य प्रतिस्पर्धीलाई कम नम्बर दिने हुन्छ । यसरी आफू अनुकूल व्यक्तिको नाम निकाल्ने काम हुन्छ ।"

हेर्नुहोस् नतिजा:






Leave a comment




Comments