21 April 2025
२०८२-०१-०८ (सोमबार)
नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं कार्यकारिणी समितिको सदस्य पदको उम्मेदवार हुन् इन्जिनियर राधा ढकाल । गुल्मी घर भएकी ढकाल प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) बाट सदस्य पदको उम्मेदवार भएकी हुन् ।
उनले थापाथली क्याम्पसबाट सिभिल इन्जिनियरमा स्नातक तह पास गरिन् भने उनले नेपाल इन्जिनियरिङ कलेजबाट इन्टर डिसिप्लिनरी वाटर रिसोर्सेस म्यानेजमेन्टमा स्नात्कोत्तर तह पूरा गरिन् ।
२०७३ सालमा स्नातक तह पूरा गरेपछि डिप्लोमा इन सिभिल इन्जिनियरका विद्यार्थीलाई अध्यापन गराउँदै उनले आफ्नो करिअरको सुरुवात गरेकी हुन् । ३० वर्षीया ढकाल विनाशकारी भूकम्पपश्चात् सिन्धुपाल्चोकको चौतारामा बसेर पुनर्निर्माणको काममा लागिन् । सिन्धुपाल्चोकको पुनर्निर्माणमा खटिन पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् उनी । सो पश्चात् उनी सरकारी सेवातर्फ प्रवेश गरिन् । उनी हाल २०७५ सालदेखि खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ भ्याली सप्लायर्स म्यानेजमेन्ट बोर्डमा सिभिल इन्जिनियरको रूपमा कार्यरत छिन् । उनै ई.ढकालसँग इन्जिनियर्सनेपालले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश
तपाईँको उम्मेदवारी केका लागि र मतदाताले तपाईँलाई नै मतदान किन गर्ने ?
जेन्डरको आधारमा कुरा गर्दा हामी महिलाहरू यसै पनि इन्जिनियरिङ पेसामा कम हुन्छौँ । प्लसटुदेखि नै महिलाको संख्या यस पेसामा कम नै हुन्छ ।
प्रतिशतकै हिसाब गर्दा हामी महिला इन्जिनियरहरू करिब १० प्रतिशत मात्र हुन्छौँ । जब हामी कुनै नेतृत्वमा जान खोज्छौँ लिडरसीप लिन खोज्छौँ त्यो दिइँदैन । पुरुषहरू नै अगाडि आउँछन् ।
सायद यो कम संख्या भएकाले पनि होला । यस कारण महिलाले पनि नेतृत्व लिएर काम गर्न सक्छन् भन्ने भनाइलाई स्थापित गर्नु छ । यस्तै नेइए जुन सम्पूर्ण इन्जिनियरहरूको छाता संगठन हो त्यसले इन्जिनियरको हकहितको सुनिश्चित गर्ने, उनीहरू अन्यायमा पर्दा लड्न सक्ने संस्था जसले अभिभावकको भूमिका खेल्नुपर्ने ।
बीचमा हामी कतै एजेन्डाबाट पछाडि पर्यौँ कि अथवा किन सबै इन्जिनियरहरूले नेइए मेरो संस्था हो यसले मेरो लागि गर्छ भन्न सक्ने गरी आभास दिलाउन सकेनौ कि जसले गर्दा इन्जिनियरहरूमा वितृष्णाहरू जागेको पाइएको छ । त्यसलाई चिर्नका लागि पनि हामीले नगरे कसले गर्छ । अहिले नगरे कहिले गर्ने भने अनुसार नेतृत्व लिनुपर्छ । आफू त्यो ठाउँमा भएपछि मात्र परिवर्तन गर्न सकिन्छ भन्ने आधारले नै मैले उम्मेदवारी दिएको हुँ ।
इन्जिनियरिङ क्षेत्रमा महिलाहरूको अवस्था कस्तो छ ?
तथ्यांकलाई हेर्दा हामी महिला समग्रमा १० प्रतिशत नै हुन्छौँ । मैले आफैँले धेरै जटिलताहरू महसुस गरेको त छैन । तर, महिलाको रूपमा बोल्दै गर्दा मसँग पनि गुनासाहरू आइरहेका हुन्छन् । कस्तो देखिन्छ भने हामी पहिलेदेखि पितृसत्तात्मक सोचबाट आइरहेका छौँ । एउटा महिला इन्जिनियरलाई सरकारी, निजी तथा अर्धसरकारी किन नहोस् त्यसमा नेतृत्व लिने अथवा कुनै जिम्मेवारी पद दिँदै गर्दा जहिले पनि प्रश्न चिह्न खडा भएको देख्छु । मैले आफैँले पनि यो महसुस गरेकी छु । किनभने महिलाहरूलाई यो जिम्मेवारी दिँदा सम्हाल्न सक्छन् ? भन्ने प्रश्न चिह्न हाम्रो समाजले हामीलाई जुन दिएको छ त्यसलाई चिर्नुपर्ने छ ।
अहिले महिलाले लिड गरिरहेका प्रायस् क्षेत्रमा राम्रो गरिरहेका छन् । महिलाले पनि गर्न सक्छन् भन्ने भाष्य स्थापित गर्नुपर्ने छ । यस्तै म सिभिल इन्जिनियर क्षेत्रको मान्छे हामीलाई कार्य क्षेत्रमा जानुपर्छ । तर, दुर्गम क्षेत्रमा फिल्डमा गइरहँदा महिनावारीका कारण हामी महिलाहरूलाई समस्या हुन्छ । साथै बसाइँका क्रममा पनि सुरक्षाका विषयहरूमा समेत चुनोती उत्पन्न हुन्छन् । यद्यपी महिलाहरू सक्षम छन् र दिएको जिम्मेवारी पूरा गर्न सक्छन् ।
नेइएमा नयाँ इन्जिनियरहरूको चासो घटिरहेको देखिन्छ । उनीहरूलाई आकर्षित गर्न तपाईँहरूको योजना के छ ?
नेइएमा हामीले गर्ने हो । अहिले नयाँ इन्जिनियर साथीहरूको नेइएप्रति वितृष्णा जुन छ त्यसलाई चिर्नुपर्ने छ । राम्री नेइए बनाउनुपर्ने छ । नेइएको महत्वलाई बढाउनुपर्ने छ । भोलिका दिनमा काउन्सिलमा दर्ता हुँदै गर्दा नेइए कहाँ छ मैले नेइएमा दर्ता हुनु पर्छ भन्नका लागि संस्थाको महत्व झल्किनुपर्छ ।
त्यो हामी गराउँछौँ र गराउनु पर्छ । हामी नेइएको नेतृत्वमा चयन भएपछि मात्र त्यो परिवर्त सम्भव हुन्छ । हामी नेइएदेखि भागेर अथवा नेइएमा दर्ता हुँदिनँ । यो प्रति वितृष्णा छ भनेर कदापी हामीले नेइए बनाउन सक्दैनौँ । नेइए कुनै व्यक्ति विशेषको होइन । नेइए हामी सबै हो ।
हामी सबैजना मियौँ भने नेइएलाई राम्रो बनाउन सक्छौँ । त्यसैले सबैजना आऊ यहाँका गल्तीहरूको पहिचान गरी समाधानतर्फ लागौँ । साथै के गर्न सकिन्छ भनेर विचारविमर्श गरौँ र निचोड निकालेर अघि बढ्न सकिन्छ ।
नेइएका कमीकमजोरीहरू धेरै छन् भनिन्छ । यसमा राजनीति हाबी भयो, नेइए बिग्रियो भन्ने पनि सुनिन्छ । तपाईँ पनि राजनीतिक दलबाट आउदै हुनुहुन्छ । यसमा तपाईँको के भन्नुहुन्छ ?
राजनीतिक प्रतिनिधि आएका कै कारण नेइए बिग्रिएको हो भन्नु गलत हो । हामी सबै मान्छे फरक फरक छौँ । हाम्रो सिद्धान्त विचार पनि फरक छन् । कुनै पार्टीमा आबद्ध भइरहँदा पनि नेइएको विषयमा हामी एउटा समूह बनाएर अगाडि बढेका छौँ । हामी पार्टीगत रूपमा देखिए पनि हामी इन्जिनियर हौँ । हाम्रो संस्था नेइए हो ।
तपाईँको घोषणा तथा एजेन्डा केके छन् ? निर्वाचित भएपछि के गर्नुहुन्छ ?
३४ औँ कार्यकारिणी समितिको निर्वाचनमा हामी होमिँदै गर्दा ३४ वटा बुँदा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छौँ । ती बुँदाहरू बनाउँदै गर्दा त्यति धेरै सपनाहरू राखेका छैनौँ । दुई वर्षको कार्यकाल हुन्छ । यस अवधिमा हामीले एकदमै ठूलो परिवर्तन गर्न सक्ने अवस्थामा पनि छैनौँ ।
हामीले सानोबाट सुरु गर्दै छौँ । एउटा इन्जिनियरिङ साइकललाई जब इन्जिनियर पासआउट भइसकेपछि रिटायर अवस्थासम्म नेइएले कस्तो भूमिका खेल्नुपर्छ जस्तै इन्जिनियरलाई कामकै दौरानमा समय सुहाउँदो तालिम तथा प्रशिक्षण दिने, रिटायर हुँदा आर्थिक रूपमा सक्षम बनाउन तथा स्वास्थ्यलाई मध्यनजर गर्दा बिमाहरूको व्यवस्था गरिदिने, रोजगारीको अवसरका लागि सरकारसँग समन्वय तथा सहकार्य गर्ने ।
यस्तै हामी इन्जिनियरहरूले आफ्नो कार्ड देखाएर सिंहदरबार जान पाउँदैनौँ । सिंहदरबार जानसक्ने एउटा कार्ड मात्र बनाए पनि नेइएको कामको वाहवाही नै हुन्छ । यी यस्तै कामहरूको थालनी गर्ने हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ ।
तपाईँहरूको चुनावी माहोल कस्तो छ ?
म चुनावी माहोलमा छु । म पश्चिमदेखि पूर्वको यात्रा सक्काएर अस्ती मात्र फर्केको छु । राजधानीलगायत सबै क्षेत्रका इन्जिनियरहरूले धेरै माया दिनुभएको छ । त्यसका लागि एकदमै आभारी छु । र, उत्साहित पनि छु । सबै इन्जिनियरहरू यही भदौ २८ गते हुने निर्वाचनमा आइदिनुहोला । मताधिकार गरिदिनुहोला । तपाईँले सोचेको जस्तै योग्य तथा सक्षम उम्मेदवार छान्नुहुनेछ र त्यसको लिष्टमा हामी पनि पर्ने छौँ भन्ने आशा छ ।