- 12 December 2024
- २०८१-०८-२७ (बिहिबार)
इन्जिनियरिङ अध्ययनका विभिन्न विधामध्ये आर्किटेक्चरमा महिलाको आकर्षण बढी देखिन्छ । पुरुषको तुलनामा यो कोर्स महिलाको रोजाइमा पर्ने गरेको छ । विशेषतः डिजाइमा रुचि भएका विद्यार्थीका लागि यो कोर्स उपयुक्त छ । यही क्षेत्रमा विगत १५ वर्षदेखि सक्रिय एक्मी कलेजअन्तर्गतको आर्किटेक्चर विभागकी प्रमुख संगीता सुवेदीले यो कस्तो कोर्स हो ? यसमा कसरी काम हुन्छ र करिअर कस्तो हुन्छ भन्ने विषयमा अनुभव साटेकी छन् ।
कस्तो कोर्स हो ?
आर्किटेक्चर पाँचवर्षे कोर्स हो । आर्टमा विशेष झुकाव राख्ने विद्यार्थीहरूका लागि यो विषय उपयुक्त हुन्छ । आर्किटेक्चर भनेको ‘कम्बिनेसन अफ आर्ट एन्ड साइन्स हो’ । विद्यार्थीले आफ्नो क्रियटिभिटी देखाउने विषय पनि यसलाई मानिन्छ ।
आर्किटेक्चर पढ्नका लागि साइन्समा ‘प्लस टु’ वा इक्युभ्यालेन्ट कोर्स गरेको हुनुपर्छ । आर्किटेक्चरको पाँचवर्षे कोर्समा बेसिकदेखि एड्भान्ससम्म अध्यापन गराइन्छ । प्रथम वर्षमा लाइन तान्नेदेखि भवनको ड्रोइङसम्मको ज्ञान प्रदान गरिन्छ । डिजाइनहरू सिकाउँदै जाँदा कोर्स एड्भान्स हुँदै जान्छ, जसमा रेसिडेन्सदेखि कमर्सियल बिल्डिङसम्म हुन्छ । कार्यालय, विद्यालय भवन डिजाइन हुन्छ । चौथो तथा अन्तिम वर्षसम्म आइपुग्दा प्लानिङ, कन्जर्भेसनको कुरा सिकाइन्छ । सोही वर्ष नै इन्टर्नसिप हुन्छ ।
९० दिनसम्म व्यावसायिक अभ्यास
विद्यार्थीहरूले ९० दिनसम्म विभिन्न कन्सल्टेन्सीमा गएर व्यावसायिक अभ्यास गर्छन् । यसबाट टिमवर्क तथा प्राक्टिकल फिल्डलाई बुझ्ने मौका पाउँछन् । फिल्डमा जाँदा व्यावसायिक हिसाबले सहज रूपमा काम गर्ने वातावरण बन्छ ।
कोर्सको पाँचौँ वर्षमा आइपुग्दा थेसिस गर्नुपर्छ । कसैलाई अर्बन डिजाइनसँग रुचि हुन सक्छ । कसैलाई कन्जर्भेसनमा । कसैलाई प्लानिङमा रुचि हुन सक्छ । कसैलाई बिल्डिङ डिजाइन गरेर फरकफरक डिजाइन गर्न मन हुन सक्छ । विद्यार्थीले आफूलाई रुचि लागेको विषय छानेर थेसिस गर्नुहुन्छ ।
पाँचवर्षे कोर्समा बस्ने घरदेखि लिएर कमर्सियल कम्प्लेक्ससम्मका भवनहरू डिजाइन गर्न सिकाइन्छ । यसअन्तर्गत विद्यार्थीहरूले आफ्नो रुचिअनुसार थेसिस गर्नुहुन्छ । यसरी पाँचवर्षे कोर्समार्फत विद्यार्थीहरूलाई व्यावसायिक हिसाबले चाहिने सबै कुराहरू सिकाउँछौँ । उत्तीर्ण भइसकेपछि बजारमा गएर काम गर्न सक्छन् ।
अवसरै अवसर
पछिल्लो समय आर्किटेक्चरको सम्भावना बढ्दै गएको छ । पहिला मानिसहरूले आफैँ घर बनाउँथे । अहिले आर्किटेकबिना सजिलो छैन । किनभने हरेक घरको नगरपालिकाबाट नक्सा पास हुन जरुरी छ, जसमा आर्किटेक्चरले सोचेर, विचार गरेर ड्रोइङ गर्नुपर्नेछ । त्यसैले अवसर बढेको छ ।
राष्ट्रियताका साथै अन्तर्राष्ट्रिय बजारमा पनि ‘ग्लोबल्ली आउट सोर्सिङ’को काम आर्किटेक्चरमा सुरु भइसकेको छ । यस हिसाबले स्नातक भइसकेपछि विद्यार्थीहरूका लागि अर्बन डिजाइन, प्लानिङ, कन्जर्भेसन, हेरिटेजमा थुप्रै अवसर छन् ।
आर्किटेक्चर पढेर कुनै कोर्समा विशेषज्ञ बन्न पनि सकिन्छ । यसो गर्दा नेपालमै पनि विज्ञका रूपमा अवसर पाउँछ । आर्किटेक्चरमा ग्राजुयट विद्यार्थीले सरकारी कार्यालयमा काम गर्न सक्छन् । अहिले प्रत्येक नगरपालिकाले आर्किटेक्चर राख्ने अभ्यास बढेको छ ।
यसबाहेक गैरसरकारी संस्था, आर्किटेक्चर कन्सल्टेन्सीमा गएर पनि काम गर्न सकिन्छ । पास आउट भइसकेपछि आफैँ पनि गर्न सकिन्छ । विद्यर्थीहरू पढिसकेपछि काम गर्न आफैँ सक्षम हुन्छन् । यो हिसाबले पनि अहिलेको सिनारियोमा आर्किटेक्चरको स्कोप एकदमै राम्रो छ ।
हरेक वर्ष नयाँ सफ्टवेयर
आर्किटेक्चर एउटा अभ्यासमा आधारित कोर्स हो । सैद्धान्तिक र व्यावहारिक कोर्स पनि सँगसँगै सिकाइन्छ । काठमाडौंबाहिरसमेत आर्किटेक्चर बुझ्न हरेक सेमेस्टरमा भ्रमण गराइरहेका हुन्छौँ । आर्किटेक्चरमा नयाँनयाँ सफ्टवेयरहरू प्रत्येक वर्ष अपडेट भइरहेका हुन्छन् । हामीले मार्केटको माग हेरेर कोर्सबाटै विद्यार्थीलाई नयाँ सफ्टवेयरबारे सिकाइरहेका हुन्छौँ ।
-संगीता सुवेदी
(लेखक सुवेदी एक्मी इन्जिनियरिङ कलेजमा १५ वर्षदेखि अध्यापनरत छिन्)