- 14 November 2024
- २०८१-०७-२९ (बिहिबार)
नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३४ औं कार्यकारिणी समितिको निर्वाचन आगामी भदौ २८ गते शुक्रबार हुँदै छ । यसै निर्वाचनमा इन्जिनियर समाज नेपालबाट महासचिव पदमा इन्जिनियर डा. अनिता प्रजापति उम्मेदवार छिन् ।
हाल पुलचोक क्याम्पसमा असिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत छिन् । उनले पुलचोक क्याम्पसबाटै स्नातक तहको मेकानिकल इन्जिनियरिङ, स्नात्कोत्तर र पीएचडी पूरा गरेकी छिन् । उनै प्रजापतिसँग इन्जिनियर्सनेपालले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:
तपाईंहरुको एजेन्डा र विषयहरु के कस्ता छन्, एशोसिएसनमा तपाईंको उम्मेदवारी किन ?
हामीले यस निर्वाचनका लागि हाम्रो घोषणा पत्र तथा प्रतिबद्धता सार्वजनिक गरिसकेका छौँ । यसमा हामीले तीन विधामा आफ्ना कुराहरू राखेका छौँ
पेशागत हकहित सम्बन्धमा, इन्जिनियरिङ शिक्षा सम्बन्धमा र राष्ट्रिय विषयहरूमा ।
इन्जिनियर एशोसिएसनको मुख्य काम पेसागत हकहितको पक्षमा काम गर्नु हो । इन्जिनियरहरूलाई जति पनि अन्याय पर्छ उनीहरूले सुनाउने ठाउँ भनेको नेइए नै हो । नेइए अन्यायमा परेका इन्जिनियरहरूको आवाज बन्नु पर्ने हो । भनिन्छ इन्जिनियरहरू बौद्धिक व्यक्तित्व हो ।
उनीहरूलाई बढुवा, सरुवा गर्ने बेलामा बौद्धिकतालाई पछि पारेर विचौलिया मार्फत हुने गर्छ । यो सरासर गलत भएकाले हामीले यो कुरालाई उठाएका छौँ । यस्तै भर्खर आएका इन्जिनियरहरू कहाँ जाने, के गर्ने भन्नेबारे अनभिज्ञ हुन्छन् त्यसैले उनीहरूको वृत्तिविकास हुने खालका तालिमहरू उपलब्ध गराउने । र, नेपालमै केही गर्न सकिन्छ भन्ने खालका कार्यक्रमहरू ल्याएर उनीहरूको दक्षतालाई बढाएर पनि काम गर्न सकिन्छ र यसलाई कसरी अगाडि बढाउने विषयमा हामीले पेसागत हकहितको विधामा यसबारे उल्लख गरेका छौँ । साथै विभिन्न कलेज तथा क्याम्पसहरूमा आआफ्नै तरिकाले शुल्क उठाएको जस्तो देखिन्छ । र, शिक्षकहरू फेरिरहँदा विद्यार्थीहरूलाई पढाइमा अलमल हुनसक्ने अवस्था छ । यस्ता विषयहरूमा नेइएले आवाज उठाउनुपर्ने हुन्छ ।
यस्तै राष्ट्रिय मुद्दामा ठूला ठूला आयोजनामा हुने हिनामीनाका कारण जनताले सेवा उपभोग गर्न पाएका छैनन् । यस्तै सरकारलाई आर्थिकभार समेत परेको छ । यी यस्ता विषयहरूमा हामीले कुरा राखेका छौँ ।
पछिल्लो समय नेइएमा विवादहरू धेरै नै सुनिएको छ । यसप्रति इन्जिनियरहरूको आकर्षण पनि घट्दै गएको छ । यस्तो अवस्थामा नेइएप्रति विश्वास जगाउन तपाईँहरूको योजना के छ ?
हो, नेइएमा काउन्सिलमा दर्ता भए जति इन्जिनियरहरू दर्ता भएका छैनन् । जति दर्ता भएका छन् ती सबै भोटिङ गर्न आउँछन् भन्ने पनि छैन । के कारणले यस्तो भयो वा कुन पक्षमा काम नगर्दा नेइएको साख गिर्यो भन्ने विषयमा खोज्न जरुरी छ ।
यस्ता विषयमा खोजविन गरेर मात्र नभई यसका कारक तत्व पत्ता लगाइ त्यसको देखिने गरी समाधान गर्न सकेमा नेइएप्रति स्वतस् विश्वास जाग्थ्यो होला । यस्ता कार्यहरू नेइएले गर्न सके सबै इन्जिनियरहरू काउन्सिल र नेइएमा दर्ता हुन्थे होला । यही विषयमा हामी अगाडि बढ्ने छौँ ।
इन्जिनियरहरूलाई समृद्धिको सम्भावक भनिन्छ । तर, पछिल्लो समय इन्जिनियरहरूको क्षमता र गुणस्तरीयतामा प्रश्न चिह्न खडा भइरहेको छ । यसलाई रोक्न नेइए कुन कुरामा चुक्यो जस्तो लाग्छ तपाईँलाई?
पक्कै पनि इन्जिनियर समुदाय बौद्धिक समुदाय हो । जसले नीति नियममा रहेर काम गर्छ उसमाथि गुणस्तरीयताको प्रश्न सायदै उठ्ला । तर, जसले नीतिमा रहेर काम गर्दैन उनले आफू भ्रष्ट हुन्छ र अरूलाई पनि दूषित पार्छ ।
त्यसैले नेइएले त्यस्ता भ्रष्ट मानसिकता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूको पर्दाफास गर्नुपर्छ । साथै कारबाहीको दायरामा ल्याएर उनीहरूको सदस्यता खारेज गर्नुपर्छ ।
यस्तै राम्रो काम गर्ने इन्जिनियरलाई पुरस्कृत गर्ने र प्रोत्साहन दिन सके नयाँ आउने इन्जिनियर भाइबहिनीहरूलाई स्वदेशमै बस्ने कारण मिल्थ्यो । यसबाट नेइएप्रति सकारात्मक सन्देश जान्थ्यो ।
नेइएमा राजनीतिकरण हुन्छ भन्ने भाष्य छ । राजनीतिक दलकका कारण नेइएमा निष्पक्षता छैन भन्ने आरोप पनि लागेको छ । तपाईँहरू पनि राजनीतिक दलबाटै आउनुभएको छ । यस्तो भाष्यलाई चिर्नका लागि तपाईँको योजना के छ ?
प्राय निर्वाचनका बेला विभिन्न प्यानलले आ आफ्ना प्रतिवद्धता अथवा एजेन्डाहरू तयार गर्छन् । पहिले पनि यही हुन्थ्यो र अहिले पनि यही नै हुने हो । तर, प्रतिबद्धता पत्रमा भने जसरी काम भएको हुँदैन र अरूले बाहिरबाट हेर्दा भन्ने एउटा र गर्ने अर्को जस्तै देखिएकोझ छ । तर, हामी सबै आफ्नो प्रतिबद्धतामा अडिग भएर कार्यान्वयनतर्फ लाग्नुपर्छ । सिद्धान्तमा रहेर काम गरेमा यस्ता आक्षेपहरूबाट टाँढै रहन सकिन्छ । साथै कसैको लहलहीमा नलागेर आफूले बनाएका योजनाहरू पूरा गर्नतर्फ ध्यान दिनु उपयुक्त हुन्छ र हामी यसै अनुरूप नै अगाडि बढ्ने छौँ ।
तपाईंहरु प्रचारप्रसारमा हिँडिरहनु भएको छ । मतदातासम्म पुग्दा तपाईंहरुप्रति उनीहरूको विचार कस्तो छ र चुनावी माहोल कस्तो पाउनुभएको छ ?
साथीहरू आआफ्नो क्षेत्रमा प्रचारप्रसारका लागि खटिनु भइसकेको छ । सबैले साथीहरूले प्रचारका कामहरू गरिरहनु भएको छ । प्रदेश तथा केन्द्रमा खटिनु भएको छ । उहाँहरूले आफ्नो प्रतिबद्धता पत्रमा भनेका कुराहरूलाई सबै मतदाताका बीच लैजानु भएको छ ।
प्राविधिक विषयका विद्यार्थीहरू अहिले विदेशिने क्रम बढ्को छ । यो क्रम रोक्नका लागि तपाईँ एउटा अध्यापक भएको हिसाबले नेइएले सरकारलाई कस्तो सुझाव दिनुपर्ला ?साथै सरकारले विद्यार्थीहरूको विदेशिने क्रम रोक्नका लागि कस्तो पहल गर्नुपर्ला ?
अहिले मुलुकबाहिर पढ्न जाने विद्यार्थीको संख्या धेरै छ । जसलाई सोधे पनि विदेशमै गएर पढ्ने भन्छन् । उनीहरूको रोजाइमा देश नभएर विदेश नै किन परिरहेको छ भन्ने बारे खोजिनु आवश्यक छ । यस्तै नेपालमा बेथिति बढेका कारण नै विद्यार्थीहरू विदेश जाने गरेका छन् । उनीहरूलाई स्वदेशमै राख्नका लागि उनीहरूलाई यही बस्न मनलाग्ने वातावरणको सृजना गर्नुपर्ने हुन्छ ।
नेइएले पनि उनीहरूलाई शिक्षापछिको रोजगारका लागि सुनिश्चित हुने वातावरण बनाइदिनुपर्छ । साथै शिक्षालाई उत्पादनसँग कसरी जोड्ने त्यतातिर पनि राज्यले पहल गर्न जरुरी छ । यस्तै इन्टर्नसीप गरिरहेका विद्यार्थीलाई त्यसपछि रोजगारीको अवसर पनि दिनुपर्छ यसका लागि नेइएले राज्यसँग मिलेर ठोस कदम चाल्नुपर्ने हुन्छ ।
विदेशिएका विद्यार्थीलाई स्वदेशमै फर्कने वाटो खुला गरिदिनुपर्छ । उनीहरू यहाँ आएपछि पनि बेरोजगारीको सामना गर्नु परोस् । यसका लागि पक्कै पनि देशको राजनीति राम्रो हुनुपर्छ । यसैले नेइए र सरकार मिलेर यसबारे गम्भीर भएर लाग्नुपर्छ ।
तपाईँहरू चुनावी माहोलमा हुनुहुन्छ । आममतदाताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ ?
हाम्रा कुराहरू हामीले आफ्नो एजेन्डामार्फत राखिसकेका छौँ । त्यसबाहेक के भन्न चाहन्छु भने इन्जिनियहरू बौद्धिक व्यक्तित्व हुन् । उनीहरूले आफ्नै देशमा आफूले सिकेका जानेका सीप प्रयोग गर्न सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्न सक्थ्यो । देशमै खर्च गर्ने बानीको विकास हामी आफैँले गर्नुपर्छ ।
यसको लागि नेइए मात्रैले लागेर पनि हुँदैन ।
सम्पूर्ण इन्जिनियरहरू यस विषयमा गम्भीर हौँ । यस्तै आममतदातालाई घोषणा पत्रमा रहेका प्रतिबद्धताहरू पढेर एउटा सक्षम व्यक्तिलाई भोत दिन आग्रह गर्छु । साथै इन्जिनियर समाज नेपालका सबै पदाधिकारीलाई मत दिएर विजय गराउन पनि विनम्र अनुरोध गर्दछु ।