इन्जिनियरले आठौं तहमा सेवा प्रवेश पाउनुपर्छ, विभेद स्वीकार्य छैनः ई. दिपक श्रेष्ठ


Posted: Sept. 10, 2024
  Engineers Nepal

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार ईन्जिनियर दिपक श्रेष्ठले सरकारी सेवा प्रवेशमा इन्जिनियरहरुप्रति गरिएको विभेद अन्त्य गरिनुपर्ने बताएका छन् । 

नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन)बाट चुनावी मैदानमा होमिएका श्रेष्ठले इन्जिनियरहरुलाई आठौं तहमा सेवा प्रवेश दिनुपर्ने र यसका लागि आफूले सशक्त आवाज उठाउने प्रतिबद्धता जनाए । 

कुनै पनि डेभलपमेन्ट प्रोजेक्टको खाकादेखि निर्माण कार्य सम्पन्न गर्नसम्म इन्जिनियरहरुको विशिष्ट भूमिका हुन्छ । 
इन्जिनियरहरुकै अथक मेहनत र क्रियटिभ योजनाले नागरिकको सेवाका लागि लोभलाग्दो पूर्वाधारहरु बन्छन् । यस हिसाबले पनि नियुक्तिमा जुन सम्मान हुनुपर्ने हो त्यो अहिले छैन,’ उनले भने । 

मेडिकल, सीएलगायत प्राविधिक पेशातर्फ आठौ तहबाट सेवा प्रवेश पाउने व्यवस्था रहेको तर इन्जिनियरिङ सेक्टरमा कतै छैठौं त कतै सातौंमै सीमित गरेर विभेद गरिएको उनको भनाइ थियो ।

‘अभ्यासमै हेर्दा एउटै योग्यता भएका इन्जिनियर साथीहरुले स्थानीय तहमा जाँदा छैठौ तहबाट प्रवेश गर्नुपर्ने, प्रदेशमा छैठौं र सातौ दुबै छ, एकरुपता छैन, संघमा पनि सातौं तहबाट प्रवेश गर्नुपर्ने व्यवस्था छ । आयल निगम जस्तो ठूलो संस्थानमा समेत छैठौं तहमा इन्जिनियर कार्यरतहुनु इन्जिनियरिङ समुदायको बिडम्बना हो, यसमा परिमार्जन जरुरी छ,’ उनले भने, ‘योग्यता, पाठ्यक्रम, परीक्षा एउटै फम्र्याटको भए पनि राज्यका तीनवटा सरकारमा जुन खालको विभेद इन्जिनियरिङ पेशालाई गरिएको छ, यो हटाउनुपर्छ ।’ 

अब संघ, प्रदेश र स्थानीय तहको नियुक्ति विभेद हटाउनुपर्नेमा जोड दिँदै उनले स्थानीयदेखि संघसम्म आठौं तहमा इन्जिनियरहरुले सेवा प्रवेश पाउने व्यवस्था गर्नुपर्ने बताए । 

यो विभेद भइरहेको लामो समय हुँदा पनि इन्जिनियर्स एसोसिएसनको नेतृत्वले पहलकदमी नलिएको मलाई दुख लागेको छ,’ उनले भने, ‘हामी इन्जिनियरहरुको यो साझा हितको विषय भएकाले सबै यसमा लाग्नुपर्छ भन्ने अपिल गर्न चाहन्छु ।  






Leave a comment




Comments