नेपालमा इन्जिनियरिङ शिक्षा राम्रो छ तर पाठ्क्रम परिवर्तन गर्न जरुरी


Posted: Nov. 10, 2023
  Engineers Nepal

 

नेपालको इन्जिनियरिङ विषय पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । देशको विकासमा टेवा पु¥याउने जनशक्ति उत्पादन गर्ने शिक्षा इन्जिनियरिङ हो । त्यसैले नेपालको इन्जिनियरिङ शिक्षाको अवस्था कस्तो छ ? विद्यार्थीले इन्जिनियरिङ विषय छनोट गर्दा के कुरामा ध्यान दिन जरुरी छ ? यसै विषयमा सगरमाथा इन्जिनियरिङ कलेजका प्रधानाध्यापक रमेश श्रेष्ठसँग कुराकानी गरेका छौँ । 

वर्तमान अवस्थामा नेपालको इन्जिनियरिङ शिक्षाको अवस्था कस्तो छ ?

वर्तमानको कुरा गर्दा इतिहासबाटै हेर्नुपर्छ । जागिर गर्ने सिलसिला होस् वा विदेशमा उच्च शिक्षा हासिल गर्ने कुरा, हरेक ठाउँमा नेपालका इन्जिनियरिङ ग्राजुएटले अहिलेसम्म अत्यन्त राम्रो प्रगति गरेको प्रमाणित भएको छ । विदेशी विश्वविद्यालयमा पनि मास्र्टर्स वा पीएचडी गर्न गएका विद्यार्थीहरू जुनसुकै विश्वविद्यालयमा पनि टप ¥याङ्कमा आइरहेको रेकर्ड छ । 
हालसालै इन्जिनियरिङ काउन्सिलले लिइरहेको प्रवेश परीक्षा हेर्ने हो भने, नेपालकै विश्वविद्यालयबाट ग्राजुएट गरेका विद्यार्थीको उत्तीर्ण प्रतिशत अन्य विदेशी विश्वविद्यालयबाट ग्राजुएट भएको भन्दा उत्कृष्ट छ । त्यसैले नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तर धेरै राम्रो छ । त्यसको कारण हो– नेपालमा पढ्ने र पढाउने तरिकाहरू अन्य ठाउँहरूको भन्दा फरक छ । विद्यार्थीहरूले यहाँको विश्वविद्यालयको परीक्षा पास गर्नलाई अत्यन्त कडा मिहिनेत गर्नुपर्छ । विदेशी विश्वविद्यालयमा पास गर्नलाई त्यति धेरै मिहिनेत गर्नु पर्दैन । गहिराइमा गएर विद्यार्थीले पढ्नुपर्छ भन्ने लाग्दैन । 

तर, नेपालको कुनै पनि विश्वविद्यालयको कुनै पनि इन्जिनियरिङ कलेजबाट पास गर्नलाई गहिराइमा त्यो विषयको ज्ञान लिएकै हुनुपर्छ । त्यो कारणले विद्यार्थीले धेरै मिहिनेत गर्छन् । ग्राजुएटको गुणस्तर पनि विदेशी विश्वविद्यालयभन्दा राम्रो भएको हो । नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स परीक्षालाई हेरेर नेपालको शिक्षाको गुणस्तर खस्केको हो कि भन्ने पनि आएको छ । धेरै कम विद्यार्थी मात्रै पास भए भन्ने कुराहरू आए । तर, के बुझ्न जरुरी छ भने, भर्खरै मात्र त्यो लाइसेन्स परीक्षाको प्रक्रिया सुरु भएको हो । यसअघि परीक्षा दिनुपर्ने स्थिति नै थिएन ।

 

 

सुरुमै कसरी त्यो परीक्षाको तयारी गर्ने, त्यसको सिलेबस पनि बुझ्न समय लागेको हुन सक्छ । त्यसमा पनि अहिले दुईपटक जाँच भयो । आईओई र टीयूबाट पास भएका रेगुलर ब्याचका विद्यार्थीले अहिलेसम्म जाँच दिन पाएका छैनन् । 

इन्जिनियरिङ संस्थान (आईओई)अन्तर्गतका आंगिक वा सम्बन्धनप्राप्त ती कलेजहरूबाट ब्याक पेपर दिएर पुराना ब्याचका विद्यार्थी जो ग्राजुएट भएका छन्, तिनले मात्र अहिलेसम्म लाइसेन्स परीक्षा दिन्छन् । 

आईओईअन्तर्गतका कलेजबाट नियमित पास भएका विद्यार्थी काउन्सिल परीक्षामा बस्न पाएकै छैनन् । अबको जाँचमा नियमित ब्याचको विद्यार्थीले परीक्षा दिन पाए अवश्य पनि काउन्सिलको लाइसेन्स परीक्षा धेरै राम्रो हुन्छ । त्यही भएर अहिले नै काउन्सिलको नतिजा हेरेर निष्कर्षमा पुग्नु हुँदैन । त्यसैले नेपालकोे इन्जिनियरिङ शिक्षाको गुणस्तर खस्किएको निष्कर्षमा पुग्नु हतार हुन्छ ।
 
विद्यार्थीलाई यहाँको सुझाव के छ ?

धेरैजसो प्लस टु सकेर अब इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई इन्जिनियरिङ काउन्सिलको जाँच पास गरिसकेपछि र लाइसेन्स प्राप्त गरिसकेपछि मात्रै इन्जिनियरिङको प्रोफेसनल प्राक्टिस गर्नुपर्छ भन्ने थाहा छैन । विशेष गरी प्लस टुमा साइन्स पढ्दै गरेको विद्यार्थीले यो प्रस्टसँग बुझ्नुपर्छ । 

चार वर्षको इन्जिनियरिङ कोर्स पास गरिसकेपछि भोलि फिल्डमा गएर प्रोफेसनल प्राक्टिस गर्नलाई वा जागिर खानका लागि इन्जिनियरिङ काउन्सिलको लाइसेन्स लिनुपर्छ । त्यो लाइसेन्सका लागि इन्जिनियरिङ काउन्सिलले समयसमयमा आयोजना गर्ने लाइसेन्सको परीक्षा पास गरेकै हुनुपर्छ, चाहे त्यो विदेशी विश्वविद्यालयबाट पास गरेको होस् वा नेपाली विश्वविद्यालयबाट । यसलाई आधार बनाएर अब इन्जिनियरिङ पढ्छु भन्ने विद्यार्थीले कस्तो कलेजमा गएर भर्ना हुने भनेर सोच्नुपर्छ । 

भर्ना हुने, चार वर्षमा डिग्री ल्याएर भएन । डिग्रीसँगसँगै इन्जिनियरिङ परिषद्को लाइसेन्स परीक्षा पनि पास गर्नुपर्छ । त्यस कारण गुणस्तरीय शिक्षा दिने कलेजमा भर्ना हुनुपर्छ । त्यो कलेजमा गएर मात्र इन्जिनियरिङ अध्ययन सम्पन्न गर्न मेरो सुझाव छ ।

विद्यार्थीहरूको मानसिकता कस्तो पाउनुहुन्छ ?

अहिले विद्यार्थीहरूले इन्जिनियरिङप्रति धेरै रुचि देखाएको अवस्था छ । तर, कताकता नेपालमा पढ्ने कि विदेशी विश्वविद्यालयमा गएर पढ्ने कि भन्ने विद्यार्थीमा दुविधा देखिन्छ । कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ र आईटीमा धेरै विद्यार्थीको आकर्षण पनि छ । त्यसको कारण विदेशमा मात्र होइन, नेपालमै पनि आईटी उद्योगले तीव्र विकास गरेकाले विद्यार्थीको मानसिकता आईटी, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्सप्रति बढी देखिन्छ ।

पछिल्लो समय आईटी कम्प्युटर प्रोग्राममा विद्यार्थीहरूको आकर्षण देखिन्छ,  यो क्षेत्रका चुनौती र सम्भावना कस्ता छन् ?

आजको. दिनमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र  कम्प्युटर साइन्स र इन्जिनियरिङ हो । तर, जुन क्षेत्रमा सम्भावना धेरै हुन्छ, त्यहाँ चुनौती पनि धेरै हुन्छ । कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स आईटी फिल्डमा जुन तीव्र गतिमा विकास भइरहेको छ, त्यो अरु कुनै फिल्डमा छैन । त्यस कारण विद्यार्थीले त्यो तीव्र रफ्तार र वेगलाई समात्न सकेन भने सम्भावना अत्यन्तै बढी हुँदाहुँदै पनि अप्ठेरो हुन सक्छ । 

कम्प्युटर इन्जिनियरिङ आज जुन प्रविधि छ, चार वर्षपछि असान्दर्भिक हुन सक्छ । त्यस कारण आज जुन विद्यार्थी भर्ना भएका छन् कम्प्युटर इन्जिनियरिङको कुनै फिल्ड वा कुनै विषय पर्छ, त्यो विषय चार वर्षपछि काम नलाग्ने हुन सक्छ । आफूलाई हरेक दिन कम्प्युटर इन्जिनियरिङ फिल्डमा विद्यार्थीले अपडेट भइनै रहनुपर्छ । त्यो भएन भने अत्यन्त चुनौतीपूर्ण हुन सक्छ ।

विश्वविद्यालय, इन्जिनियरिङ काउन्सिललगायतका नीति बनाउने ठाउँमा आहिलेको अवस्थामा केकस्ता नीतिहरू परिवर्तन गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?

विशेष गरी नेपालका विश्वविद्यालयमा जुन टिचर सेन्ट्रिक छन् । टिचरबेस्ड छ । टिचरले जे दियो, त्यसमै सीमित रहने अथवा टिचरले बनाएको फ्रेमवर्कभित्र नै विद्यार्थी बस्नुपर्ने बाध्यता छ, अब यसलाई सकेसम्म छिटो विश्वविद्यालयले विद्यार्थी सेन्ट्रिक बनाउनुपर्छ । 

प्रोब्लमबेस्ड लर्निङ कन्सेप्टलाई सिलेबसमा वा करिकुलम बनाउनुपर्छ । यो हिसाबले करिकुलम मोडिफाई गर्नुपर्छ । अर्काे, सिलेबस रिभाइज रेट पनि बढाउनुपर्छ । नेपालको पाठ्यक्रम परिमार्जनको दर एकदमै कम छ । हरेक वर्ष अपेडट गर्नुपर्ने सिलेबस कतिपय अवस्थामा त चार÷पाँच वर्षसम्म पनि भइरहेको हुँदैन । 

नयाँ टेक्नोलोजी, नयाँ कन्टेक्स्ट राख्न सिलेबस परिमार्जन गर्नुपर्छ । बाहिर टिचिङ लर्निङ प्रोसेसलाई विद्यार्थीहरूले रुचाएको देखिन्छ । बाहिर पढ्न जाने ट्रेन्ड पनि बढेको देखिन्छ । त्यसको कारण त्यहाँ विद्यार्थीहरूलाई दिइने टिचिङ लर्निङ प्रोसेस हो । 

हाम्रो सेमेस्टरभरि पढायोे, अन्तिममा जाँच लिएर पास फेल भन्ने गरिन्छ, यही नै समस्या हो । त्यहाँ निरन्तर सिकाइ प्रक्रिया हुन्छ । भर्ना भएदेखि मूल्यांकन सुरु हुन्छ । एक वा ३ घण्टाको जाँच मात्रै सर्टिफिकेटमा रिफ्लेक्ट हुँदैन । 

असाइनमेन्ट, प्रिजेन्टेसन, प्रोब्लम सल्भ स्किल डेभलभमेन्टका आधारमा ग्रेडिङ गर्ने प्रणाली छ । हाम्रोमा चाहिँ टिचर सेन्ट्रिक छ । तीन घण्टा जाँच लिएर पास भए पास, फेल भए फेल हुन्छ । यहाँ गम्भीरतापूर्वक सोच्नुपर्नेछ । काउन्सिलले विशेष गरी उत्पादनलाई फोकस गर्नुपर्छ । ग्राजुएट भइसकेपछिको इन्जिनियरलाई फोकस गर्नुपर्छ । प्रोसेसमा काउन्सिलले ध्यान नदिए पनि हुन्छ । 

विश्वविद्यालयले चार वर्षको प्रोसेसमा ध्यान दिनुपर्छ । चार वर्षपछि ग्राजुएट भएर आउने प्रोडक्ट अब व्यावसायिक अभ्यासमा जान ठीक छ कि छैन भनेर काउन्सिलले हेर्नुपर्छ । अहिले प्रोसेसमै बढी ध्यान नदिएको देखिन्छ । 

त्यहाँ कानुनमै केही परिवर्तन गरेर भए पनि प्रोडक्टलाई मात्र फोकस गर्दा उद्देश्य अझै राम्रोसँग परिपूर्ति हुन्छ । काउन्सिलले अहिले कानुनले प्रोसेसमै फोकस गर भनेर भन्ने गरेको छ । इन्जिनियरिङ कलेजको क्वालिटी प्रोसेस मोनिटर गरे हुन्छ । क्वालिटी अडिटमा बढी ध्यान दिनुपर्छ ।
 
पछिल्लो समय प्लस टुपछि विद्यार्थी विदेशिने क्रम बढ्दो छ । यसमा कसरी रोक्न सकिएला ?

विदेशी विश्वविद्यालयमा पढ्न जाने नेपाली विद्यार्थीलाई न्यूनीकरण गर्न यहाँको शिक्षाको गुणस्तरमा सुधार गर्ने हो ।   सिस्टममा केही न केही परिवर्तन गर्नुपर्छ । त्यो भनेको सिलेबस परिमार्जन गर्नुपर्छ । विदेशी विश्वविद्यालयमा भर्ना हुनुको कारण सिकाइ र कमाइ दुवै भएकाले हे । नेपालमा यो किन नगर्ने ? नेपालको विश्वविद्यालय र इन्जिनियरिङ कलेजमा पढ्दै जागिर पनि गर्न पाउने गरी सिलेबसलाई मिलाउने हो भने बाहिर जाने ट्रेन्डलाई धेरै हदसम्म घटाउन सकिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को सिलेबस पुरानो भयो भन्ने गरिन्छ । टेक्नोलोजी हरेक दिन नयाँनयाँ आइरहेका छन् । समयअनुसार पाठयक्रममा किन सुधार नगरिएको हो ? 

पाठ्यक्रम परिवर्तन गरिएको छ । अब कार्यान्वयनको अन्तिम चरणमा छ । इन्जिनियरिङ अध्ययन संस्थानबाट प्राप्त सूचनाअनुसार आगामी शैक्षिकसत्र २०८० देखि लागु हुँदै छ । सिलेबसहरू समयसापेक्ष र विदेशी विश्वविद्यालयहरूको सिलेबस अध्ययन गरेर आएकाले त्यसले अहिलेको आवश्यकतालाई पूरा गर्छ ।

इन्जिनियरिङमा आवश्यक सफ्टवेयर ट्रेनिङहरू सिलेबसमा नराख्दा विद्यार्थीले स्वअध्ययन या कसैको सहयोग लिनुपरेको छ । सफ्टवेयरहरू पाठयक्रममा समावेश गर्न किन नसकिएको हो ?

इन्जिनियरिङको सिलेबसमै सबै विषयहरू हुन्छन् । सबै विषयको प्राक्टिकल क्लास पनि हुन्छ ।  ल्याब पनि छ । हरेक विद्यार्थीले प्राक्टिकल क्लास लिनैपर्छ । यसलाई प्रभावकारी बनाउने हो भने त्यहीँबाटै विद्यार्थीहरूले ज्ञान सीप प्राप्त गर्न सक्छन् ।

तर, सिलेबसभित्र ट्रेनिङ छुट्टै राख्नुपर्छ भन्ने लाग्दैन । विद्यार्थीहरू आफैँले पनि ट्रेनिङका कोर्सहरू समयअनुसार लिन मिल्छ । हामीले विद्यार्थीहरूलाई चार वर्षभित्र विभिन्न जब ओरिएन्टेड प्रोफेसनल ट्रेनिङ कोर्स गरिरहेका हुन्छौँ । 

कार्यान्वयनमा आउन लागेको नयाँ सिलेबसमा अन्तिम वर्षमा दुईदेखि तीन महिना अनिवार्य इन्टर्नसिप गर्नुपर्ने व्यवस्था आउँदै छ । यो कार्यान्वयनमा आइसकेपछि विद्यार्थी चार वर्षमा ग्राजुएट भएर जाँदै गर्दा त्यसअगाडि धेरै किसिमको औद्योगिक अनुभव प्राप्त गरिसकेको हुन्छ ।  उनीहरूको सीप र व्यावहारिक ज्ञान अभिवृद्धि गर्न मद्दत गर्छ ।

अहिलेको प्रवेश परीक्षा प्रणाली कस्तो छ ? आईओईलाई के सुझाव दिन चाहनुहुन्छ ?

समग्रमा आईओईको परीक्षा प्रणाली विश्वसनीय छ । तर, इन्ट्रान्स परीक्षा एउटै प्रश्न होइन कि फरकफरक प्रश्नले टेस्ट लिइरहेको छ । त्यहाँ सकेसम्म चाँडै एउटै मात्र प्रश्नावलीले एउटा सिफ्टमा सम्पूर्ण विद्यार्थीको कम्प्युटरबेस्ड जाँच लिने वातारवरण बनाउनैपर्छ । 
समस्या कस्तो आइरहेको छ भने कुनै सिफ्ट वा दिनको इन्ट्रान्स एक्जाम पेपर सजिलो भयो, कुनै दिनको एक्जाम हार्ड र टफ आयो भन्ने कुराहरू बारम्बार आइरहेका छन् ।

त्यसको एउटै मात्र उपाय भनेको अब पुल्चोक क्याम्पसमा मात्र टेस्ट सेन्टर नराखी सम्बन्धनप्राप्त र आंगिक कलेजहरूलाई पनि समयमै मोभिलाइज गर्न सक्ने हो भने समस्या समाधान हुन्छ । 
आईओई इन्ट्रान्सको विश्वसनीयताका लागि पनि यो गर्न जरुरी छ । समग्रतामा इन्टर्न परीक्षा ठीक छ । अर्काे भर्ना अवधि लामो छ । इन्ट्रान्स परीक्षाको नतिजा आएपछि डेढ दुई महिनाजति भर्ना प्रक्रिया लाग्छ । अरु विश्वविद्यालय र कलेजतिर जान सक्ने सम्भावना रहन्छ । विद्यार्थी आउनका लागि सकेसम्म भर्ना अवधि छोट्याउनुपर्छ ।

 






Leave a comment




Comments