- 12 December 2024
- २०८१-०८-२७ (बिहिबार)
सीएसआईटीलाई कम्प्युटर इन्जिनियरको विकल्पका रूपमा लिइन्छ । जसले गर्दा यो कोर्स विद्यार्थीको आकर्षण तथा प्राथमिकतामा परेको छ । कम्प्युटर इन्जिनियर पढ्नुभन्दा यो कोर्स पढ्न कम खर्च लाग्ने भएकाले पनि विद्यार्थीको रोजाइमा परेको हो ।
इन्जिनियरिङ पढेका र सीएसआईटी पढेकाले काम गर्ने क्षेत्र एउटै भएकाले पनि सीएसआईटीमा पछिल्लो समय आकर्षण बढेको देखिन्छ । आईटी क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि राज्यले प्राथमिकता दिएको छ । नयाँ प्रविधिको विकासका लागि राज्यले लगानीको वातावरणसमेत बनाइदिएको छ ।
विश्वसँग प्रतिस्पर्धा गर्न प्रविधि अपरिहार्य छ । जुन देशमा प्रविधिको विकास भएको छ, ती देश आर्थिक रूपमा समृद्ध छन् । यस कारण देशलाई समृद्ध बनाउन नयाँ प्रविधिको खोज अनुसन्धान गर्न सीएसआईटी शिक्षालाई प्रभावकारी बनाउनुपर्छ ।
अर्कोतर्फ पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र तीनवटै सरकारले हरेक कार्यालय प्रविधिमैत्री बनाउँदै लगेका छन् । ती क्षेत्रमा काम गर्न दक्ष जनशक्ति आवश्यक भएकाले सीएसआईटी शिक्षाको महत्व झनै बढेको छ ।
के हो सीएसआईटी र के–के विषय सिकाइन्छ ?
बीएस्सी सीएसआईटी भनेको स्नातक तहअन्तर्गतको कम्प्युटर साइन्स र आईटीबारे अध्ययन तथा अनुसन्धान गराउने शिक्षा हो । आईटी क्षेत्रका लागि चाहिने नयाँ–नयाँ प्रविधिसम्बन्धी खोज तथा अनुसन्धान गर्न सिकाउने शिक्षा हो ।
यो कोर्समा कुनै पनि टेक्नोलोजी के कारणले सफल÷असफल भए भनेर अनुसन्धानका साथै नयाँ टेक्नोलोजी बनाउन सिकाइन्छ । त्यस्तै, कम्प्युटर सिस्टम, एप्लिकेसन, डेभलपमेन्ट र प्रोग्रामिङबारे सिकाइन्छ । तर, एप्लिकेसनको प्रयोगभन्दा पनि अनुसन्धानमा बढी प्राथमिकता दिइन्छ ।
कोर्स कसले पढ्न पाउँछन् ?
११ र १२ मा विज्ञान विषय पढेकाले यो कोर्स पढ्न पाउँछन् । ए लेभल पढेकाले पनि पढ्न पाउँछन् । तर, फिजिक्स, केमेस्ट्री र म्याथ पढेको हुनुपर्छ । इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीले लिने प्रवेश परीक्षा पनि उत्तीर्ण हुनुपर्छ ।
कति वर्षको हुन्छ यो कोर्स ?
बीएस्सी सीएसआईटी स्नातक तहको चारवर्षे कोर्स हो । यसमा आठवटा सेमेस्टर हुन्छन् । त्रिभुवन विश्वविद्यालयले २०६४ सालमा यो कोर्सको डिजाइन गरेको थियो । अहिले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयले यो कोर्स सञ्चालन गरेका छन् ।
कति लाग्छ खर्च ?
४ वर्षे कोर्स पूरा गर्नका लागि ५ देखि १० लाख रुपैयाँ लाग्छ । तर, कलेजले उपलब्ध गराउने सुविधाअनुसार शुल्क फरक पनि हुन सक्छ । आर्थिक अवस्था कमजोर भएका र सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका लागि क्याम्पसले छात्रवृत्ति पनि दिने गरेका छन् ।
इन्टर्नसिप अनिवार्य
यो कोर्समा इन्टर्नसिप अनिवार्य गर्नुपर्छ । आठौँ सेमेस्टरमा कम्तीमा तीन महिना इन्टर्नसिप गर्नुपर्छ । कुनै पनि आईटी कम्पनीमा गएर इन्टर्न गर्न सकिन्छ । त्यस्तै, सफ्टवेयर प्रोजेक्ट पनि अनिवार्य छ । त्यस्तै, अध्ययन अनुसन्धानका लागि कलेजले विद्यार्थीहरूलाई विभिन्न कम्पनीमा पठाउने गरेको छ ।
अवसरका क्षेत्रहरू
सीएसआईटी अध्ययन गरेपछि अवसरका क्षेत्र पनि धेरै छन् । डिजिटल नेपाल अभियान चलाएको सरकार र सेवा निर्यातमा समेत उच्च योगदान दिएको आईटी क्षेत्र रोजगारी र करिअर बनाउनका लागि उचित प्लेटफर्म मान्न सकिन्छ ।
सरकारी कार्यालय, आईटी उद्योग, एप्लिकेसन डेभलपमेन्ट कम्पनी, मोबाइल एप्लिकेसन, ई–कमर्स, आईटी अनुसन्धान, वेब डिजाइन, बैंक, टेलिकमजस्ता क्षेत्रमा काम गर्ने अवसर मिल्छ ।
स्नातक तहको कोर्स गरेपछि मास्टर्स गर्न विद्यार्थी विदेश जाने गरेका छन् । अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देशमा पढ्न, काम गर्न र नयाँ एप्लिकेसनबारे अनुसन्धानका लागि विद्यार्थीहरू जाने गरेका छन् ।
सीएसआईटी ग्लोब कोर्स
सीएसआईटी कम्प्युटर साइन्स र आईटीको मिक्स कोर्स हो । टेक्नोलोजीको प्रयोग र डेभलप कसरी गर्ने भन्ने यस कोर्समा सिकाइन्छ । सीएसआईटी भनेको ग्लोबल विषय हो । जुनसुकै देशका विद्यार्थीले पढ्ने एउटै हो । विश्वमा हेर्ने हो भने कम्प्युटर र आईटीको छुट्टाछुट्टै पढाइ हुन्छ । तर सीएसआईटीमा दुवै पढ्न पाइन्छ । कम्प्युटरको अनुसन्धान वा सफ्टवेयर दुईमध्ये एक रोज्न सकिन्छ ।
- केआर भट्ट