21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि मंगलबार एमालेको जनवर्गीय संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन) ले आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
'समृद्ध नेपाल सुखी नेपाली निर्माणमा इन्जिनियरको भूमिका' विषयक अन्तर्क्रिया कार्यक्रममा प्रम ओलीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने भएका हुन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को ३४औं केन्द्रीय कार्यकारिणी समिति एवं तेश्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनियरिङ पेसाभित्र रहेका समस्या साथै दिगो विकासमा इन्जिनियरले खेल्नुपर्ने भूमिकाबारे छलफल हुने पिनले जनाएको छ ।
पिनका अनुसार नेपालको अग्रगामी परिवर्तनका लागि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न प्रगतिशील, पेसागत देशभक्त नेपाली इन्जिनियरहरूलाई एकबद्ध गर्ने उद्देश्यका कार्यक्रम आयोजना गरिएको छ ।
नेइएको कार्यकारिणी समितिको ३४औँ निर्वाचन आगामी भदौ २८ गते हुँदैछ । आसन्न निर्वाचनमा केन्द्रित रहेर प्रम ओली कार्यक्रममा आउन लागेको हुन् । कार्यक्रम भोलि २५ गते मंगलबार अर्पण पार्टी प्यालेस, थापागाउँमा अपराह्न ४ बजेबाट सुरु हुने छ ।