आईटीमा स्वर्णिमकाल


Posted: Nov. 10, 2023
  Engineers Nepal

 

इन्जिनियरिङ शिक्षाको महत्व दिनप्रतिदिन बढेको छ । इन्जिनियरिङ शिक्षा आजको युगको आवश्यकता पनि हो । यसै सन्दर्भमा रहेर नेपालमा इन्जिनियरिङ शिक्षाको स्थिति के छ ? कस्ता चुनौती र सम्भावना छन् ? थप सुधार गर्नुपर्ने पक्षहरू के–के छन् भन्ने विषयमा केन्द्रित भएर एभरेस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल विरोध रिजालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको अंश ः

अहिले नेपालको इन्जिनियरिङ शिक्षाको अवस्था कस्तो पाउनुहुन्छ ?

नेपालको इन्जिनियरिङ शिक्षा पाठ्यक्रमको हिसाबले हेर्दा पछाडि छैन । आधुनिक युगमा विकास भएको प्रविधिअनुसारको छ । अध्यापनको हिसाबले सेमेस्टरका आधारमा पढाइ भइरहेको छ । कक्षा सञ्चालन, समापन, परीक्षा र नतिजा समयमै हुन्छ । आठवटा सेमेस्टरमा पढाइ हुन्छ । पढाइको हिसाबले हेर्दा प्राक्टिकलमा जोड दिनुपर्नेछ । पढाइ, प्राक्टिकल र प्रोजेक्ट वर्कमा एउटा तहसम्म राम्रै भइरहेको छ । पढाइ र पाठ्यक्रमको हिसाबले ठूलो समस्या देखिँदैन ।

विद्यार्थीहरूको मानसिकता कस्तो पाउनुहुन्छ ?

नेपालभित्र बसेर पढ्दै गर्दा मैले पढिसकेपछि के अवसर पाउँछु ? म कहाँ गएर सेटल हुन्छु भन्ने विद्यार्थीको मानसिकता छ । मैले ब्याचलर गरिसकेपछि जागिरको सम्भावना के रहन्छ ? बिजनेसको सम्भावना के रहन्छ ? भनेर विद्यार्थीहरू सोच्ने गर्छन् । हाम्रो देश आर्थिक हिसाबले पछाडि परेको र औद्योगिकीकरण कम भएका कारणले विद्यार्थीमा यो दुविधा हुनु स्वाभाविक नै हो । तर, इन्जिनियरिङमा विद्यार्थीलाई मिहिनेत गर्न प्रेरित गर्छौं । सीपयुक्त बनाउन अतिरिक्त तालिम दिन्छौँ । जसले गर्दा विद्यार्थी आत्मविश्वासको तह बढ्ने, केही सीप पनि आर्जन गर्ने र बजारमा गएर काम गर्न सक्ने हुन्छन् । हामीले यो हिसाबले सिकाइरहेका छौँ । यद्यपि आमरूपमा हेर्दा जागिर पाइँदैन कि, काम पाइँदैन कि भन्ने दुविधा छ । तर, मिहिनेत गर्नेलाई ठाउँ छ । अझ आईटीमा त एकदमै ठूलो सम्भावना र अवसर छ ।

आईटी कम्प्युटर प्रोग्राममा विद्यार्थीहरूको आकर्षण देखिन्छ,  यो क्षेत्रका चुनौती र सम्भावना केकस्ता छन् ? 

पछिल्लो १०/२० वर्षको ट्रेन्ड हेर्ने हो भने कम्तीमा अझै १० वर्ष आईटीको स्वर्णिमकाल छ । छिटोछिटो विकसित भइरहेको छ । त्यसमाथि रोजगारीको हिसाबले हेर्दा आईटी क्षेत्रको मार्केट प्रशस्त छ । यसमा ठूलो अर्थतन्त्र छ । संसारभर बढ्दै गएको छ । त्यस कारण अहिले इन्जिनियरिङमा आईटी वा कम्प्युटर साइन्स पढिसकेपछि विद्यार्थीहरूले रोजगारी मात्रै होइन, आर्थिक हिसाबले राम्रो जागिर पाउन सक्छन् । 

चुनौतीका रूपमा भने उद्योगहरू सिस्टमेटिक हुन नसक्नु पनि हो । राज्यले पनि नीतिगत रूपमा खासै नियमन गरेको छैन । तथ्यांक हेर्दा पनि नेपालले अन्तर्राष्ट्रिय बजारमा ६७ अर्बको आईटीको उत्पादन र सेवा बेच्यौँ । यसमा धेरै योगदान फ्रिलेन्सिङबाट देखिन्छ । व्यक्तिगत रूपमै फ्रिलेन्सिङबाट यो योगदान छ भने औद्योगिक रूपमा अभिप्रेरित भएको छैन । सिस्टमेटिक नहुनेबित्तिकै चुनौतीहरू हुन्छन् । करको कुरा थाहा हुँदैन, संवाद, सम्झौता, कानुनी व्यवस्था के हो भन्नेमा दुविधा हुन्छ । पासआउट भएपछि तत्काल त्यो अवसर कहाँबाट पाउन सकिन्छ भन्ने भेट्टाउन गाह्रो छ । दोस्रो आईटी विशेषज्ञको कुरा हो । ठ्याक्कै काम गरेर देखाउनुपर्छ । राम्रो सीप भएन भने बेरोजगार पनि हुन सक्छ । यसमा ध्यान दिनुपर्छ ।

विश्वविद्यालय, इन्जिनियरिङ काउन्सिललगायतका संस्थाले नीति बनाउने गर्छन् । अहिलेको अवस्थामा भइरहेका ऐन, नीति तथा नियमहरूमा के कस्तो सुधार आवश्यक देख्नुहुन्छ ?

विश्वविद्यालयले सिलेबस बनाउने, कार्यक्रमहरू बनाउने, बनाएको कार्यक्रम कसरी कार्यान्वयन भइरहेको छ भनेर अनुगमन गर्ने हो । विशेष गरी मूल्यांकन गर्दा कलेजले लिएको सेमेस्टर परीक्षाको बेन्च मार्किङ गर्ने काम गरिराखेको छ । 

अब यसमा समयक्रमअनुसार पाठ्यक्रम परिमार्जन हुनुपर्यो । पोखरा विश्वविद्यालयले समयअनुसार अपडेट गरिरहेको पनि छ । पहिले रिजल्ट ढिलो हुने समस्या थियो । अब प्रश्नपत्रहरू व्यावहारिक बनाउनुपर्छ । प्रश्नपत्र र मूल्यांकन प्रणालीमा अलिकति फरक तरिकाले व्यावहारिक बनाउनुपर्छ । प्राक्टिकल बेसिस हुने गरी डिजाइन गरियो भने बाँकी अरु हिसाबले हामी निकै अगाडि छौँ ।

काउन्सिलको कुरा गर्दा आफ्नो लाइसेन्सको परीक्षा सुरु गरेको छ । अर्काे अनुगमन हो । कलेजहरूको भौतिक संरचनामा मात्र नभई गुणस्तरमा पनि अनुगमन गर्नुपर्छ । गुणस्तरका प्यारामिटरहरू थपेर नीतिगत पुनरावलोकन जरुरी छ । यसले कलेजको गुणस्तर बढाउन मद्दत गर्छ ।

पछिल्लो समय विद्यार्थी विदेशिने क्रम बढ्दो छ ?  न्यूनीकरण गर्न के गर्ने ?

ठ्याक्कै यहाँको सिलेबस, पढाउने तरिका वा कलेजको गुणस्तरले मात्रै विद्यार्थीहरू बाहिर गइरहेको जस्तो लाग्दैन । हाम्रो आर्थिक, सामाजिक अवस्थाले विद्यार्थीलाई बाहिर जान खुला गर्यो । पछिल्लो समय विदेश जान सजिलो छ । अर्काे, बाहिरतिर कमाउने सुविधा पनि हो । सिकाइ र कमाइ दुईवटै कुरा चाहियो । नेपालमा सिकाइ त होला, तर आम्दानी त्यति देखिँदैन । अन्तर्राष्ट्रियस्तरसँग तुलना गर्दा यो पनि देखिँदैन । हामीले हाम्रो शिक्षामा सुधार गर्नुपर्ने, प्राक्टिल बेसिस बनाउने गरी जानुपर्यो । अर्काेतिर, बजार पनि त्यहीअनुसार सिस्टमेटिक बनाउँदै गयो भने विद्यार्थीले ग्राजुएटपछि यहीँ कमाउने अवसर पाउँछ । बाहिर नजाने स्थिति बन्छ । रोजगारीको सिर्जनामा ध्यान दिनुपर्छ ।

पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण गर्न गाह्रो छ भनिन्छ नि ?

पोखरा विश्वविद्यालयमा ननकरेन्ट र बेरियर सब्जेक्टहरू हुन्छन् । त्यसले गर्दा पास गर्न गाह्रो छ भन्ने सुनिन्छ । त्यसलाई हेरेर कुरा गर्ने भने अरु विश्वविद्यालयमा सबै सब्जेक्ट बेरियर सब्जेक्ट हो । 

एउटा सेमेस्टरमा पास नगरीकन अर्काे सेमेस्टरमा ब्याकको रूपमा मात्रै लिइन्छ । त्यही सेमेस्टरमा पास गर्नुपर्छ । तर, पोखरा विश्वविद्यालयको चारवर्षे कोर्स हो । आठवटा सेमेस्टर हुन्छन् । यहाँ कोर्स रजिस्ट्रेसन सिस्टम छ । यो भनेको एउटा सेमेस्टरको कुनै कोर्स अर्काे समेस्टरमा पढ्न पाइन्छ । जस्तो फस्र्ट सेमेस्टरको कुनै कोर्स अहिले गर्दिनँ, सेकेण्ड सेमेस्टरमा गर्छु भन्न पाइन्छ । वा फोर्थ सेमेस्टर गर्न पाइन्छ । त्यतिखेर गर्दा त्यो ब्याक विषय हुँदैन । त्यो रेगुलरकै हिसाबले गनिन्छ । यसबाट विद्यार्थीलाई यो विषय अहिले पढ्छु, यो पछि पढ्छु भन्ने सुविधा छ । आठवटा सेमेस्टरभित्र जुनसुकै समयमा पास गर्न सकिन्छ । यो सजिलो छ ।

मूल्यांकन प्रणाली पनि फरक छ । यो अमेरिकी सिस्टम हो । जहाँ ५० प्रतिशत आन्तरिकबाट र ५० प्रतिशत बाह्य मूल्यांकन हुन्छ । यस्तो सुविधा अरु विश्वविद्यालयमा छैन । आन्तरिकमा विद्यार्थीको प्रयासलाई मूल्यांकन गर्ने हो । 

निरन्तर कक्षामा आउने, शिक्षकसँग छलफल गर्ने, असाइनमेन्ट गर्यो भने पास गर्न सजिलो छ । अनुपस्थित हुने, नपढ्नेका लागि गाह्रो हुन सक्छ । अलिकति मिहिनेत गर्ने र निरन्तर लागिरहनेले सजिलैसँग पास गर्छ भन्ने लाग्छ । 

अर्काे रिलेटिभ ग्रेडिङ सिस्टम छ । यसमा एउटा ब्याचभित्र पार्टिकुलर सब्जेक्टका लागि सबै विद्यार्थीको माक्र्सलाई हेरेर हामीले रिलेटिभ हिसाबले लेटर ग्रेडहरू असाइन गर्छाैं । जस्तोस कुनै एउटा ब्याचमा एउटा विषयको उच्च अंक ७० आयो भने यो नै ए हुन सक्छ । 

एब्सुलुट ग्रेडिङमा त हामीले ९० भन्दा माथिलाई ए भनेर भन्छौँ । यहाँनेर तुलनात्मक लाभ के भयो भने कुनै कारणवश प्रश्न गाह्रो आयो र समग्र विद्यार्थीभन्दा सबभन्दा टप जो हो उसले ए पाउने भयो । उच्च अंक जसको छ उसले ए पाउने भयो । ६० आउनेको उच्च माक्र्स आयो भने उसको ए आयो । ओभरअल ब्याचभित्रको विद्यार्थीमा टप विद्यार्थी को हो भनेर छुट्याउने हो, त्यो हिसाबले यो राम्रो छ । 

यसमा विश्वविद्यालयको त्यो विषयको सबै विद्यार्थीको मूल्यांकन हुन्छ । यो उत्कृष्ट र उन्नत मूल्यांकन विधि हो । यसले राम्रै नतिजा दिएको छ । अन्तर्राष्ट्रिय रूपमा यसलाई स्वीकारेको छ । 

इन्जिनियरिङमा आवश्यक सफ्टवेयर ट्रेनिङहरू सिलेबसमा नराख्दा विद्यार्थीले स्वअध्ययन वा कसैको सहयोग लिनुपरेको छ । सफ्टवेयरहरू पाठयक्रममै समावेश गर्न सकिँदैन ?

सिलेबसमा सबै सफ्टवेयरहरू छैनन् । तर, विद्यार्थीलाई प्रोजेक्ट गराउँछौँ । जस्तोस सिभिल इन्जिनियरिङमा भवनसम्बन्धी प्रोजेक्ट गर्नुपर्ने हुन्छ । त्यसमा इट्याब्स भन्ने सफ्टवेयर चाहिन्छ । यहाँनेर विद्यार्थीलाई छुट्टै ट्रेनिङको व्यवस्था गर्छाैं । क्याडहरूको छुट्टै ट्रेनिङ गर्छाैं । 

रोडमा काम गर्नेहरूलाई स्मार्ट रोड भन्ने सफ्टवेयर छ । त्यसबाट तालिम दिन्छौँ । कम्प्युटर आईटीमा पाइथन भन्ने चलिरहेको छ, तर हाम्रो सफ्टवेयरमा छैन । सिलेबसमा सी, सी प्लस राखेका छौँ, यो फाउन्डेसन हो, जानेपछि अरु प्रोग्रामका लागि सहयोगी हुन्छ । तर मार्केटमा पाइथन, पीएसजी, डटनेट चलिरहेको छ भने त्यसको छुट्टै तालिम दिन्छौँ । सिलेबसमा छैन तर छुट्टै तालिम गराइरहेका छौँ । सफ्टवेयर समयक्रममा अपडेट भइराख्ने हुनाले सिलेबसमा मेन्सन गर्नुभन्दा त्यसको फाउन्डेसन र सैद्धान्तिक कुरा कोर्समा पढ्ने र त्यससँग रिलेटेड कुरा कलेजले व्यवस्थापन गरेर सफ्टवेयर सिकायो भने अझ राम्रो हुन्छ ।

-विरोध रिजाल, प्रिन्सिपल एभरेस्ट इन्जिनियरिङ कलेज






Leave a comment




Comments