नेइए निर्वाचन विवाद : उच्च अदालत पाटनले दुवै पक्षलाई बोलायो


Posted: Sept. 4, 2024
  Engineers Nepal

नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को आसन्न निर्वाचन विवादमा उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

मंगलबार उच्च अदालतले भदौ २४ गते दुवै पक्षसँग छलफल गर्नका लागि आदेश जारी गरेको हो । निवेदक इन्जिनियर अन्तिम प्रसिद्ध धितालले उच्च अदालत पाटनमा दिएको निवेदनमा न्यायाधीश लालबहादुर कुँवरले आदेश सुनाएका हुन् ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू ध्रुवलाल श्रेष्ठ र स्वागत नेपाल, किर्तिनाथ शर्मा, राधिका चाम्लागाई र विकास भट्टराईले बहस गरेका थिए ।

आदेशमा भनिएको छ, 'यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ को हकमा उच्च सरकारी वकील कार्यालय पाटन मार्फत र अन्य विपक्षीहरूको हकमा आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू ।

निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नू भनि आदेश दिइएको छ ।'

यसअघि आसन्न २८ गते गर्न लागिएको निर्वाचन अवैध तवरले गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो । ई. अन्तिम प्रसिद्ध धितालसहित दुई जना र ई. मनिष सडौलाले दिएको छुट्टाछुट्टै उजुरीमा नेइए निर्वाचन समितिले पार्टीका भ्रातृ संगठनलाई वैधानिकता दिँदै तिनका भ्रातृ संगठनको नाममा रकम बुझेर संस्थालाई राजनीतिकरण गरेको उल्लेख छ ।

नेइएले विधानको मर्मविपरीत कार्य गरेको र यसरी गैरराजनैतिक संस्थामा राजनीतिकरण गरिएको प्रति आफूहरूलाई चित्त नबुझेर प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा गएको तर, त्यहाँ कुनै सुनुवाइ नभएपछि आफूहरूको मतदानको अधिकार दुरुपयोग नहोस् भनेर अदालत गएको ई. धितालले जानकारी दिए ।

त्यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल इन्जिनियर्स एसोसियसनलाई भदौ ५ गते विवरण उपलब्ध गराउने भन्दै पत्र पठाएको थियो ।

उजुरीमा भनिए बमोजिम संस्थाको निर्वाचन स्वीकृति विधान तथा कार्यविधिको परिधिभित्र रही हुन लागेको हो/होइन ? सोको पुष्टि हुने आवश्यक कागजातसहित ३ दिनभित्र उपस्थित भई पेस गर्न आदेश दिएको थियो ।

 






Leave a comment




Comments