- 13 October 2024
- २०८१-०६-२७ (आइतबार)
नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं कार्यकारिणी समितिको महासचिव पदको उम्मेदवार हुन् इन्जिनियर विरोध रिजाल । २००६ मा नेपाल इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक र २०११ मा एसियन इन्टिच्युट अफ टेक्नोलोजी थाइल्यान्डबाट स्नात्कोत्तरको तह पास गरेका छन् उनले । यस्तै अध्ययनपश्चात् २००६ मा इन्जिनियरिङको पढाइ पूरा गरेदेखि नै यस पेसामा उनको निरन्तर आबद्धता रहेको छ । विशेष गरी सफ्टवेयर डेभ्लपमेन्ट र सूचना प्रविधिमा रहेर काम गरिरहेको रिजालले बताए । नेपाली र केही विदेशी प्रोजेक्टहरूमा समेत काम गरेको अनुभव उनीसँग छ । उनी एक प्राध्यापक पनि हुन् । नेपाल इन्जिनियरिङ कलेजमा ९ वर्ष पूर्णकालीन र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आंशिक रूपमा प्राध्यापकको रूपमा काम गरेका छन् । हाल उनी सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा प्रधानाध्यापकको रूपमा आबद्ध छन् ।
उनी नेपाल इन्जिनियर्स एसोसिएसनको २६ औं कार्यकारिणी समितिको निर्वाचनदेखि नै सक्रिय छन् । २९ औं कार्यकारिणी समितिमा निर्वाचित सदस्यको रूपमा काम गरे भने ३० र ३१ औं मा आइसिटी डेभ्लप्मेन्ट कमिटीमा कोच इएर भएर काम गरे । यस्तै उनले ३२ औं मा एसोसिएसनको पब्लिकेसन कम्युनिटीको चियरको रूपमा पनि काम गरिसकेका छन् । सोही अवधिमा उनले इलेक्ट्रोनिक भोटिङबारे बनाइएको महत्वपूर्ण टास्क फोर्सको टिममा सदस्य भएर काम गरे । उक्त टास्क फोर्सको काम इलेक्ट्रोनिक भोटिङ मेसिनले कसरी काम गर्छ भन्नेबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नु थियो । अहिले हुन गइरहेको निर्वाचन पनि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट हुने उनले जानकारी दिए । यस्तै २००९ मा नेइएको बैंकिङ चार्टर्डको अध्यक्षको रूपमा समेत काम गरेको उनले बताए । प्रस्तुत छ ई. रिजालसँग इन्जिनियर्सनेपालले गरेको कुराकानीको संक्षिप्त अंश:
तपाईँको उम्मेदवारी किन ?
विगतदेखि हालसम्मको समयलाई नियाल्दा नेइएले मुलुकमा भएका सबै इन्जिनियरहरूलाई समेट्न सकेको छैन । उसका आफ्नै विभिन्न कारण पनि होलान् । नेइएले सबैलाई समेट्न नसक्दा हामी त्यहाँ जानुपर्छ र नेइएभित्र रहेको कल्चरलाई परिवर्तन गर्नु पर्छ भन्ने हामीलाई लागेको छ । त्यस्तै नेइएको गठन जुन उद्देश्यका साथ भएको थियो त्यो प्राप्तिका लागि भन्दा पनि अरू कुरामा अल्झेको जस्तो देखियो । त्यसैले हामी सफल, समावेशी र सहभागितामूलक नेइए बनाउन चाहन्छौं । त्यसैले हाम्रो उम्मेदवारी हो । यसैमा हाम्रो एजेन्डा पनि रहेको छ र यसैमा हामी फोकस छौं ।
नेइएलाई सबैको साझा संस्था कसरी बनाउन सकिन्छ ?
नेइएप्रतिको आकर्षण किन बढ्न सकेन भन्ने कुरा मुख्य हो । अहिले इन्जिनियरहरूको संख्या बढ्दै गएको छ । स्थानीय तहदेखि केन्द्रसम्मको कार्यक्षेत्रमा सबैले काम गरिरहनु भएको छ । उहाँहरू सबैमा यो नेइएले हाम्रै लागि काम गर्छ भन्ने अपनत्व गर्ने कुरा हुनुपर्ने हो । तर, कहीँ न कहीं नेइए चुकेको जस्तो लाग्छ । नेइएले राजनीतिक परिवर्तनपछि मुलुक जुन समृद्धिको बाटोमा जाने भनेर नाराहरू तयार गरियो ती नाराहरू नारामै सीमित भए कि ।
ती नाराहरूलाई साकार पार्न हामीसँग एउटा संरचना हुनुपर्थ्यो तर हाम्रो प्रशान सामान्य प्रशासनबाट डोमिनेट भयो । त्यस कारण इन्जिनियरहरूले स्वतन्त्र भएर काम गर्न सक्ने वातावरण्न बनिसकेको जस्तो लाग्दैन । ऐन निर्माण गर्ने काममा पनि इन्जिनियरहरू लबिङ गर्नु पर्थ्यो त्यहाँ पनि कमजोर भइयो जस्तो लाग्छ । त्यहाँ पनि भरोसा दिन सकेन कि भन्ने लाग्छ । दोस्रो अहिले नयाँ इन्जिनियर धेरै आउनु भएको छ । उहाँहरूलाई बजारअनुसार तालिम र सिकाइको अवसर मिलाइ दिनु पर्ने हो त्यसमा पनि नेइए चुकेको छ । त्यस कारण पनि युवासामू यसको आकर्षण घटेको जस्तो लाग्छ ।
तेस्रो एसोसिएसन आफैँमा एउटा एनजिओको रूपमा स्थापित संस्था हो । एउटा निश्चित विधान छ । र, यसले सबै इन्जिनियरहरूलाई समान रूपमा हेर्छ । तर, निर्वाचनको समयमा समूहगत रूपमा आउने व्यवस्था छ । यसरी आउँदा व्यक्तिभन्दा पनि समूह समूह छानेर भोट हाल्नुपर्ने हुन्छ । अनि प्रत्येक पटक त्यही समूह निर्वाचित हुन्छ । अहिले १८ हजार ५९५ हाम्रो भोटर हो । विगतका अभ्यास हेर्दा ५० देखि ६० प्रतिशत इन्जिनियरहरू भोट हाल्न आउनुहुन्छ । अहिले अनुमान गर्दा १० हजार भोट खस्न सक्छ । एउटा निर्वाचित हुने टिमले ३ हजार, ४ हजार भोट पाउँछ र, जित्छ । भनेपछि उसले त्यो ३ हजार, ४ हजार इन्जिनियरसँग मात्र राम्रो सम्बन्ध कायम गरेर राख्यो भने सबै प्यानल जित्छ । यसरी जिताउनका लागि प्रमुख भूमिका खेलेकाहरूमै भोलिका दिनमा नेइएका गतिविधि सन्चालन हुने भए । त्यसले नतिजा राम्रो दिन सकेन । त्यसैले हामीले यस्ता संस्थागत निर्वाचन पद्धतिलाई परिमार्जन गर्नुपर्छ भन्ने अवधारणा लिएर आएका छौं । त्यो कसरी हुन्छ भने अहिले सबै पदमा आम निर्वाचन गरौं । मुख्य पद अध्यक्ष, महासचिव र कोषाध्यषमा इन्जिनियर मतदाताबाट चुनाव गराउने बाँकी पदहरूमा अध्यक्षका उम्मेदवारले प्राप्त गरेका मतको समानुपातिक आधारमा नियुक्ति गर्न सक्ने । त्यसैगरी उप पदहरूमा पनि समानुपातिक हिसाबमा नै गर्न सकिन्छ । यसमा पनि एउटा निश्चित मापदण्ड बनाउनुपर्छ । र, जसले ती मापदण्ड पूरा गर्न सक्छ उसैलाई दियो भने सबै इन्जिनियरहरू नेइएमा सबै गतिविधिहरूमा समावेश हुनु सक्छ । यसले नै एउटाच डाइनामिक नेइए निर्माण गर्न सक्छ । अर्को एजेन्डा भनेको नेइएमा आबद्ध इन्जिनियरहरूको बिमाको व्यवस्था गरी निरन्तर अगाडि बढाउँने छौँ ।
नेइएमा नयाँ इन्जिनियरहरूको चासो घट्नुमा राजनीति कारक हो भन्ने सुनिन्छ । तपाईँलाई के लाग्छ ?
राजनीति सबैमा व्याप्त छ । राजनीति खराब होइन । संसारका सबै मुलुक र संयन्त्र राजनीतिक हिसाबले नै चलेका छन् । तर, पनि हामीसँग जुन राजनीतिक संस्कार छ अथवा हामीले हाम्रो संस्थामा घुसाउने राजनीति सबैको आफ्नै आस्थामा हुने हो । आस्था कै कारण उसले त्यहाँ जित्यो भने त्यसलाई राजनीतिकरण भयो भन्न मिल्दैन । यद्यपी उसले त्यहाँ आएर कति निश्पक्ष भएर काम गर्न सक्यो भनेर निर्धारण गर्नुपर्ने होला । बाहिर भनेजस्तो नेइएमा पनि त्यति धेरै राजनीतिकरण भयो भन्न म सक्दिनँ । तर, पनि साँघुरो हुने भयो अर्थात् ४ हजार, ५ हजार मान्छे सक्रिय हुनेबित्तिकै नेइएको चुनाव हुने भइसक्यो । दर्ता हुने इन्जिनियर धेरै भएर पनि नवीकरण नगरेका इन्जिनियर धेरै भए । उनीहरूलाई नेइएको महत्व नभए जस्तो लाग्छ । यसर्थ नेइएले त्यो भ्यालू गुमायो । नेइएले उनीहरूलाई आफ्ना संस्थामा आबद्ध गराइराख्नका लागि ठोस कदम चाल्नुपर्थ्यो त्यो हुन सकेन ।
नेइएमा हारे पनि जिते पनि चुनावमा उठ्ने र आफ्नो राजनीतिक फाइदाका लागि यसलाई प्रयोग गर्ने प्रवृत्तिलाई तपाईँ के भन्नुहुन्छ ?
यो विषय भनेको कुनै व्यक्तिले यो संस्थालाई राम्रोसँग अगाडि बढाएर आफूमाथि जान्छ भने त्यो ठीकै हो तर यहाँ के भइरहेको छ भने आफ्नो लाभका लागि संस्थालाई प्रयोग गर्ने प्रवृत्ति हाबी छ । आफूमाथि जानकै लागि मात्र पनि उसले संस्थालाई दुरुपयोग गर्यो भन्ने कुरा आइरहेको छ । जुन सरासर गलत हो र यसको निगरानी हुनुपर्छ ।
तपाईँको चुनावी प्रचारप्रसार र माहोल कस्तो छ ?
अहिले माहोल राम्रै देखिरहेको छु । पूर्वदेखि पश्चिमका विविध सेक्टरका इन्जिनियरहरू नेपाल इन्जिनियर काउन्सिलमा ५० भन्दा बढी विधामा दर्ता भएका छन् । हामी धेरै विधाका इन्जिनियरहरूसँग सम्पर्कमा छौँ । भोलिका दिनमा उहाँको योगदान कस्तो हुन सक्छ, नेइएलाई कसरी समेटेर लैजान सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ । यो पटक हामी अलि फरक शैलीमा नेइएको चुनावमा आइरहेका छौँ । हामीले डिजिटल क्याम्पेनिङ गरेर, एजेन्डाहरू बनाएर, छलफल गरेर अगाडि बढेका छौँ । जसबाट सफल नेइए बनाउने हाम्रो उद्देश्य छ । साथै चुनावको क्याम्पेनिङ पेपरलेस बनाउँछौँ । सबै तहमा रहेका इन्जिनियरहरूले आफ्नै सर्कलमा प्रचार गरिरहनुभएको छ । यसर्थ हामी नेइएलाई सशक्त र विश्वाशिलो बनाउनतर्फ लागेका छौँ ।
तपाईँको नजरमा नेपालमा इन्जिनियरहरूको समस्या के छ ? तपाईँ निर्वाचित हुनुभयो भने योजना के छ ?
इन्जिनियरहरूको समस्याको कुरा गर्दा पहिलो त नेइएको दृष्टिकोणले हेर्दा इन्जिनियरको हकहित विभेदकारी छ । जस्तो यो भन्दा पहिले इन्जिनियरलाई छैठौँ तहमा लिने गरेको थियो । हाम्रो समाजवादी इन्जिनियरबाट सुरुवात गरेर बागमती प्रदेशमा हाम्रो मुख्यमन्त्री रहीरहँदा यसको करेक्सनको सुरुवात गर्यौँ । अहिले धेरै ठाउँमा कुरा मिलिसकेको छ । अझै पनि केही संस्थानहरूमा यो छ उहाँहरूले पनि आफ्नो प्रक्रिया पूरा गरेर यसलाई करेक्सन गर्ने हुनु भएको छ । यस्ता विभेद जहाँ जहाँ छन् त्यसलाई हटाउनका लागि पनि हामी प्रयासरत छौँ । यस्तै आम इन्जिनियरको उत्पादन बढेको छ तर रोजगारीको अवसर कम छ । यसले गर्दा बेरोजगारी संख्या बढ्दै जाने भयो । एउटा इन्जिनियर व्यवसायी पनि बन्न सक्छ । उसलाई व्यवसायी बन्न नेइएले कसरी सहयोग गर्न सक्छ त नेइएले मात्र गरेर हुने कुरा पनि होइन । त्यसैले नेइएले सरकारसँग लबिङ गरिदिनु पर्ने हुन्छ । यस क्षेत्रमा गुणस्तरको पाटोमा पनि हेर्नुपर्छ । अहिले विदेशी मुलुकबाट पढेर आएकाहरूमा पेसागत दक्षतामा कमी देखिएको छ । यसलाई निर्मुल गर्नका लागि ब्याचलर पढ्न विदेश जाने होड रोक्नुपर्छ । यसमा पनि एजेन्डा छन् हामी त्यसमै लागिरहनेछौँ ।
मतदातालाई तपाईँ के भन्न चाहनुहुन्छ ?
नेइएमाथिको आकर्षण घटिरहेको छ यसलाई बढाउन तथा सबै इन्जिनियरको नेइए बनाउनका लागि राज्यले देखिने संस्था बनाउनुपर्छ । जति पनि प्रशासन छन् तिनीहरूलाई विकासमैत्री प्रशासन बनाउनुपर्छ । यस्तै नेइएलाई अलि धेरै सदस्यसम्म पुर्याउनका लागि डिजिटलाइज्ड नेइए बनाउनुपर्छ । सबै इन्जिनियरहरूलाई समेट्ने गरी नेइएले कार्यक्रम गर्नुपर्छ । समग्र इन्जिनियर सदस्यहरूमा सुनिने र पुग्ने नेइए बनाउनु पर्यो । यसको लागि पनि हाम्रो उम्मेदवारी हो ।