एशोसिएसन खारेजीको स्थितिमा पुगेको छ, रिफर्म गर्ने एजेण्डा उठाएका छौं : ई. श्रेष्ठ(अन्तर्वार्ता)


Posted: Sept. 12, 2024
  Engineers Nepal

आसन्न नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा इन्जिनियर दिपक श्रेष्ठ अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन)बाट प्यानलसहित प्रतिस्पर्धामा रहेका श्रेष्ठ २० वर्षदेखि इन्जिनियरिङ पेसामा क्रियाशील छन् ।

गोरखा निवासी श्रेष्ठले थापाथली इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा, एडभान्स कलेजबाट ब्याचलर इन सिभिल इन्जिनियरिङ, नेपाल इन्जिनियरिङ कलेजबाट ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टबाट मान्टर्स गरेका छन् । ०६१ म स्नातक सकेका श्रेष्ठले ०६७ सम्म नेपाल इन्जिनियरिङ काउन्सिलको बोर्ड सदस्य भएर काम गरेका थिए । ०६७ मै नेपाल खानेपानी संस्थानमा सिभिल इन्जिनियरको  रूपमा काम सुरेका श्रेष्ठ हाल सहायक प्रबन्धक पदमा कार्यरत छन् । 

आफ्नो दुई दशक लामो अनुभवलाई संस्थागत रूपमा प्रयोग गरी इन्जिनियर समुदायको पेसागत हकहितको लागि नेपाल इन्जिनियर्स एशोसिएसनको नेतृत्व लिन श्रेष्ठ चुनावी मैदानमा छन् । ७० वर्षको गौरवमय इतिहास भए पनि बाटो विराएको एशोसिएसनलाई सबैको साझा संस्था बनाउन श्रेष्ठले विभिन्न व्यावहारिक एजेण्डाहरू पनि ल्याएका छन् ।

उनको मुख्य प्राथमिकता नै एशोसिएसनलाई राज्य, सरकारसँग जोड्ने र भूमिका बढाउने छ । समृद्धिका बाहक इन्जिनियरहरूको संस्थालाई विकास निर्माणमा राज्यको स्टेकहोल्डरका  रूपमा विकास गर्ने श्रेष्ठको योजना छ । यसैगरी इन्जिनियरहरूको सीप र क्षमता विकास, पेसागत हकहित, पारिश्रमिक वृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा प्रविधि हस्तान्तरण, सहभागितामूलक, सक्रिय र पारदर्शी एशोसिएसन बनाउने श्रेष्ठका कार्ययोजना छन् ।

समग्रतामा एशोसिएसनको भूमिका बढाएर शक्तिशाली बनाउने र इन्जिनियर समुदायको हितमा हुनेगरी आमुल सुधार ल्याउनेगरी आफू नेतृत्व लिन प्रतिस्पर्धामा आएको श्रेष्ठ बताउँछन् । थुप्रै महत्वपूर्ण एजेण्डा बोकेर नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) बाट प्यानलसहित प्रतिस्पर्धामा रहेका श्रेष्ठसँगको कुराकानीको सम्पादित अंशः 

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा यहाँ प्यानलकै नेतृत्व गरेर प्रतिस्पर्धामा हुनुहुन्छ, यहाँको उम्मेदवारी किन ?

हाम्रो उम्मेदवारी इन्जिनियर्स समुदायको पेसागत हकहितका लागि हो । नेपाल इन्जिनियर्स एशोसिएसनको ७० वर्षको अवधिमा ३०औंपटक भन्दा बढी लोकतान्त्रिक प्यानलले नेतृत्व लियो ।

तीनपटक जति प्रगतिशील समूहले लियो । यो ३४औं चुनाव हो । यहाँसम्म आइपुग्दा एशोसिएसन जुन उद्देश्यसाथ स्थापना भएको थियो, त्यो कहिले पनि पूरा भएन । एशोसिएसनलाई आफ्नो उद्देश्यमा हिँडाएर इन्जिनियरहरूको साझा संस्था बनाउन नै हामी प्रतिस्पर्धामा छौं । 

एशोसिएसनले के के गर्न सकेन र यहाँहरू प्रतिस्पर्धामा होमिनुभयो ? 

पक्कै पनि एशोसिएसनमा केही आंशिक विषय त आए । तर रोजगारीको विषय समाधान भएन, इन्जिनियर जस्तो जनशक्ति बेरोजगार हुनुपर्ने अवस्था छ । त्यतिमात्र होइन रोजगारी पाएका, निजी क्षेत्रमा काम गरेका इन्जिनियरहरूको समस्या पनि त्यस्तै छ । समयमा तलब पाएको अवस्था छैन । बिमादेखि अन्य सुरक्षाको विषयहरू छन् ।

स्थानीय तहमा पनि सुरक्षाको अवस्था विकराल छ । एउटै इन्जिनियरले पुरै स्थानीयतह धानिदिनुपर्ने अवस्था छ । त्यस्तै, अब राजनीतिक तहबाट पनि सुरक्षा खतरा छ । केही गाउँपालिकामा जनप्रतिनिधिले कुटपिट गरेको अवस्था छ । प्रदेशमा पनि यही खालको समस्या छ । संघमा पनि इन्जिनियरदेखि सचिवसम्मको दरबन्दी धेरै कम छ । प्राविधिक र प्रशासन छुट्टै कर्मचारीको रूपमा हेरिने गर्छ । वास्तवमा इन्जिनियरहरू पीडित हुने गरेको छ । 

निर्वाचनमा पेसागत हकहितका साथै इन्जिनियरिङ स्टाफ कलेजको विषय पनि उठ्ने गर्छ । तर, कार्यान्वयन कहिले पनि भएन । जहिले पनि इन्जिनियर्स दिवसको दिन र एशोसिएसनको निर्वाचनको समयमा मात्र यी विषय उठान हुन्छन् । यी सबै विषय कार्यान्वयन गर्नको लागि हाम्रो उम्मेदवारी हो । कार्यान्वयन गर्न सकेन भने हामी सशक्त आवाज उठाउछौं । यी एजेण्डाहरू स्थापित गरेरै छाड्छौं । 

नेपालमा अन्य ट्रेड युनियन संस्थाको भूमिका प्रखर रूपमा देखिन्छ । तर, इन्जिनियर्स एशोसिएसन राज्यका कुनै निकायमा पनि देखिँदैन, किन होला ?

यहाँले एकदमै सान्दर्भिक प्रश्न राख्नुभयो । किनभने नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल सरकारको बीचमा समन्वय छैन । एकखालको ग्याप छ । सरकारले एशोसिएसनलाई चिनेको जस्तो देखिँदैन । विकास निर्माण सेक्टरको स्टेकहोल्डर भन्दा पनि एउटा एनजिओको  रूपमा व्यवहार गरिएको छ ।

नीति निर्माण, बजेट, विपद् व्यवस्थापन, प्लानिङको विषयमा एशोसिएसनसँग सरकारले मिलेर काम गर्नुपर्ने हो, तर यहाँ त्यस्तो देखिँदैन । एशोसिएसनका साथीहरू पदका लागि पद, नियुक्तिका लागि नेपाल इन्जिनियर्स एशोसिएसनमा आउने र इन्जिनियर्स डे र एशोसिएसनको चुनावमा घोषणा पत्रमा मात्रै ती विषय उठान गरेर सधैं पन्छिने गरेको अवस्था छ । यो कार्यान्वयन गर्नको लागि हाम्रो उम्मेदवारी हो । 

दोश्रो कुरा केही गलत ब्यक्तिहरुले गलत मनसाय राखेर गरेका कामले आज सिङ्गो इन्जिनियरिङ समुदाय भिक्टीम बनेको छ । 
आम मानिस जस्तै आर्थिक रुपमा सम्पन्न हुन पाउनु , कानुन संगत रुपमा धन आर्जन गर्न पाउनु संविधानले दिएको मैलिक अधिकार हो । हरेक इन्जिनियरले आफ्नो पेशा ब्यवसाय गरेर आर्थिक रुपमा प्रगति गर्दा नोक्सान कसैलाई हुदैन, एक नागरिक सम्पन्न हुनु राष्ट्रको लागि पनि राम्रै कुरा हो । 

तर यहाँ इन्जिनियरको प्रगतिलाई समाजमा गलत भास्य बनाउने काम भएको छ । एयउटा इन्जिनियर गाडी चढ्दा होस् वा एउटा आफ्नै घर बनाउदा होस् सोसाइटीमा भ्रस्टचार गरेरै चढ्यो, बनायो होला भन्ने भास्य स्थापित गर्न खोजिएको छ । पुर्वाग्राही रुपमा केही प्रतिनिधि घटनालाई सिङ्गो इन्जिनियरीङको मानकको रुपमा चित्रण हुनु हाम्रो लागि दुःखद विषय हो ।

इन्जिनियरिङ समुदायको प्रतिष्ठा माथी आच आउने गतिविधि हुँदा समेत निरीह भएर बस्ने एशोसिएसन हामिले खोजेको एशोसिएसन हुँदै होइन ।  निष्ठापूर्वक पेशागत मर्यादामा बसेर काम गर्ने इन्जिनियरहरुको मनोबल उच्च बनाउन भुमिका खेल्नु इन्जिनियर्स एशोसिएसनको दायित्व हो । आजको दिनसम्म हामिले त्यो दायित्वबोध गर्न सकेनौं ।

एशोसिएसन र सरकारबीच समन्वय नहुँदा इन्जिनियर समुदायले के के गुमायो ? 

पहिलो त रोजगारी सिर्जनाको विषय हो । जुन पर्याप्त छैन । यसकारण राज्यबाट सबैभन्दा बढी इन्जिनियरिङ जनशक्ति विदेश पलायन भएको छ । दोस्रो सीप, ज्ञान, क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणमा एशोसिएसन चुकिरहेको छ ।

तेस्रो एशोसिएसनले जसरी अन्तर्राष्ट्रिय एक्सपोजरको रूपमा काम गर्नुपर्ने हो, अन्तर्राष्ट्रिय इन्जिनियर्स संस्थासँग भगिनी सम्बन्ध कायम गर्नुपर्थ्यो, त्यो गर्नसकेन । इन्जिनियर समुदायले प्राप्त गर्न नसकेका यी विषयहरूलाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन, दक्ष जनशक्ति पलायन रोक्ने वातावरण बनाउनेगरी हामी एशोसिएसनको नेतृत्व लिन प्रतिस्पर्धामा छौं । 

नेपाल इन्जिनियर्स एशोसिएसनको औचित्यमाथि नै प्रश्न उठिरहेको छ, यो किन होला, यहाँले यसको महत्व कसरी स्थापित गर्नुहुन्छ ?

नेपाल इन्जिनियर काउन्सिलमा करिब ८६ हजार इन्जिनियरहरू रजिस्टर्ड छन् । त्योमध्ये करिब ४० हजार इन्जिनियरमात्रै नेपाल इन्जिनियर्स एशोसिएसनमा साधारण सदस्य हुनुहुन्छ । त्योमध्ये पनि जम्मा १९ हजार इन्जिनियरहरू मतदाताको रूपमा हुनुहुन्छ । किन घट्यो भन्ने बहसको विषय छ । मुख्यतः एशोसिएसनको जुन भ्यालु क्रियट गर्नुपर्थ्यो, त्यो हामीले गर्न सकेनौं । रोजगारी सिर्जना गर्न सकेनौं, नेपाल सरकारसँग पुलको काम गर्न सकेनौं ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार पनि गर्न सकेनौं । साथसाथै सुरक्षाका विषयहरू कानुनी र पेसागत रूपमा उठान गर्न सकेनौं । अहिलेकै अवस्था रहने हो भने अब नेपाल इन्जिनियर्स एशोसिएसनको महत्व खारेज हुने स्थिति छ । त्यसैले ७० वर्षको गौरवमय इतिहास बोकेको एशोसिएसनलाई रिफम गर्नेगरी, आमुल सुधारको उद्देश्यसहित हामी आएका छौं । नेपाल इन्जिनियर्स एशोसिएसन अहिले जुन अवस्थामा छ, त्यसरी चल्दैन ।

हामीले संस्थाभित्र यति धेरै राजनीति गर्यौंस कि यो आफैँ थला परेको छ । अति राजनीतिकरण, सीमित लाभ लिने भर्यातङ बनाइएकाले एशोसिएसन भूमिकाविहीन बन्न पुगेको हो । नेपाल इन्जिनियर्स एशोसिएसनलाई राज्यको डेभलपमेन्ट सेक्टरको थिंक ट्यांकको रूपमा स्थापित गर्न हामी काम गर्छौं ।

सुधारका लागि यहाँहरूको के के योजना छन् ?

नेपाल इन्जिनियर्स एशोसिएसनलाई आम इन्जिनियर साथीहरूको प्रतिनिधिमूलक संस्थाको  रूपमा विकास गर्न हामीले केही योजनाहरू अघि सारेका छौं । जस्तो, विद्यार्थीदेखि नै सदस्यता दिने सोचेका छौं । सदस्यता दिइसकेपछि लाइब्रेरीमा एक्सेस दिने, अन्य सेमिनार, तालिमहरू, रिसर्च र इनोभेसनमा अवसर दिने योजना छ ।

र इन्जिनियरिङ पास गरिसकेपछि ती इन्जिनियरहरूलाई इन्टर्नसिपको व्यवस्था गर्ने, रोजगारीको समन्वय गर्न कुनै शाखा निर्माण गर्ने, शाखाले न्यूनतम पारिश्रमिकसहितको रोजगारी उपलब्ध गराउने खालको एशोसिएसनको परिकल्पना गरेका छौं । अहिले जुन एशोसिएसनमा साधारण सदस्यमात्र छन्, त्यो अवस्थालाई चार तहको सदस्यता बनाएर रिफर्म गर्ने निष्कर्षमा पुगेका छौं । एउटा त विद्यार्थी, दोस्रो इन्टर्नसिप, तेस्रो साधारण सदस्य र चौथो व्यवसायिक इन्जिनियर गरेर चार तहको इन्जिनियर बनाउने र यसलाई रिफर्म गर्ने योजना छ । रिफर्म भइसकेपछि अन्तर्राष्ट्रिय एक्सपोजर, रोजगारी सिर्जना, सरकारसँग समन्वय, नीति निर्माण, विपद् व्यवस्थापन र बजेट निर्माणमा पनि काम गर्छ । 

नेपाल इन्जिनियर्स एशोसिएसन सम्पूपूर्ण इन्जिनियरहरूको अभिभावक संस्था हुनुपर्ने हो, त्यो देखिएन । तपाईँहरूले कसरी अभिभावक संस्थाको  रूपमा विकास गर्नुहुन्छ ? 

एशोसिएसन इन्जिनियरहरू र इन्जिनियरिङ पेसाको अभिभावक संस्थाको  रूपमा रहनुपर्ने हो । अहिलेसम्म यो अभिभावकीय संस्था बन्न सकेन । हामी यसलाई अभिभावकत्व ग्रहण गर्ने विषयमा र इन्जिनियरिङ समुदायको मातृ संस्थाको  रूपमा अगाडि बढाउन विषयमा एकदम गम्भीर ढंगले लाग्छौं ।

एशोसिएसन पारदर्शी भएन भन्ने पनि गुनासो छ, कसरी सम्बोधन गर्नुहुन्छ ? 

पक्कै पनि यो आम इन्जिनियरहरूको आवाज हो । एशोसिएसनले वार्षिक कार्यतालिका कहिले ल्याएको छैन । एशोसिएसन खाली इन्जिनियर्स डे मनाउने र चुनाव गर्नेमै सीमित छ । अन्य गतिविधिहरू, आर्थिक गतिविधिको विषय अहिलेसम्म पारदर्शी छैन । त्यो पारदर्शी बनाउन हाम्रो प्रण हो ।

एशोसिएसनको हरेक गतिविधि पारदर्शी हुनुपर्छ, वार्षिक क्यालेण्डरसहित आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । सम्पूपूर्ण इन्जिनियरले गतिविधि थाहा पाउनुपर्छ, सहभागी हुने अवसर पाउनुपर्छ । 

अन्तिममा निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ, आम मतदातालाई केही भन्न चाहनुहुन्छ ?

हामी घोषणापत्रमा बोल्ने र आश्वासन बाँडेर चुनाव जित्ने विगतको परम्परा धान्नेभन्दा पनि काम गर्नेगरी आएका छौं । हामीले अवसर पायौं भने परिणाममुखी काम गरेर कामबाटै बोल्नेछौं ।

र एशोसिएसनलाई सदस्यहरूको आकर्षणको, हाम्रो संस्था हो भन्ने बनाउनेछौं । यसका लागि काम जरुरी छ, त्यो हामी गरेर देखाउँछौं । इन्जिनियरहरू आफैँ सदस्यता लिने, नवीकरण गर्ने र सक्रिय सहभागिता रहनेगरी भ्यालु क्रियट गर्छौं । हाम्रा एजेण्डाहरू राज्यबाट सम्बोधन भएन सवै हिसावले सशक्त आवाज उठाउछौं ।

हाम्रो परिकल्पना निरिह नेपाल इन्जिनियर्स एशोसिएसन होइन, शक्तिशाली एशोसिएसन हो, पेसागत हकहितमा खरो उत्रिने संस्थाको  रूपमा अगाडि लैजान्छौं । यसमा मतदाताको विवेक महत्वपूर्ण छ । हाम्रोभन्दा पनि राम्रो काम गर्नेलाई नेतृत्वमा ल्याउन अपिल गर्दछौं । साथीहरूले मौका दिनुभयो भने त्यो काम गर्न हामी आतुर छौं ।






Leave a comment




Comments