हामीले जित्यौँ भने नेइए र इन्जिनियरबीच 'ब्रिजिङ' को काम गर्छौँ : सदस्य उम्मेदवार ई. महर्जन


Posted: Sept. 10, 2024
  Engineers Nepal

विगत २६ वर्षदेखि थापाथली क्याम्पसमा उपप्राध्यापकको रूपमा कार्यरत छन् धर्म महर्जन । उनी आगामी भदौ २८ गते हुन गइरहेको नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को कार्यकारिणी समितिको सदस्यमा उम्मेदवार छन् । ललितपुरको पाटनमा घर भएका महर्जनले अटोमोबाइल इन्जिनियरिङमा पीसिएल थापाथली क्याम्पसबाट पास गरेका छन् । बिएस्सी र एमएस्सी इन मेकानिकल इन्जिनियरिङ स्पेशियलाइज इन मेकानिकल अटोमोबाइल मेन्टेनेन्स युक्रेनबाट पास गरे । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्ष काम गरेका महर्जनले इन्जिनियर भइसकेपछि आँबुखैरेनीस्थित मर्स्याङ्दी हाइड्रोपावरमा २ वर्ष २ महिना काम गरे । लामो समयदेखि अध्यापन गराइरहेका महर्जनसँग इन्जिनियर्सनेपालले कुराकानी गरेको छ । प्रस्तुत छ  उक्त कुराकानीको सम्पादित अंश:

मतदाताले तपाईँलाई नै भोट किन दिने ?

म पनि एउटा इन्जिनियर हुँ । मैले हाम्रो इन्जिनियर साथीहरूले हकहित तथा अधिकारको साथसाथै उनीहरूलाई सपौर्ट तथा गाइड गर्न र आवश्यक परेको बेलामा सहयोग गर्ने अवसर मिलोस् भन्नकै लागि मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ । अहिले इन्जिनियरहरूलाई विभिन्न लाञ्छना लागेको हुन्छ । काममा कम तलब दिने, काम गर्दागर्दै पनि सरुवा तथा बढुवामा बाधा हुनेलगायतका इन्जिनियरहरूका समस्या समाधानका निम्ति पहल गर्न मेरो उम्मेदवारी हो । 

तपाईँ निर्वाचित हुनुभयो भने काम गर्नका लागि के कस्‍ता योजना बनाउनु भएको छ ?

सुरुमा त इन्जिनियरहरूको हकहित र अधिकारको मुद्दा उठाउने हो । त्यस्तै कुनै संस्थामा इन्जिनियरको आवश्यक पर्यो र उक्त संस्था इन्जिनियरको पहुँचमा छैन भने हामी नेइए र इन्जिनियरबीच ब्रिजिङको काम गर्नेछौँ, जहाँ इन्जिनियरहरूको बढी भूमिका हुन्छ त्यस्तो ठाउँ तथा अफिसहरूमा इन्जिनियरहरू कार्यकारी भएर काम गर्न पाउनु पर्ने । यी यस्तै विषयमा रहेर हामीले काम गर्नेछौँ ।

तपाईँ नेवार समुदायबाट आउनुभएको छ । यो समुदायमा इन्जिनियरप्रतिको आकर्षण तथा विकर्षण कस्तो देख्नुहुन्छ ?

आकर्षण त धेरै छ । पहिला म इन्जिनियर हुँदा एकदमै थोरै हुन्थे । मेरो टोलबाटै म एकजना मात्र पहिलो इन्जिनियर हुँ । मेरो छिमेकी टोलबाट दुई जना थिए । त्यसपछि धेरै पछि मात्र नेवार समुदायबाट अरू पनि इन्जिनियर बने । तर, अहिलेको वर्तमान समयमा मेरो टोल तथा हाम्रो समुदायबाट धेरै इन्जिनियर बनिसक्नु भएको छ । 

नेइएमा इन्जिनियरहरूको संख्या काउन्सिलको भन्दा ज्यादै कम छ । तपाईँ अध्यापकको नजरबाट देख्दा किन यस्तो भएको होला ?

मलाई लाग्छ भर्खर उत्पादन भएका नयाँ इन्जिनियरहरूलाई गाइडेन्स गर्नुपर्यो । कतै काम गर्न जाँदा ओरिन्टेसन दिनुपर्यो । सुरु मै जाने बित्तिकै काम गर्न गाह्रो हुन्छ । कामको सिलसिलामा अनेकन समस्याहरू आइपर्न सक्छन् । त्यसको समाधानका लागि उसलाई सहयोग गर्नपर्यो । साथै इन्जिनियरलाई समस्या पर्दा र विभिन्न नचाहिने लाञ्छना लगाउदा नेइएले सपोर्ट गर्न नसकेरै यसप्रति विकर्षण बढेको हुनुपर्छ । त्यस्तै कलेजहरूले धेरै इन्जिनियर उत्पादन गरेको छ । ती सबैले कामहरू पाउन गाह्रो छ । यसमा नेइएले महत्वपूर्ण भूमिका खेलेको छैन । त्यस्तै देश विकास गर्नका लागि सरकारलाई झक्झक्याउन सकेको छैन कि । यो पनि एउटा कारण हो जस्तो लाग्छ मलाई । 

चुनावी माहोलमा हुनुहुन्छ । तपाईँप्रति मतदाताको हेराइ कस्तो छ ?

मतदाताहरू मप्रति सकारात्मक हुनुहुन्छ । आशा छ म जित्छु भनेर किनभने मैले पढाएका मेरा विद्यार्थीहरू धेरै छन् । ती सबै मेरा विद्यार्थीहरूले सहयोग गरेमा म यसै जितिहाल्छ नि ।

अन्त्यमा मतदाताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ ?

सबै मतदाताहरूले हाम्रो प्रगतिशील इन्जिनियरिङ समूहलाई मत दिएर मलगायत मेरो टिमका सबै साथीहरूलाई आफ्नो अमूल्य मत दिएर जिताउन विनम्र अनुरोध गर्दछु ।  






Leave a comment




Comments