नेइए प्रतिको असन्तुष्टी सम्बोधन गर्न हाम्रो उम्मेदवारी: अध्यक्ष पदका उम्मेदवार ई.कलवार(अन्तर्वार्ता)


Posted: Sept. 2, 2024
  Engineers Nepal

नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ ‍औं कार्यकारिणी समितिको अध्यक्ष पदका उम्मेदवार हुन् ई. रामेश्वरप्रसाद कलवार । पहिलो पटक इन्जिनियर्स जनमत यूनियनका तर्फबाट एशोसिएसनमा उम्मेदवारी दिएका कलवारले २०४० सालमा पन्जाब इन्जिनियरिङ कलेज चण्डिगढबाट बीइ इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् । 

उनले २००२ मा पोखरा विश्वविद्यालयबाट नेचुरल रिसोर्समा एमएसी र २०६४ मा एलएलबी गरेका छन् । विद्युत् प्राधिकरणमा ३३ वर्ष जागिर गरेर २०७३ फागुनमा निर्देशक पदबाट अवकाश पाएका कलवार २०७६ को वैशाखमा नेपाल सरकारबाट विद्युत् नियमन आयोगको सदस्यको रूपमा नियुक्ति भए । 

उनले विद्युत् नियमन आयोगको सदस्यको रूपमा चार वर्ष काम गरेको अनुभव संगालेका छन् । यस्तै इन्जिनियर क्षेत्रमा पनि ४० वर्ष काम गरेको अनुभव उनीसँग छ । 
आफूले अनुभव गरेको उक्त कामको सदुपयोग गरेर इन्जिनियर पेशालाई मर्यादित बनाउने र इन्जिनियरहरूको हकहितमा काम गर्ने सोचले यहाँसम्म आएको उनले सुनाए । प्रस्तुत छ ई. कलवारसँग इन्जिनियर्सनेपालले गरेको कुराकानीको संक्षिप्त अंश:

नयाँ समूहको रूपमा पहिलो पटक एशोसिएसनको निर्वाचनमा तपाईँहरू आउनुभएको छ, तपाईंहरुको नयाँ एजेन्डा के छन् ?

सर्वप्रथम नेपाल परिवर्तनको अवस्थामा छ । नेतृत्वबाट त्यो परिवर्तनको आवश्यकता पनि छ । हामी त्यही आवश्यकताको पूर्तिका लागि आएका हौँ । नेपाल इन्जिनियरिङ काउन्सिलमा लगभग ८५ हजार इन्जिनियरहरू दर्ता भएका छन् । त्यसमध्ये नेपाल इन्जिनियर्स एसोसिएसनमा करिब ४२ हजार इन्जिनियरहरू मात्र सदस्य बनेका छन् । 

विकासमा इन्जिनियरहरूको योगदान सबैले महसुस गरेका छन् । तर, उनीहरूको काम र योगदानबारे सबै अनभिज्ञ जस्तै छन् । हरेक क्षेत्रमा इन्जिनियरहरूको आबद्धता रहे पनि उनीहरूले आफ्नो कामअनुसारको प्रशंसा तथा प्रोत्साहन पाउन सकेका छैनन् ।

अहिलेको निर्वाचनमा करिब १८ हजार ६ सय मात्र मतदाता छन् । यसबाट के देखिन्छ भने नेइएसँग इन्जिनियरहरूको रुष्टता । अहिलेको परिस्थितिमा इन्जिनियर्स एशोसिएसनसँग यो रुष्टता किन भन्ने कुरा गहन छ । त्यस कारण इन्जिनियरहरूको रुष्टतालाई सम्बोधन गर्न हामीले नयाँ तरिकाले टिम बनाएर उम्मेदवारी दिएका छौँ । 

नेइएलाई सबै इन्जिनियरहरूको सहभागितामूलक संस्था बनाउन के योजना ल्याउनु भएको छ ?

इन्जिनियर एशोसिएसन जस्तै प्रोफेसनल एशोसिएसनहरू छन् जस्तै बार एशोसिएसन, मेडिकल एशोसिएसन । यी एएशोसिएसनहरुले आफ्नो हकहितमा काम गर्दा तत्पर भएर काम गरेको छ । र, उपलब्धि पनि देखिएको छ । सर्वप्रथम हामीले यो इन्जिनियर्स एशोसिएसनलाई उसको अधिकार क्षेत्र प्रयोग गर्न दिने वातावरण बनाउनुपर्छ । 

यसका लागि अध्ययन गरेर नेइए जुन उद्देश्यसहित दर्ता भएको हो त्यसको ‍औचित्य पुष्टि गर्न हामी कानुनी रूपमा पहल गर्छौँ । र, नेइएको अधिकार पुष्टि भएमा यसमा आबद्ध सबैको अधिकार सुनिश्चित हुन्छ । 

यस्तै नेपालमा युवा इन्जिनियरहरूलाई दिइने शिक्षाले बजारको आवश्यकता पूर्ति गर्न सक्छ कि सक्दैन भनेर अध्ययन गरी पाठ्यक्रममा केही फेरबदल गर्नुपर्ने छ । 

नयाँ इन्जिनियरहरूलाई तालिम तथा इन्टर्नसीपको व्यवस्था गर्ने साथै कार्यरत इन्जिनियरहरूलाई जब ट्रेनिङहरूको व्यवस्था गर्ने सोच हामीले राखेका छौँ । यस्तै नेपाल सरकारले न्यूनतम ज्यालादरको मापदण्ड बनाएको छ । तर, एउटा इन्जिनियर आउँदा उसले पाउनु पर्ने मासिक तलब निश्चित हुनु पर्यो । तर, यो कुरा कहीकतै पनि उल्लेख छैन । 

इन्जिनियर देशको विकासको मेरुदण्ड हुन् । तर, उनीहरूलाई कम तलब दिएर काम गराउने, सेवासुविधामा कटौती गर्ने, समयावधि नपुग्दै जागिरबाट हटाउने जस्ता अमानवीय व्यवहारहरू अहिले हाबी छन् । यिनै कमीकमजोरीलाई हटाएर कर्पोरेट कल्चरको विकास गर्न आवश्यक छ । र, हामी निर्वाचित भएर आएको  खण्डमा इन्जिनियरहरूको समग्र विकासका लागि काम गर्ने र्छौँ । उनीहरूको बिमा, वृद्धिविकास र गुनासा सुन्ने व्यवस्थाको पहल गर्छौ।

तपाईंको ४० वर्षे अनुभवमा नेइएको विगत र वर्तमानलाई कसरी हेर्नु भएको छ ?

विकासमा इन्जिनियरहरूको योगदान सबैले महसुस गरेका छन् । तर, उनीहरूको काम र योगदानबारे सबै अनभिज्ञ जस्तै छन् । हरेक क्षेत्रमा इन्जिनियरहरूको आबद्धता रहे पनि उनीहरूले आफ्नो कामअनुसारको प्रशंसा तथा प्रोत्साहन पाउन सकेका छैनन् । जस्तै एउटा इन्जिनियरले कुनै योजनाको इस्टिमेट गर्दा पनि अख्तियारमा मुद्दा पर्ने अवस्था छ । 

यसलाई निर्मुल गर्न सम्बन्धित तथा सरोकारवाला निकायलाई यसबारे जानकारी गराउने र नीतिगत परिवर्तनको पहल गर्ने तथा सबै मानिसलाई यस क्षेत्रप्रति अपडेट गराउन आवश्यक छ । राजनीतिक सहयोगबिना काम गर्न असहज नै हुन्छ तर त्यो पनि सीमित रूपमा गर्नुपर्ने हुन्छ । तर, इन्जिनियरहरूप्रतिको व्यवहारका कारण अहिले नेइएप्रति वितृष्णा बढेको महसुस भएको छ ।

पहिले यही चुनावमा २४ हजार मतदाता थिए अहले १८ हजारमा झरेको छ । यसले पनि देखाउँछ नेइएसँग धेरै इन्जिनियरहरू खुसी छैनन् भनेर । साथै इन्जिनियर समुदायले पनि विगतमा निर्वाचित भएकाहरूलाई घोषणापत्रमा उल्लेख गरेका काम गरेको खै भन्दै प्रश्न गर्नुपर्ने हो तर त्यस्तो देखिँदैन ।

तपाईंहरुको चुनावी अभियान र माहोल कस्तो छ ?

माहोल धेरै सकारात्मक छ । हामीले चुनावमा परिवर्तनलाई अंगाल्ने छौँ र परिवर्तन चाहने इन्जिनियरहरूले हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु । 

सबै इन्जिनियरहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?

सर्वप्रथम सबै इन्जिनियरहरूलाई म अभिवादन गर्छु र म के भन्छु भने इन्जिनियरहरूले आजसम्म ३३ वटा कार्यकाल हेरिसक्नु भएको छ । कतिपय कुराहरूको सम्बोधन भएका छैनन् होला तपाईँहरूले चाहेको परिवर्तन भएनन् होला तसर्थ तपाईँले हामीलाई साथ दिनुभएमा हामी तपाईँको समस्याहरूको सम्बोधन गर्न इमान्दारीका साथ प्रयत्न गर्नेछौँ ।

हाम्रो घोषणापत्र पनि हेर्नुहोस् र हामीलाई घोषणापत्र र एजेण्डाका आधारमा मत पनि दिनुहोस् । हामीले घोषणापत्रमा राखेका सबै एजेन्डाहरू पूरा गर्ने अवसर हामीलाई दिनुहोस् । म अहिले रिटायर्ड जीवन बिताइरहेको छु जसले गर्दा म एशोसिएसनलाई पूरा समय दिन सक्छु भन्दै हामीलाई मतदान गरी निर्वाचित गराउन समग्र इन्जिनियरिङ समुदायलाई बिनम्र अनुरोध गर्दछु ।






Leave a comment




Comments