१६५ जनाले पाए स्टार्टअप उद्यम कर्जा, थप ६०० जनालाई दिने सरकारको तयारी


Posted: Aug. 27, 2024
  Engineers Nepal

काठमाडौँ- स्टार्टअप उद्यम कर्जा आज मात्र १६५ जनाले पाएका छन् । प्रधामन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सो बारे जानकारी दिँदै थप परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेका छन् ।

बिनाधितो स्टार्टअप उद्यम कर्जा अरू ५०० देखि ६०० जनालाई दिने तयारी सरकारले गरेको उनले बताएका छन् ।

प्रम ओलीले लेखेका छन्, 'स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने सूचना ! तपाईं युवा हुनुहुन्छ, उद्यम गर्ने सोचमा हुनुहुन्छ, केही गरौं भन्ने हुटहुटी छ भने सरकारले बिनाधितो २५ लाख रुपैयाँ सम्मको स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गर्ने सूचना जारी गरेको छ । भर्खरै १६५ जनाले यो कर्जा पाइसकेका छन् भने अरु ५०० देखि ६०० जनालाई बिनाधितो कर्जा दिने तयारी गरिएको छ ।'

पारदर्शी प्रक्रियाबाट यसको छनौट गरिने पनि ओलीले उल्लेख गरे । नवउद्यमीहरू सबैले यस अवसरको सदुपयोग गर्न आग्रह गरेका गर्दै प्रमले यो कर्जा पाएर व्यवसाय गर्नेहरूको सामाजिक सञ्जालबाट आफैँ पनि प्रमोसन गर्ने बताएका छन् ।

त्रिपुरेश्वरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ गते एक सूचना जारी गर्दै प्रस्ताव पेस गर्न आह्वान गरेको छ । सूचनामा प्रथम पटक प्रकाशित मितिले एक्काइस दिनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

www.iedi.org.np मा गएर यसबारे जानकारी लिन सकिने छ । 






Leave a comment




Comments