21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- इन्जिनियर सागर ढकालले हालै सम्पन्न नेपाल इन्जिनियरिङ एशोसिएसनको निर्वाचनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत निदाएजस्तो गरेका इन्जिनियरहरू कहिले उठ्छन् र देशको नेतृत्व लिन्छन् भन्दै सो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भनेका छन्, 'देशलाई झन् अगाडि लानु पर्ने मोडेल बनाउनु पर्ने ठाउँमा पढे लेखेका भनेर हाम्रो विवेक जति जम्मा गरेर कांग्रेस र एमालेको पाउमा लगेर एकमुस्ट बुझाउन हुन्छ । रोड, पुल भएभरका संरचना जति भ्रष्टाचारले हरिबिजोग हुँदा तपाईँ हाम्रो केही जिम्मेवारी नै छैन, कांग्रेस र एमालेको भातृ संगठन हुनु बाहेक ?'
ई. ढकालले 'नेपालमा हाल कति जना इन्जिनियर रजिस्टर्ड छन् ? त्यसमध्ये कति जनाले भोट हाले ? कति प्रतिशत मत खस्यो ? समग्रमा १० प्रतिशत पनि पुग्यो होला ? अनि यस्तो चुनावलाई हजुर प्रजातान्त्रिक भन्नुहुन्छ' भन्दै प्रश्न समेत गरे ।
यस्तै उनले सबै इन्जिनियरहरू मतदान गर्न नआउनुमा नेइएभित्रको राजनीतिकरणलाई दोषी ठहर्याएका छन् । उनले सबैलाई भोमिट आउने गरी इन्जिनियरिङभित्र राजनीति गरेपछि कसैलाई पनि भोट हाल्न जाँगर नलाग्ने बताए ।
उनले इन्जिनियरहरूलाई लक्षित गर्दै भने, 'ख्याल गरौँ हाम्रै छिमेकी चीन कायापलट भएको इन्जिनियरिङ नेतृत्वले हो । तपाईँ हामीले चाह्यो भने र मुटु, आत्मा सफा भयो भने डडेल्धुरा जस्तो विकटमा पनि जनता जागेका छन् ।'
उद्योग कलकारखाना बन्द गरेर राजनीतिक कारखानाको एउटा हिस्सा यो चुनाव कसरी हुने भन्दै इन्जिनियरहरूलाई प्रश्न गरे । समग्रमा, छिटफुटबाहेक, अहिलेको चुनावमा कलेजमा पढ्दा जसले राजनीति गरेका थिए र अहिले जो नेपालमा छन् र नेपालको चलिरहेको सिस्टममा डुबेका छन् र यो सिस्टम बन्द हुँदा रोजीरोटी नै बन्द हुन्छ तिनलाई बाहेक अरू कसैलाई यो चुनावमा चासो नभएको समेत जिकिर गरे ।
उनले भनेका छन्, 'हाम्रो पुस्ता त ध्वस्त नै हुँदै छ अब छोरा छोरिको पुस्ता पनि ध्वस्तै बनाउने हो ? काठमाडौं-मुग्लिग/बुटवल-नारयणगढ यात्रा गर्दा घर गएर देशलाई गाली गर्न भन्दा पहिले ऐना हेरेर पहिलो गाली आफैँले आफैँलाई हेरेर गाली गर्नुहोला । यो देश यस्तो हुनुमा तपाईँ र म नै जिम्मेवार हो अरू कोही होइन । म गलत भए सुध्रिन तयार छु, तपाईँ गलत भए सुध्रिने आँट गर्न सक्नुहुन्छ ?'