19 April 2025
२०८२-०१-०६ (शनिबार)
नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औँ निर्वाचन यही भदौ २८ गते काठमाडौँमा हुँदै छ । यसै निर्वाचनका उम्मेदवार हुन् इन्जिनियर हीरामान वाईबा । उनले तेस्रो बागमती प्रदेश कार्यकारिणी समितिको सभापतिमा उम्मेदवार दिएका छन् ।
विगत १५ देखि इन्जिनियरिङ क्षेत्रमा आफूले हासिल गरेका ज्ञानको सदुपयोग गरिरहेका छन् वाईबा । इन्जिनियरिङ सोसाइटीमार्फत फरक विधामा पनि केही गर्नुपर्छ भन्ने हेतुले उनी यस नेपाल इन्जिनियर्सको ३४ औँ बागमती प्रदेशको सभापतिमा उम्मेदवार भएको बताउँछन् उनी ।
पुलचोक क्याम्पसबाटै सिभिल इन्जिनियरिङमा ओभरसियर र स्नातक गरेका उनले मास्टर्स इनर्जी इनभाइरोमेन्टल मेयानेजमेन्टमा जर्मनीबाट गरे । उनले ओभरसियरको हिसाबले विभिन्न एनजिओ, आइएनजिओ र पूर्वाधार विकासका कामहरू ओभरसियर भएर गरेको अनुभव सुनाए । उनले चार वर्षको अनुभवलाई अगाडि बढाउँदै बीई सकिएपछि खानेपानी र सरसफाइ सम्बन्धी हुम्ला, डोटी, डडेलधुरालगायतका जिल्लाहरूमा काम गर्दै आफ्नो करिअरलाई हाइड्रोपावर सेक्टरमा सदुपयोग गरे ।
यस्तै बरुण हाइड्रोपावर, चन्द्रावती हाइड्रोपावर, गर्ज्याङ उपत्यका हाइड्रोपावर, सूर्यखोला हाइड्रोपावरमा काम गरेको अनुभव उनीसँग छ ।
नेपाल सरकारको सेयर भएको कम्पनी विद्युत् उत्पादन कम्पनी लिमिटेडमा यसको सुरुवाती चरणदेखि नै फुकोट कर्णाली आयोजनामा आयोजना प्रमुख भएर काम गर्दै आएको उनले बताए । हाल उनी किमाथांका अरुण र फुकोट कर्णालीमा आयोजना निर्देशकको रूपमा कार्यरत छन् । प्रस्तुत छ उनै ई. वाईबासँग इन्जिनियर्सनेपालले गरेको कुराकानीको संक्षिप्त अंश
प्रगतिशिल प्यानलको प्रतिनिधित्व गर्दै निर्वाचनमा उठ्नु भएको छ, सर्वप्रथम तपाईहरुको टीम बारे जानकारी दिनुहोस् न?
हाम्रो टिम एकदमै अनुभवी र नेपालमा केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर काम गरिरहनु भएकाहरूको टिम छ । नेइएको चुनावमा हामीले सबै सेक्टर समेटेर टिम बनाएका छौँ । बागमती प्रदेशकको पदाधिकारी मात्र २-२ नम्बरमा छ भने सदस्यमा ११ देखि २० नम्बरमा छ । हाम्रो टिमलाई अझ सशक्त र चुस्त बनाउन केन्द्रीय कमिटीमा पनि राम्रा उम्मेदवारी छानेका छौँ । केन्द्रीय कमिटीमा इन्जिनियर प्रा.डा. विष्णुप्रसाद पाण्डेलाई अगाडि बढाएर टिम बनाएका छौँ । केन्द्रीय कमिटीको पदाधिकारीमा ३-३ नम्बरमा छौँ भने सदस्यमा २५ देखि ३६ नम्बरमा छौँ ।
यसरी टिम बनाएका छौँ ।
तपाई आफै पनि पेशागत रुपमा अनुभवी मानिनुन्छ, यहाँको उम्मेदवारी प्रदेशमै किन ?
मैले विशेषगरी यो सोसाइटीलाई आफ्नो केही योगदान दिन र आफ्नो सुरुवात गर्नका लागि एकैपटक केन्द्रमा भन्दा प्रदेशमै ठीक होला भनेर यसमा मेरो उम्मेदवारी परेको हो । एकैपटक ठूलोमा जाँदा भने जस्तो गर्न सकिँदैन कि भनेर पनि तलैबाट सुरुवात गर्न प्रदेशमा रोजेको हुँ ।
निर्वाचन भन्ने बित्तिकै एजेण्डाका कुराहरु जोडिन्छन्, तपाईँको मुख्य एजेन्डा के-के हुन् ?
पहिलेदेखि नै सबै कमिटी तथा प्यानलले आफ्नो एजेन्डाहरू प्रस्तुत गर्दै आइरहेका छन् । हामीले फरक विधामा केही गरौँ भनेर उम्मेदवारी दिएका हौँ ।
एजेन्डाभन्दा पनि हामी ३४ औँ निर्वाचनका लागि ३४ बुँदे प्रतिबद्धता पत्र तयार गरेका छौँ । यसमा हामीले विशेष गरी ६ वटा सेक्टर छुट्याएका छौँ । जस्तै हकहित र सेवासुविधा प्रवर्द्धन सम्बन्धमा, रोजगार तथा पेसागत क्षमता अभिवृद्धि सम्बन्धमा, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, नीतिगत सुधारमा जोड दिएका छौँ, नेइए र काउन्सिलमा जति सदस्यहरू छौँ त्यसको आधा पनि यसमा दर्ता नभएको र दर्ता भएकाहरूले पनि नवीकरण नगरेको अवस्था छ ।
यसलाई नेइए सदस्यता वृद्धि र गुणस्तरीयता अभिवृद्धि गर्ने विषय पनि हाम्रो प्रतिबद्धता पत्रमा समावेश गरेका छौँ । संस्थाहरूसँग सहाकार्य एवं समन्वय गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने लगायतका विषयहरू राखेका छौँ ।
नेइएमा इन्जिनियरहरुको सहभागित कम छ भन्ने सुनिन्छ , नेइएलाई सहभागितामूलक संस्था बनाउनका लागि यहाँको कदम कस्तो छ र इन्जिनियरहरूले कसरी विश्वास गर्ने ?
भदौ ३ गतेसम्मको तथ्यांक हेर्दा ८५ हजार इन्जिनियरहरू काउन्सिलमा दर्ता भएका छन् । कतिपय नेपाली इन्जिनियरहरू विदेशतिर छन् भने कतिपय त दर्ता नै भएका छैनन् । ८५ हजार दर्ता भएका मध्ये ४० हजार २६४ जना मात्र एसोसिएसनमा दर्ता भएका छन् । ४० हजारमा ३२ हजार साधारण सदस्य हुँदा रहेछन् । ८ हजार आजीवन सदस्य र २७ जना फेलो सदस्य छन् । ती मध्ये लगभग ५३ प्रतिशत नेइएमा आबद्ध नै छैनन् । आजीवन र फेलो सदस्यबाहेक जम्मा ३२।५ प्रतिशत मात्रले नवीकरण गर्छन् भने ६७।५ प्रतिशत नवीकरण नै हुँदैनन् ।
यसको मतलब नेइए छाता संगठन भए पनि यसले इन्जिनियरको हकहितमा बोल्न नसक्नु नै यसमा साख खस्किएको हो जस्तो देखिन्छ । हामी नेइएमा पुगिसकेपछि यसमा भएका कमी कमजोरीलाई केलाएर सुधारात्मक काम गरेर नेइएलाई गर्व गर्न लायक बनाउँछौँ ।
नेइएमा पछिल्लो पुस्तालई आकर्षण गर्नका लागि तपाईँहरूले के योजना बनाउनु भएको छ ?
युवा पुस्तालाई सबैभन्दा बढी रोजगार कै चिन्ता हुन्छ । रोजगारका लागि उनीहरूलाई प्रयोगात्मक सिकाइको आवश्यक पर्छ । यदी नेइएले युवाहरूको अभिवृद्धि र रोजगारको सुनिश्चितता गर्न सक्यो भने युवा पुस्ताहरू नेइएप्रति आकर्षित हुन्छ जस्तो लाग्छ ।
प्रदेशले दुई कार्यकालमा गर्न नसकेका काम जुन तपाईँले गर्नुहुन्छ त्यस्तो काम के-के छन् ?
बागमतीमा भर्खरै सुरु भएको हो । पदाधिकारीहरूलाई सुरुको कार्यकालमा अनुभव बटुल्न नै समय लाग्यो होला र दोस्रो कार्यकालमा केही गरौँ भन्दाभन्दै दुई वर्षे कार्यकाल सकियो जस्तो लाग्छ ।
हामीले प्रतिबद्धता पत्रमा पनि राखेका छौँ जस्तो सुरुको चरणमा बाटोघाटोको, खानेपानीको र घरको डिजाइन गर्नुपर्यो जुन ठाउँमा पूर्वाधार पुगेको हुँदैन उक्त ठाउँमा इन्जिनियर नै पुगिरहेको हुन्छ ।
त्यस्ता दुर्गम स्थानमा पुग्दा इन्जिनियरलाई सेवासुविधा दिनुपर्छ । जस्तै त्यस ठाउँमा पुगेको इन्जिनियरले खाना खाँदा सो पैसाको कर उसले तिर्न नपरोस् । उनीहरूलाई दिएको सहुलियतको पैसाले ट्याक्स तिर्न नपरोस् ।
उसले ढुक्कका साथ उक्त ठाउँमा गएर काम गर्न सक्ने वातावरणको सृजना गर्नुपर्छ । हामी यसै तर्फ ध्यान दिएर काम गर्ने छौँ । यो म एक्लैले गर्न सम्भव नहोला तर यसलाई मुद्दाको रूपमा अगाडि बढायौँ भने सफल हुन्छ जस्तो लाग्छ । इन्जिनियरहरूको मुद्दा र सवाललाई बागमती प्रदेशले केन्द्रीय समितिसँग मिलेर अगाडि बढाउने छौँ ।
तपाईँहरूको चुनावी तयारी र अभियान कस्तो छ ?
अहिले हामीले विशेष गरी काठमाडौँमा विभिन्न क्षेत्रमा रहेका इन्जिनियरहरूलाई कलष्टर वाइज अभियान गर्छौँ । उहाँहरूसँग भेटघाट गर्ने, कुराकानी गर्नेलगायतका काम गर्ने छौँ । माहोल हेर्दा सकारात्मकै छ ।
हाम्रा उम्मेदवारहरूको वायोग्राफी हेर्न र विचार गर्न आग्रह गर्छौँ । उहाँहरूले हाम्रा उम्मेदवारलाई नै साथ दिनुहुन्छ भन्ने विश्वास गरेका छौँ । हाम्रो टिममा मेरिटको आधारमा अब्बल रहेका साथीहरू नै उम्मेदवार हुनुहुन्छ । सकेसम्म मतदाताहरूलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका छौँ ।
पेशागत रुपमा तपाईं जलविद्युत संग बढी जोडिनुभएको छ, हाइड्रो क्षेत्रमा इन्जिनियरहरूका लागि सम्भावना र चुनौती के देख्नुहुन्छ ?
पहिलो चुनौती भनेको प्राइभेट सेक्टरलाई हेर्ने दृष्टिकोण एउटा पाटो भयो । सरकारी सेक्टरबाटै काम गर्दै आएको हाइड्रोपावरहरूमा पनि ठूला आयोजनाहरूलाई लगानी भित्र्याउने विषयमा पोलिसी छैन ।
यस्तै हाइड्रो पावरको विकास गर्नका लागि चाहिने पूर्वाधारहरूबारे स्पष्ट नीति भएको देखिँदैन र यसबाट विकासमा अवरोध हुन जान्छ । यस्ता थुप्रै चुनोतीहरूलाई नेइए बागमती प्रदेशले लिड गरेर सरकारसमक्ष लैजाने काम गर्नुपर्छ । साथै रोजगारीको विषयमा हाइड्रो पावरले कमसेकम पनि एउटा ठूलो आयोजनामा लगानी जुटाएर कन्स्ट्रक्सनसम्म लैजान सक्यौ भने रोजगार आफैँ सृजना हुन्छ । अनि धेरै इन्जिनियरहरूले जागिर पाउन सक्छन् । र, यसरी नै हामीहरू अगाडि बढ्न सक्छौँ ।
अन्तिममा, तपाईँ इन्जिनियरहरूलाई के सन्देश दिनुहुन्छ ?
म इन्जिनियर साथीहरूलाई भन्न चाहन्छु कि धेरै इन्जिनियर साथीहरू नेइएमा आबद्ध नै हुनुहुन्न उहाँहरूको मनमा प्रश्न छ होला हामीहरू किन आबद्ध हुने भनेर साथै उहाँहरुको बितृष्णा पनि पक्कै छ ।
उहाँहरूले सबै उम्मेदवारको बायोडाटा पढेर नेइएमा आउन र मत दिन आग्रह गर्छु । नेइएको नवीकरण गर्न र आफूले सोचेका चाहेका उम्मेदवारलाई छानौँ ।
सबैले मतदान गर्नुस् र नेइएको चुनावलाई उत्सवको रूपमा मनाऔँ भन्न चाहन्छु ।