- 21 December 2024
- २०८१-०९-०६ (शनिबार)
इन्जिनियर डा. शंकर ढकाल स्वतन्त्र विचारक हुन् । उनी सुरुवाती दिनदेखि नै दलीय र राजनीतिकरणको विपक्षमा रहँदै आएका छन् । उनले केही समय अघि नेपाल इन्जिनियर्स एसोसिएसनको आगामी निर्वाचनलाई पूर्णरूपमा बहिष्कार गर्ने घोषणा गरेका थिए । उनले उक्त घोषणा गर्दैगर्दा आफूलाई पनि उम्मेदवार (नेता) बनाई निर्वाचन लड्न लडाउन वा भोट माग्न कसैले आग्रह नगर्न हुन अनुरोध समेत गरेका थिए ।
उनले भनेका थिए, 'जबसम्म पैसा तिर्दिएर सदस्य बन्ने बनाउने वा नवीकरण गर्ने गराउने, अनि सफेत झूट र ढाकछोपको खेती गर्दै तै चुप मै चुप गरी (निर्वाचन समिति समेत विवेक, अनुभव वा उत्कृष्टताभन्दा प्रष्ट दलीय भागबन्डामा चल्ने गरेको र तदनुसार नै निर्णय हुने गरेको) बलियोसँग झाँगिएको दलीयकरणका उपज जन्मिएका विभिन्न नामधारी प्यानल छोडेर एक्लाएक्लै पेसागत उत्कृष्टताका आधारमा चुनाव लड्ने र लडाउने संस्कृति यस संस्थाभित्र विकास गरिन्न, यो संस्थाले हामी पेसागत इन्जिनियरको शिर उचो राख्ने हैन झन् निहुराउने काम गरिरहेको मेरो प्रष्ट ठम्याइ रहेको छ ।' प्रस्तुत छ उनै ढकालसँग इन्जिनियर्सनेपालले गरेको कुराकानीको संक्षिप्त अंश:
नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव र नेपालमा इन्जिनियर समुदायमा भइरहेको प्रतिनिधित्व कस्तो छ ?
मुलुकमा पहिले विभिन्न विद्यार्थी संगठनहरू थिए । तर, तिनीहरूलाई च्यालेन्ज गर्न हामीले स्वतन्त्र सिभिल इन्जिनियरिङ विद्यार्थी समाज ९सेस० गठन गर्यौँ । यसले अहिले नेपालभरि ऐतिहासिक काम गरिरहेको छ । सबै कलेजहरूमा यसको संगठन छ । अहिले सम्झिँदा गर्व लाग्छ । सानो विद्यार्थी स्वतन्त्र संगठनले काम गरेको देखेर त्यो बेलाका राजनीतिक संगठहरूले हाम्रा गतिविधिहरूका नक्कल गर्थे ।
स्ववियूभन्दा सेस ने शक्तिशाली थियो । त्यसमा धेरै विद्यार्थीहरूको चासो, लगाव र आकर्षण थियो । एउटा सानो स्वतन्त्र विद्यार्थी संगठनले ठूला राजनीतिक विद्यार्थी संगठनलाई चुनौती दिन सक्छ भने प्राज्ञिक जमातमा गइसकेपछि यहाँ भएका विसंगतीहरूलाई चिर्न सक्दैन भन्ने मलाई लाग्दैन । त्यसैले नेपाल इन्जिनियर एसोसिएसनलाई सबै नेपाली इन्जिनिएरहरूको छाता संगठन भएका कारण पनि यसमा केही रुपान्तरण गर्न सकिन्छ भनेर कोसिस गरियो ।
विगतका दिनहरूमा नेपाल इन्जिनियर एसोसिएसनभित्र गएर हुन्छ वा बाहिरबाट होस् रुपान्तरणका मुद्दाहरू पस्किएर मात्र हुँदैन भनेर म आफू चुनावी माहोलमा होमिएँ । र, केही जनमत पनि प्राप्त गरेँ । त्यो जनमत आफैंमा नराम्रो थिएन असाध्यै राम्रो थियो ।
किनभने करिब हजार जना जस्ता अहिले भएका पार्टीका कार्यकर्ता नेइएमा सदस्य बन्छन् । कि त धेरै चासो नभएका साथीहरूलाई जो नेता बन्छ उसले पैसा नतिरेर सदस्यता बनाउने खालका प्रचलन छ । त्यतिका बावजुद पनि तिनै साथीहरूका मन जितेर मत ल्याउनु र यस बाहेकका केही स्वतन्त्र विचारक तथा बुद्धिविवेकको प्रयोग गर्ने साथीहरूको मत ल्याउनु आफैँमा ऐतिहासिक उपलब्धि हो भन्ने मलाई लाग्छ ।
यो अनुभवले नेइएको अहिलेको प्रचलन जस्तै पैसा तिरेर सदस्यता बनाइदिने, राजनीतिक दलका मान्छेहरू मात्र सदस्य बनाउने, स्वतन्त्र विचारका मान्छेहरूको स्मृतिको विकर्षण बढ्दै जाने अनि नेपाल इन्जिनियर्स काउन्सिलमा रहेका ७७ हजारभन्दा बढी आर्किटेक्ट छन् उनीहरूलाई नेइएको चुनावमा संलग्न नगराउने लगायतका कामले यसप्रति झनै ठूलो विकर्षण ल्याउँछ जस्तो लाग्छ । त्यसैले यो नेइए यत्तिकै सुधार हुनेवाला छैन ।
अहिले स्वच्छ छविका मान्छे, उत्कृष्टतामा आधारित मान्छे अथवा बुद्ध, शिव, कृष्ण नै ल्याइदिनु भयो भने पनि उसले नेइएको चुनाव जित्दैन । यदी कसैले यसमा मलाई प्रमाणित गर्छ भने मलाई चुनौती दिन्छ भने म खुसी हुन्छु । भनेपछि यो संस्थाको औचित्य के हो रु जहाँ स्वतन्त्र व्यक्तिहरूको आवाज गुन्जन सक्दैन ।
जहाँ दलीयकरणको हदसम्म सीमा नाघेको छ । जहाँ उत्कृष्टता काम लाग्दैन । पुरस्कार वितरणहरूमा समेत दलीय भागबन्डाका हिसाबले पुरस्कार दिइन्छ भने यो हाम्रो संस्था होइन । यसले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन भनेर म अहिले यो संस्थाबाट टाढा बसेको अवस्था छ ।
अहिले चुनावी माहोल छ । धेरै साथीहरू मसँग भोट माग्न पनि आउनु भएको छ । मैले उहाँहरूलाई प्रष्ट रूपमा भनेको छु । मैले आठ-नौ महिनाअघि नै नेइएको आगामी चुनाव बहिष्कार गर्छु भनेर घोषणा गरिसकेको छु ।
यसैले नेपाल इन्जिनियर्स एसोसिएसन मेरो संस्था होइन, मेरो लागि मरेतुल्य छ । तर, यसो भन्दै गर्दा देशमा इन्जिनियर आर्किटेक्टहरूको इन्स्टिच्युसन हुनु पर्यो जस्तो अष्ट्रेलिया, श्रीलंका, भारत, इन्डोनेशिया, यूके, अमेरिका, जापानमा यस्ता इन्स्टिच्युसन छन् ।
तसर्थ एउटा इन्जिनियरिङ इन्स्टिच्युसन चाहिन्छ र त्यो नेपालका लागि नेइए नै हो । तर, पनि नेइएलाई सुधार्न म लाग्नु परेन किनभने मैले यसको औचित्य नै देखेको छैन । तर, नेपाल इन्जिनियरिङ काउन्सिल जसले हाम्रो लाइसेन्सको व्यवस्थापन गर्छ यसलाई हामीले सुधार्नुपर्छ ।
मेरो सास रहुन्जेल काउन्सिलमा कुनै आपत वा विसंगती आएमा म लड्छु । त्यसैले मेरो नेपाल इन्जिनियरिङ काउन्सिल सुधारका केही मुद्दाहरू छन् । जसलाई म बिस्तारै अभियानका रूपमा अगाडि लैजान चाहन्छु ।
तपाईँको विचारमा नेपाल इन्जिनियरिङ काउन्सिललाई सुधार्न के गर्नुपर्छ ?
नेपाल इन्जिनियरिङ काउन्सिलमा दुई वटा सुधारको आवश्यकता छ । पहिलो यसको बोर्ड मेम्बरहरू राजनीतिक रूपमा भागबन्डामा आउँछन् । जो सरकारमा आए पनि यहाँ भागबन्डा भइहाल्छ ।
यसअर्थ यसमा रजिष्टार अध्यक्ष राजनीतिक नियुक्ति हुनेमा आफैँ समस्या छ । बरू यसमा खुला प्रतिश्पर्धा र उत्कृष्टताको आधारमा नियुक्ति गर्नुपर्ला । देशका उत्कृष्ट इन्जिनियर आर्किटेक्टका अगुवा बनेर निम्छरा कार्यकर्ता र भागबन्डामा आइरहेका छन् । यसलाई बन्द गर्नैपर्छ । मलाई लाग्छ हामीले अभियान चलाइसकेपछि यो सुधार हुन्छ ।
दोस्रो नेपाल इन्जिनियर्स एसोसिएसनबाट चुनावमा जितेर काउन्सिलमा बोर्ड मेम्बर हुनका लागि पाँच जना छानिन्छन् । यो एकदमै हास्यास्पद व्यवस्था हो । नेइए एउटा राजनीतिक अंग हो, मन लागेकाले मात्र त्यसको सदस्यता लिन्छन् । म जस्ता दशौँ हजार आर्किटेक्ट इन्जिनियरहरू यसको सदस्य बनेका छैनन् ।
नेइएमा फोहोरी राजनीति हुन्छ त्यसैले काउन्सिलको बोर्ड मेम्बर नेइएबाट आउनु हुँदैन । यो एकदमै गल हो । यसलाई बन्द गर्नुपर्छ । यस्तै काउन्सिलको बोर्डमा आउन चाहनेहरू सबै काउन्सिलमा दर्ता भएका लाइसेन्स प्राप्त इन्जिनियर आर्किटेक्टहरूले भोट गर्न पाउनुपर्छ अनि मात्र यथार्थ प्रतिनिधित्व हुन्छ जस्तो लाग्छ ।
इन्जिनियरिङ संस्थानका लेक्चरर तथा प्रोफेशरहरू राजनीतिक दल समातेर लड्नुलाई तपाईँ स्वतन्त्र पक्षधरको हिसाबले कसरी हेर्नुहुन्छ र यसले कहाँ क्षति गरिरहेको छ ?
प्राध्यापकहरू दलका कार्यकर्ता, दलका छोराछोरी छन् । कतिपय प्राध्यापकहरू जसले उत्कृटताका आधारमा आफ्नो पहिचान बनाएका थिए ति पनि पार्टीका झोला बोकेर हिँड्न थाले । त्यसैले पनि मैले भनेको मेरो लागि कुनै पनि दलमा संलग्न नभएर यो देशमा राम्रो गर्ने दृष्टान्त सृजना गर्ने मेरो लागि चुनौती हो र म यसमा भिड्न चाहन्छु ।
किनभने आशा गरिएका अनुहार पनि दलीयकरण भएर क्षयीकरण गर्ने अवस्था छ । इन्जिनियरिङ विश्वविद्यालय तथा क्याम्पसहरूमा पढाउने प्राध्यापकहरू एउटा एउटा दल समाएर हिँडेका छन् । किनभने उहाँहरूको बाध्यता पनि होला या त एउटा डिपार्मेन्टको एचओडी हुनलाई पनि राजनीतिक दलको फेरो समाउनु पर्छ ।
उत्कृष्टताको आधारमा प्रोफेशर हुनुभाको भए पनि दलीय भागबन्डाका आधारमा डीन, एचओडी हुने भएकाले यतातिर लाग्नु भएको होला । ति साथीहरू मसँग पनि भोट माग्न आउनुभएको थियो मैले त्यसलाई इन्टरटेन नै गर्न चाहिनँ । एउटा पार्टीको चश्मा लगाइसकेपछि आफ्नो स्वार्थका लागि हिँडेपछि उहाँहरूले विद्यार्थीलाई दिने शिक्षा र गरिने मूल्यांकनलाई कसरी निश्पक्ष मान्न सकिन्छ ।
तपाईँको आँखाबाट देख्दा अहिले इन्जिनियरहरूको समस्या के छन् ? नेइए जस्ता पेसागत संस्था कहाँ चुके ?
नेपाल इन्जिनियरिङ काउन्सिलले लाइसेन्सको प्रक्रिया सुरु गरेको छ । यसको जाँच विभिन्न कलेज, विश्वविद्यालयको आधारमा विद्यार्थीहरूको पहिचान हुन्छ । जाँच हुन्छ । त्यसैले नेपाल इन्जिनियरिङ काउन्सिलको ठूला भूमिका भनेको तिनै कलेज तथा विश्वविद्यालयको गुणस्तरको नियामक गर्ने निकाय पनि नेपाल इन्जिनियरिङ काउन्सिल हो ।
तर, काउन्सिल एउटा एउटा दलको भागबन्डा भएको छ । तिनै दलका कलेज छन् अनि कसरी निश्पक्ष रूपमा नियामक हुन्छ । कहीँ नभएको जात्रा हाडीगाउँमा भनेजस्तो भएको छ नेपाल इन्जिनियरिङ काउन्सिलमा । त्यसैले यसमा धेरै सुधारको आवश्यकता छ । कलेज तथा विश्वविद्यालयको नियामक र गुणस्तरको मापन हुनुपर्छ । पढाएकै विषयवस्तुको परीक्षा लिँदा धेरै संख्यामा विद्यार्थीहरू फेल हुनु राम्रो होइन । यसका कारक तत्वहरूबारे स्पष्ट रूपमा बाहिर ल्याउन जरुरी छ ।
नेपाल इन्जिनियरिङ काउन्सिल हामी सबै स्वतन्त्र आर्किटेक्टहरूको पनि हो । यसलाई बिगार्ने अधिकार उहाँहरूलाई कसले दियो । नेपाल इन्जिनियरिङ काउन्सिल बिग्रियो भने हाम्रो पनि भविष्य बिग्रन्छ । काउन्सिलले आफूले गर्नुपर्ने कामबाट चुकेको छ । यसले इन्जिनियरिङ कलेजहरूको गुणस्तरबारे कठोरमा नियामक गरेर अगाडि बढ्नु पर्थ्यो ।
कमजोरी बाहिर ल्याइदिएको भए सुधारको बाटोतिर उहाँहरू लाग्नुहुन्थ्यो होला । र, लाइसेन्सको नतिजा राम्रो आउथ्यो होला । अर्को भनेको हाम्रा पेसागत संस्थाहरूले हाम्रा सदस्यहरूको पेसागत उन्नयनका लागि के गरे त र? खोई स्टाफ कलेज र? विगत १० वर्षदेखि भन्दै आएको यो कहाँ गयो र? अहिलेको चुनावको घोषणापत्रमा पनि होला यो । घोषणापत्रमा उल्लेख भएका कुराहरू कहाँ गए रु हामी नेपालका आर्किटेक्टहरू निम्छरा कार्यकर्ताका कारण विश्वबजारमा सामान्यीकरण भएका छौँ । विश्वबजारमा हाम्रो भ्यालू घट्दै गएको छ ।
इन्जिनियरहरूलाई समृद्धिको सम्वाहक भनिन्छ । तर, कार्यक्षेत्रमा जाँदा विभिन्न त्रुटीहरू पनि भएको देखिन्छ । तपाईँको विचारमा यस्तो के कारणले हुन्छ होला ?
पहिलो भनेको लापरबाही नै हो । किनभने उहाँहरूले एउटा एउटा दल समाउनु भएको छ । कार्यक्षेत्रमा कुनै त्रुटी भए सांसद, मन्त्रीहरूले ढाकछोप गर्दिहाल्नुहुन्छ । त्यसैले गल्ती भनेको दलीयकरण हो । यो नै प्रमुख समस्या हो । दोस्रो समस्या भनेको उहाँहरूले गल्ती गर्नुहुन्छ किनभने जान्नुहुन्न, आउँदैन र सीप पनि छैन ।
उहाँहरू दलीयकरणबाट आएकाले उहाँहरू उत्कृष्ट पनि हुनुहुन्न । र, उपयुक्त तरिकाले तालिम पनि दिइएको छैन । उहाँहरूले पार्टीको रङ पनि लाउनुभाछ पार्टीलाई प्रभाव पनि पार्न सक्नुभाछैन । त्यसैले उहाँहरू सांसद तथा मन्त्रीहरूबाट हेपिनुभाछ । यस्तै मूल्यांकन पनि हुन सक्नु अर्को कारण हो । यस्तै काम गर्दै जाँदा गल्ती पनि हुन्छन् । यसलाई काउन्सिलले कारबाही गरी सुधारका कामहरू गर्दै जानुपर्छ ।
इन्जिनियरिङ समाजलाई मर्यादित र उदाहरणीय बनाउन के गर्नुपर्ला ? तपाईँ के सुझाव दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिला सुधार कसरी गर्ने भन्ने कुरा आउँछ । दलीयकरण, राजनीतिकरण गर्नु भएन । राजनीतिमा लाग्ने कि इन्जिनियर पेसामा रहने । यो पेसालाई मर्यादित बनाउन दलीयकरण, राजनीतिकरण नगरी सामूहिक रूपमा आउने र प्यानल सिस्टमलाई हटाउनुपर्छ ।
साथै नराम्रो गर्नेलाई कारबाही गर्ने र राम्रो गर्नेलाई पुरस्कृत तथा प्रोत्साहित गर्ने व्यवस्था हुनुपर्छ । भिजन, उत्कृष्टता, ज्ञान, सीप नभएका निम्छरा कार्यकर्तालाई वर्जित गर्नुपर्छ । यस्तै हाम्रा नेताहरूमा सीप, दक्षता नै छैन । यी सबैको नियामक गर्नुपर्छ । दक्ष र सीप भएका इन्जिनियरहरूलाई दिने तलबमा वृद्धि गर्नुपर्छ । नियामक निकाय सँगसँगै सबैजना इमान्दार पनि हुनुपर्छ आफ्नो काम, बोली र व्यवहारमा ।