21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौं- नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीस्तरको इन्जिनियरिङ प्रदर्शनीको आयोजना हुने भएको छ । प्रविधि र शिक्षामा क्रियाशील संस्था इन्जिनियर्स भ्लग्सले सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो ।
अर्बिट इन्जिनियरिङ एक्स्पो २०२२ को सफलता पाएको संस्थाले अर्बिट इन्जिनियरिङ एक्स्पो २.० आयोजना गर्न लागेको जनाइएको छ । प्रदर्शनी आगामी मंसिर २१ देखि २३ गतेसम्म ललितपुरको सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा आयोजना हुने छ ।
एक्स्पो २.० मा १०० भन्दा बढी भविष्यमुखी परियोजनाहरू प्रदर्शन गरिनेछ । जसमा विभिन्न देशहरूबाट सहभागीहरू हुनेछन् । तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
यो प्रदर्शनीले इन्जिनियरिङ र मेडिकल विद्यार्थीहरूलाई उनीहरूको नवप्रवर्तन परियोजनाहरू प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने छ ।
यस वर्षको अर्बिट इन्जिनियरिङ एक्स्पो २.० ले पहिलो पटक इन्जिनियरिङ र मेडिकल पेशेवरहरूलाई एउटै मञ्चमा आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्दै यी दुई महत्वपूर्ण क्षेत्रहरूबीच सहकार्यलाई प्रोत्साहन गर्नेछ । यो कार्यक्रम सबै उमेर समूहका लागि खुला हुनेछ । जसमा तीन दिनसम्म चल्ने मेगा निःशुल्क स्वास्थ्य शिविर पनि समावेश हुनेछ ।
महोत्सवको समापनमा इन्जिनियर्स म्युजिकल नाइट हुने छ । जहाँ प्रमुख ब्यान्डहरूले अत्याधुनिक स्टेजमा उच्च उर्जाका प्रस्तुति दिनेछन् ।
नेपालभरका ५६ जना इन्जिनियरको टोलीले अर्बिट इन्जिनियरिङ एक्स्पो २.० लाई यथार्थमा परिणत गर्न जिम्मेवारी लिएका छन् ।