पहिलो पटक इन्जिनियर्स एशोसिएसनको चुनावमा 'प्रेसिडेन्टल डिबेट'


Posted: Sept. 10, 2024
  Engineers Nepal

काठमाडौँ- पहिलो पटक इन्जिनियर्स एशोसिएसनको चुनावमा 'प्रेसिडेन्टल डिबेट' भएको छ ।

हिजो सोमबार काठमाडौँमा इन्जिनियरको कथा डिजिटल प्लाटफर्मले पहिलो पटक इन्जिनियर्स एशोसिएसनको चुनावमा 'प्रेसिडेन्टल डिबेट' गरेको हो । डिबेटमा ६ वटै प्यानलका अध्यक्षहरूलाई बोलाइएको थियो । तर, ६ मध्ये ५ वटा प्यानल कार्यक्रममा आउने तय भएको थियो ।

कार्यक्रममा पिनबाट ई.प्रा.डा. विष्णुप्रसाद पाण्डे, नियोनका ई. दिपक श्रेष्ठ, सिनका ई.नन्द लाल बन्जाडे र जनमत युनियनका ई. रामेश्वरप्रसाद कलवारको उपस्थिति रहेको थियो भने सिडेनका ई. सुवासचन्द्र बराल आएनन् ।

बरालले आफू कार्यक्रममा आउने भने तापनि अन्तिम समय आएर आउन नसक्ने बताएको सञ्चालक राजकुमार अधिकारीले इन्जिनियर्सनेपाललाई जानकारी दिए । सबै उम्मेदवारसँग छलफल गरेर मात्र कार्यक्रम तय गरेको र बरालले आउने भने पनि नआएकामा उनले गुनासो गरे । उनले भने, '६ वटा प्यानलमध्ये ५ वटा आउने तय भएको थियो । आउने नै फिक्स भइसकेको थियो तर अतिम समयमा आएर सिडेनबाट सुवासचन्द्र बराल सर आउनु भएन । यो गलत हो । कि त आउन्नँ नै भन्नुपर्थ्यो । उहाँले डिबेट फेस गर्न चाहनुभएन भन्ने नै हो हाम्रो कुरा ।'

अध्यक्ष बन्न चाहने मान्छेले इन्जिनियरको मुद्दा के हो भन्नेबारे बुझ्नुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको उनले बताए । उनले कार्यक्रममा चुनाव र इन्जिनियरहरूको हकहित, इन्जिनियरहरूको समस्या र यसको समाधानका लागि अब उठ्ने अध्यक्षले कसरी सम्बोधन गर्छन् भन्ने विषयमा छलफल भएको बताए ।

कार्यक्रममा मतदाता मध्ये ५०/५५ जना इन्जिनियरहरूको उपस्थिति रहेको थियो । उनीहरूले अध्यक्षसँग सवालजवाफ समेत गरेका थिए । 
 






Leave a comment




Comments