- 15 November 2024
- २०८१-०७-३० (शुक्रबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्व निर्वाचन भदौ २८ काठमाडौँमा हुँदैछ । यसै क्रममा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन) ले पनि आफ्नो प्यानलको नामावली सार्वजनिक गरेको छ ।
नामावली सार्वजनिक गर्दै संगठनले भनेको छ, 'नेकपा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्ड र महासचिव देव गुरुङको उपस्थितिमा NEA निर्वाचन २०८१ को सम्बन्धमा भएको छलफल र पार्टीको स्पष्ट निर्देशनअनुसार संगठनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय तथा प्रदेश कार्यकारिणी समितिका ( एकल तथा गठबन्धन तर्फका ) तपसिलका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन तथा निर्वाचन प्रक्रियामा सहयोग गर्न/गराउन यो परिपत्र गरिएको छ ।'
संगठनले निर्वाचनमा भाग लिने उम्मेदवारको नाम आइतबार सार्वजनिक गरेको हो ।
यता संगठनकै संयोजक ई. विजयकुमार विष्टले साउन १८ गते एक सूचना जारी गर्दै आफ्नो तर्फबाट आधिकारिक प्यानल दर्ता नभएको बताएका थिए ।
निर्वाचनमा संगठनको तर्फबाट उम्मेदवार सिफारिस समितिका संयोजक ई. डा. निरोज पाण्डे दिनभर फोन तथा म्यासेजको रेस्पोन्स नगरी संगठनको सम्पर्कमा नरही उक्त समितिबाट उम्मेदवारहरूको मनोनयन गर्ने समयसम्म सिफारिस प्राप्त नभएको हुनाले संगठनको तर्फबाट नेपाल इन्जिनियर एसोसियसनको ३४ औ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रियाका लागि आधिकारिक प्यानल दर्ता नभएको बताएका थिए ।
स्रोतका अनुसार संगठनभित्रको आन्तरिक विवादका कारण संयोजकले प्यानल नै दर्ता भएन भनेर विज्ञप्ति निकालेका थिए ।
संगठनको विवाद बढ्दै जाँदा अहिले निर्वाचनका लागि निओनको बागमती प्रदेशमा दुई वटा प्यानल रहेको देख्न सकिन्छ ।
नेपाल राष्ट्रिय इन्जिनियर संगठनको नाममा तेस्रो बागमती कार्यकारिणी समितिका लागि ई.वीरेन्द्र विक्रम लामा र ई.भगवान कुँवरको नेतृत्वमा दुई वटा प्यानल दर्ता भएका थिए । संयोजक विष्टले ई.वीरेन्द्र विक्रम लामाको प्यानललाई आधिकारीकता दिएका छन् ।