- 14 November 2024
- २०८१-०७-२९ (बिहिबार)
नेपाल इन्जिनियर्स एशोसिएसन आगामी ३४ औँ केन्द्रीय कार्यकारिणी तथा तेस्रो प्रदेश समिति निर्वाचन भदौ २८ गते परम्परागत रुपमा सम्पन्न हुने तयारीमा छ ।
यो निर्वाचनले इन्जिनियरहरूको प्रतिनिधित्व गर्ने संस्थामा नयाँ नेतृत्व चयन गर्नेछ, जसको मुख्य दायित्व भनेको पेशागत सुरक्षाको सुनिश्चितता, नेपाली इन्जिनियरहरूको भविष्यको मार्गचित्र देखाउने छ भन्ने केही आशा गर्दै यहाँ केही विषय चर्चा गर्न खोजिएको छ ।
वर्षै देखि हामिले इन्जिनियरिङ क्षेत्रमा अनेकौं चुनौतीहरूको सामना गरिरहेका छौं । यसमा न्यूनतम पारिश्रमिकको ग्यारेन्टी नहुनु, पेशागत सुरक्षाको कमी, र भविष्यको सुनिश्चितता नहुनु मुख्य रूपमा रहेको छ ।
इन्जिनियरहरूको पारिश्रमिक न्युनतम आश्यकता भन्दा पनि कम भएकोले धेरैजसो प्राविधिक जनशक्ति संगै इन्जिनियरहरू विदेशमा अवसरको खोजीमा गएका छन् । यसले गर्दा भविश्यमा देशमा दक्ष जनशक्तिको कमी हुने देखिन्छ । जसले देशको पूर्वाधार विकासमा प्रत्यक्ष असर पर्ने छ ।
नेपालमा इन्जिनियरहरूको अवस्था सुधार गर्नका लागि एशोसिएसन मार्फत केही मुख्य एजेण्डाहरू प्रभावकारी रुपमा अघि बढाउन आवश्यकता छ ।
न्युनतम पारिश्रमिकको पुनरावलोकनः नेपालमा इन्जिनियरहरूको तलब संरचना पुरानो र अन्य पेशासँग तुलना गर्दा असमान छ । यसलाई बजारअनुसार पुनरावलोकन गरी तय गर्नआवश्यक छ, ताकि दक्ष इन्जिनियरहरू नेपालमै काम गर्न उत्प्रेरणा मिलोस् । तलब वृद्धिका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक छ, जसले देशमै राम्रो अवसर सिर्जना गर्न सहयोग पुर्याउँछ ।
पेशागत सुरक्षाको सुनिश्चितताः इन्जिनियरहरूको पेशागत सुरक्षा अहिलेको अवस्थामा कमजोर छ । जागिरको स्थायित्व, स्वास्थ्य बीमा, र पेन्सन योजनाहरू जस्ता सुविधा उपलब्ध गराएर पेशागत सुरक्षालाई सुदृढ गर्नुपर्छ । यसले इन्जिनियरहरूलाई नेपालमै दीर्घकालीन करियर निर्माण गर्न सहयोग पुर्याउँछ ।
ब्रेन ड्रेन रोकौं : बढ्दो विदेश पलायनलाई रोक्न, नेपालमा नै गुणस्तरीय रोजगारी र अवसरको सिर्जना गर्नुपर्छ । इन्जिनियरहरूले विदेशमा सिकेका सीप र अनुभवलाई नेपालमै लागू गर्न सकिने वातावरण बनाउनुपर्छ । यसका लागि सरकार र निजी क्षेत्रले मिलेर इन्जिनियरिङ क्षेत्रमा अनुसन्धान, विकास, र नवीनतालाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
दलीय दाउपेचको अन्त्यः नेपाल इन्जिनियर्स एशोसिएसनमा हुने दलीय दाउपेच र आन्तरिक गुटबन्दीले संस्थाको कार्यक्षमता र विश्वसनीयतामा धक्का पुर्याएको छ । गुटबन्दीको अन्त्य गर्दै, सवैको सहभागितामा एकता र सहकार्यमा आधारित नेतृत्व चयन गर्नुपर्ने बेला आएको छ । नयाँ नेतृत्वले पेशागत हितलाई प्राथमिकतामा राख्दै, इन्जिनियरहरूको हकहितको रक्षा गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।
ई. बिज्ञान कार्की
दीर्घकालीन योजना र रणनीतिः इन्जिनियरिङ क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट र दीर्घकालीन योजना आवश्यक छ । यसमा इन्जिनियरहरूको निरन्तर पेशागत विकासका लागि तालिम, सीप अभिवृद्धि, र नवीनता प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
इन्जिनियरहरूको तर्फबाट, हामी एक यस्तो नेतृत्व चाहन्छौं, जसले हाम्रो पेशागत सुरक्षाको सुनिश्चितता गर्ने, नेपालमै रहन र काम गर्न उत्प्रेरित गर्ने, र सक्षम एशोसिएसन निर्माण गर्न सकोस् ।
यसपटकको निर्वाचनले नेपाल इन्जिनियर्स एशोसिएसनको नेतृत्वमा ठोस परिवर्तन ल्याउने छ भन्नेमा हामी जस्ता हजारौ युवा इन्जिनियरले र इन्जिनियर पढदै गरेकाहरुको अपेक्षा गर्न सकियोस् ।
आम इन्जिनियरिङ समुदायको पक्षमा काम गर्न सक्ने नेतृत्व निर्वाचित होस्, शुभकामना ।
लेखक सिभिल इन्जिनियर हुन् ।