पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन


Posted: Nov. 28, 2023
  Engineers Nepal

कुस्मा (पर्वत), मङ्सिर १२ गते । पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि इन्जिनियरविहीन बनेको छ। जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम नै प्रभावित भएको छ। 

तीन जना इन्जिनियर सातौँ/आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली छन्। जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेको हो। सबइन्जिनियर अधिकृतस्तर पाँचौँ/छैटौँको सात वटा दरबन्दीमा दुई जना मात्रै कार्यरत छन्। 

कार्यालय प्रमुख गुरुदत्त अधिकारी भन्छन्, “सीमित जनशक्तिले डिटेल स्टिमेट तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको छ। बिहान र बेलुका नभनी कार्यालयको काम गर्दासमेत भनेको समयमा निर्माण कार्यको भने जस्तो गरी समयमा मूल्याङ्कन र निरीक्षण गर्नसमेत सक्ने अवस्था छैन।” उनका अनुसार कतिपय सडक निर्माणको सम्झौता गरेका ठेकेदारलाई ठेक्का सम्झौता रद्द गर्ने दबाब दिएपछि मात्रै काममा फर्केका छन् ।

योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपियाँसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रूपमा तीन जना सबइन्जिनियरलाई काममा लगाइएको प्रमुख अधिकारी बताए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नु परेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधर विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्यामा कार्यालय सहयोगी दुई जनासहित गरी जम्मा आठ जना मात्रै छन्।

-गोरखापत्र






Leave a comment




Comments