नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुल्यो


Posted: Sept. 23, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुलेको छ । यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रकृया अघि बढाएको हो ।

सोमबार इन्जिनियरहरूको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले समेत यो प्रकृयालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रकृयाका लागि मन्त्रालय तयार रहेको बताए । ‘यो प्रकृया अघि बढाउन निक्कै ढिला भएको छ,’ मन्त्री दाहालले भने, ‘तर, ढिलै भए पनि प्रकृयाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नुपर्छ ।’

सोही कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रकृया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इन्जिनियरिङका क्षेत्रमा अन्वेशण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने पनि जनाए । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. नरेन्द्रमान शाक्यले नेपालमा इन्जिनियरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । 

उक्त एकडमा आबद्ध राष्ट्रहरूका इन्जिनियरहरूले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक अवसर प्राप्त हुने कार्यक्रममा बताइयो ।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रकृयाको थालनी गरिएको बताए । यो प्रकृया पूरा हुन ४ देखि १० वर्षसम्म लाग्ने भए पनि प्रकृयाको थालनीले नेपाली इन्जिनियरिङ क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे ।

यो प्रकृयाको थालनीले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुलेको उनको भनाइ छ ।






Leave a comment




Comments