20 April 2025
२०८२-०१-०७ (आइतबार)
काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ पढेका उत्सव सापकोटा आईटी क्षेत्रकै रोजगारीमा आबद्ध छन् । मानिस दैनिक कामलाई सहज र सरल बनाउन आईटीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा सम्भावना देखेर नै उनी यो कोर्स पढेको बताउँछन् ।
स्नातक तहको कोर्स नेपालमै गरेर एक वर्ष उनले आईटी कम्पनीमा काम गरे । तर, उनी मास्टर्स लेभलको अध्ययन गर्नका लागि भने अमेरिका गएका छन् । आईटीको सम्भावना र अवसर विश्वमै रहेको उनी देख्छन् ।
‘आईटी क्षेत्रमा आफैँले केही गर्ने सपना छ,’ उनी आफ्नो योजना सुनाउँछन्, ‘यो विषयको अध्ययनबाट अरुको काम होइन कि अरुलाई काम दिने गरी आईटी क्षेत्रको विकासमा लाग्न सकिन्छ, म त्यही योजनामा छु ।’
दु्रत गतिमा विश्वमा विकास भएको प्रविधिको विकास र प्रयोगमा नेपाल अझै पनि पछि परेको देखिन्छ । यद्यपि गाउँगाउँमा इन्टरनेटको विस्तार हुने चरणमा छ । सरकारी होस् वा प्राइभेट, जुन क्षेत्रबाट पनि जनतालाई सेवा दिन प्रविधिको प्रयोग गर्न सुरु गरिएको छ । प्रविधिको प्रयोगलाई प्राथमिकता दिइए पनि अझै पनि गुणस्तरीय सेवा उपलब्ध गराउन भने सकिरहेको अवस्था छैन । प्रविधिबाट दिइने सेवाका लागि दक्ष जनशक्ति आवश्यक छ । दक्ष जनशक्ति उत्पादनका लागि आईटी महत्वपूर्ण कोर्स भएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।
विकासोन्मुख देश नेपालमा सूचना प्रविधिको पूर्वाधार विकास गर्न अझै बाँकी नै छ । यसका लागि ठूलो लगानीको आवश्यक पर्छ । यसो गर्न सकिएको खण्डमा आईसीटीको क्षेत्रमा फराकिलो सम्भावना र अवसर छ । त्यसबाहेक विदेशमा त कम्प्युटर इन्जिनियरले राम्रो अवसर पाउने गरेका छन् । सफ्टवेयर डिजाइन, प्रोगामिङ्, साइबर सेक्युरिटीलगायत विभिन्न क्षेत्रमा काम गर्न सकिन्छ ।
तर, नेपालमा भने थप काम गर्न आवश्यक देखिन्छ । ‘कम्प्युटर र आईटीमा विद्यार्थीको आकर्षण भए पनि काम गर्ने क्षेत्र यकिन नहुँदा विद्यार्थी पनि अलमलमा छन्,’ राष्ट्रिय योजना आयोगका आईटीविज्ञ डा. गणेश गौतम भन्छन्, ‘यसका लागि राज्यले कम्प्युटर र आईटी उद्योग स्थापना र सञ्चालनलाई प्राथमिकता दिनुपर्छ ।’
विकास र समृद्धिका लागि आईटी
नेपाल विकासको चरणमा छ । यो युग भनेकै सूचना प्रविधिको हो । विकासका काम छिटोछरितो सम्पन्न गर्न र गुणस्तरीय बनाउन आईटीको भूमिका महत्वपूर्ण हुन्छ । टेक्नोलोजीमा पछाडि परेका देश विकासमा झनै पछि परेका छन् । प्रविधिलाई प्रयोग गरेर काम गर्ने हो भने विकास धेरै पर छैन ।
विश्वमा दिनप्रतिदिन नयाँनयाँ प्रविधिको खोज अनुसन्धानसँगै आविष्कार भइरहेका छन् । नेपालजस्तो देशमा कस्तो टेक्नोलोजी आवश्यक छ ? त्यसको फाइदा या घाटा के छ ? कसरी नयाँ प्रविधिको विकास गर्ने ? यस्ता विषयमा अनुसन्धानका लागि आईटी शिक्षा महत्वपूर्ण छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार आईटी क्षेत्रले नेपालको कुल जीडीपीमा १ दशमलव ४ प्रतिशत योगदान गरिरहेको छ ।
‘नेपालमा आईटीको बजार कति छ भन्ने यसले देखाउँछ । आईटी क्षेत्रमा काम गरिरहेका जति पनि कम्पनी सम्पर्कमा छन्, त्यहाँ जनशक्तिको अभाव छ,’ एक्मीका प्रधानाध्यापक प्रदीपकुमार पौडेलले भन्छन् ।
टेक्नोलोजीले नछोएको कुनै क्षेत्र छैन । मानिस टेक्नोलोजीको भर पर्न थालेको छ । अहिले जुनसुकै कार्यालयमा गयो भने कम्प्युटरको माध्यमबाट अनलाइन काम हुन थालेको छ । छिटोछरितो रूपमा काम गर्न टेक्नोलोजीको प्रयोग गरिन्छ । कम्प्युटर भएर मात्र हुँदैन, त्यसलाई प्रयोग गर्न पनि जान्नुपर्छ ।
नेपालमा विकासका काम धेरै बाँकी छन् । आईटीबिना ती कार्य सम्पन्न गर्न असम्भव छ । आईटीलाई प्राथमिकता नदिने हो भने हामी अझै धेरै पछि पर्छौं । देशलाई समृद्ध बनाउने क्षेत्र पनि आईटी हो । नयाँनयाँ प्रविधिको खोज, अनुसन्धान र निर्माण गर्नुपर्छ । ती विषयमा कम्प्युटर इन्जिनियरिङमा बृहत् रूपमा अध्ययन र अनुसन्धान हुन जरुरी हुन्छ ।
अवसरका क्षेत्र पनि धेरै छन् । पछिल्लो समय जुनसुकै कम्पनी वा कार्यालय, सबै आईटीमै निर्भर छन् । ती क्षेत्रमा काम गर्न दक्ष जनशक्ति उत्पादनका लागि कम्प्युटर इन्जिनियरिङ महत्वपूर्ण मानिन्छ ।
नेपालमा आईटीको महत्व बढ्दो
'मुलुकमा आईटीको महत्व र प्रयोग दिनप्रतिदिन बढ्दो छ । झनै विकासोन्मुख देशमा आईटीको महत्व धेरै नै हुन्छ । अन्य देशको तुलनामा नेपालले सोचेअनुसार आईटीमा फड्को मार्न भने सकेको छैन । तर, अध्ययन र अनुसन्धानको काम भने सुरु भएको छ । यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । आईटीको माध्यमबाट काम गर्ने नागरिकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । मानिस नयाँनयाँ प्रविधिको प्रयोग गर्न रुचाउँछन् । प्रविधिको विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न कम्प्युटर इन्जिनियरिङ महत्वपूर्ण मानिन्छ ।
नेपालमा सम्भावना बढ्दै गएको छ । सफ्टवेयरमा काम गर्नुपर्ने धेरै चीजहरू छन् । जस्तोः सरकारी क्षेत्रमा अटोमेटिक चीजहरू बनाउने, सफ्टवेयर प्रणालीको विकास गर्ने कामहरू छन्,’ आईटीविज्ञ डा. गौतम भन्छन् ।
नेपालजस्तो भौगोलिक विकटता भएको देशमा कम्प्युटर इन्जिनियरको आवश्यकता बढी नै हुन्छ । विकटताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सकिँदैन । भौतिक संरचना तत्काल बनाउन पनि सकिँदैन । त्यस्तो ठाउँमा आईटीको माध्यमबाट सेवा सुविधा पुर्याउन सकिन्छ । संघीयताको मर्मलाई सफल बनाउन पनि आईटीको भूमिका महत्वपूर्ण हुन्छ । इन्टरनेटको माध्यमबाट सेवा प्रवाह गर्न सकिन्छ । ई–गभर्नेन्स पनि महत्वपूर्ण पक्ष हो । यसले संघीयतालाई सफल बनाउन सक्छ ।
सूचना प्रविधि आजको आधुनिक जगत्को एक गतिशील, विकसित र फराकिलो क्षेत्र हो । यसले क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बल्कचेन, क्वान्टम कम्प्युटिङ, सूचना भण्डारण, प्रसारण, प्रशोधन, व्यवस्थापनलगायत विभिन्न विधा र दायराहरूलाई समेटेको छ ।
हाम्रा विभिन्न जटिल कार्यहरूलाई सहज एवं सरलीकरण गरेको छ । साथै, विभिन्न वैज्ञानिक खोज र अनुसन्धानहरूलाई समेत निष्कर्षमा पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । हामीले विभिन्न देशमा रहेका परिवारजन, साथीभाइहरूसँग अन्तक्र्रिया गर्नेदेखि लिएर विश्वको एक कुनामा रहेका उपकरणहरूलाई विश्वको अर्को कुनाबाट नियन्त्रण वा निगरानी गर्न सहज गराएको छ ।
सूचना प्रविधिको माध्यमबाट अफिसमा वा अन्यत्र बसेर आफ्नो घरमा रहेका बत्ती, पानी तान्ने मेसिन, फ्रिजलगायत उपकरणहरूलाई नियन्त्रण गर्न सक्नु अब कुनै अनौठो विषय रहेन ।
नेपालको सन्दर्भमा, सूचना प्रविधिको क्षेत्रलाई नवउदीयमान र सम्भावना बोकेको क्षेत्रको रूपमा हेर्न सकिन्छ । मुख्यतया नेपालका कम्पनीहरूले नेपालका साथसाथै विश्वका विकसित देशहरूमा समेत आफ्नो सेवा प्रदान गरेर नेपालको अर्थतन्त्रमा योगदान गरिरहेका छन् ।
विभिन्न चुनौतीका बावजुद नेपाली कम्पनीहरूले सरकारी र निजी पहलमा डिजिटलाइजेसनका प्रयासहरू चालिरहेका छन् । उदाहरणको रूपमा हेर्ने हो भेन डिजिटल पेमेन्ट एपहरू, नेपालका बैंकिङ एपहरू, नेपाल सरकारका एपहरूलाई लिन सकिन्छ ।
सरकारले पनि नागरिक एप सञ्चालनमा ल्याएको छ । यसले सरकारी कामहरूलाई सहज बनाउँदै ल्याएको छ । अझै पनि धेरै सेवाहरूलाई डिजिटलाइजेसन गर्न बाँकी रहेकाले आईटी क्षेत्रलाई प्रचुर सम्भावना बोकेको क्षेत्रको रूपमा लिन सकिन्छ ।
नेपालमा सूचना प्रविधि विषयको अध्ययन, अध्यापन गर्न विभिन्न विश्वविद्यालय, आंगिक क्याम्पसहरू र सम्बन्धनप्राप्त क्याम्पसहरू सयौँको संख्यामा सञ्चालनमा छन् ।
नेपालका शैक्षिक संस्थाहरू यस क्षेत्रको विभिन्न विधामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सक्षम छन् । दक्ष जनशक्तिको माग नेपाली बजार र विश्व बजारमा नै उच्च छ ।
केही वर्षदेखिको ट्रेन्ड हेर्ने हो भने नेपालका विश्वविद्यालयहरूमा कम्प्युटर इन्जिनियरिङ र साइन्सका सिटहरू अरुभन्दा धेरै छिटो भरिन्छन् र धेरै अंक प्राप्त गर्ने विद्यार्थीले मात्र यी विषयहरू अध्ययन गर्न पाइरहेका छन् । नेपालका आईटी कम्पनीहरूले प्रदान गर्ने उच्च तलब सुविधाले गर्दा पनि यस क्षेत्रमा अहिले आकर्षण निकै नै बढेको छ ।