21 April 2025
२०८२-०१-०८ (सोमबार)
विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ ।
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ ।
यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।
न्यायाधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले शुक्रबार सजाय निर्धारण गरेको हो । कात्तिक १७ गते अदालतले कसुर ठहर गरेको थियो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सत्याललाई तीन वर्ष कैद र २० लाख ६० हजार जरिबाना तथा थापालाई डेढ वर्ष कैद र सात लाख ४० हजार रुपियाँ जरिबाना भएको जानकारी दिए ।
खानेपानीसम्बन्धी आयोजनाको भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले २०७९ कात्तिक २ गते दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सत्याल तह आठका इन्जिनियर र थापा प्लम्बर हुन् । । सत्याल र थापाले सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रुपियाँको चेक लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।