विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न गरे ताकेता


Posted: Dec. 1, 2023
  Engineers Nepal

१५ मंसिर, विराटनगर ।  विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो भने महानगरपालिकाले त्यसको लगत्तै पत्र लेखेर सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न प्राधिकरणलाई ताकेता गरेको हो ।

महानगरपालिकाले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी भएको भनेर विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बताएको छ । गत २१ असोजमा प्राधिकरणले गोरखापत्रमा ४५ दिने सूचना निकालेर बक्यौता तिर्नका लागि सुचना दिइएको थियो ।

प्राधिकरणबाट बक्यौता तिर्न दबाब आएपछि महानगरपालिकाले बिहीबार विद्युत प्राधिकरणलाई पत्र लेख्दै सम्पत्ति कर र महानगरभित्र रहेका बिजुलीको पोलको भाडा तिर्न आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिहीबार प्राधिकरणलाई पठाएको पत्रमा सम्पत्ति कर ३ करोड ८१ लाख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ । महानगरमा २३ हजार १५१ वटा बिजुलीका पोल छन् । महानगरले ती पोलको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ भाडा बुझाउन ताकेता गरेको हो ।






Leave a comment




Comments