21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- लोकतान्त्रिक समूह (सिडेन) ले नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेश तेस्रो कार्यकारीणी समितिको निर्वाचन धाँधलीपूर्ण ढंगले भएको दाबी गरेको छ ।
सिडेनबाट सभापति पदका उम्मेदवार ई. अजितकुमार यादवले आज सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन समितिको निर्णयको विरोध गरेका हुन् । उनले भदौ २८ गते सम्पन्न भएको र बिरगंज मतदान केन्द्रको मतगणना कार्य बिना प्रतिनिधि धाधलीपूर्ण ढंगले गरेको उल्लेख गरेका छन् ।
यस्तै सो पश्चात् बिरगंज केन्द्रको मतगणना कार्य पुनः गर्न ई. यादवले निवेदन दर्ता समेत गराएका थिए ।
मधेश प्रदेश निर्वाचन समितिले सो विषयमा छलफल गर्दा पुनः मतगणना गरी मतपरिणामपछि प्रकाशन गर्ने भन्दाभन्दै अहिले भदौ ३० गते राति ८ बजे चोर बाटोबाट मतपरिणाम घोषणा गरेकोप्रति घोर आपत्ति रहेको ई. यादवले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले दर्ता गराएको उजुरीमाथि सुनुवाइ नहुन्जेलसम्म सिडेनका १५ जना उम्मेदवारहरूले यो निर्वाचन समितिको कुनै पनि कार्यक्रममा सहभागी नहुने तथा निर्वाचन समितिको निर्णयको विरोध रहने बताएका छन् ।