२१ वर्षदेखि अनवरत इन्जिनियरिङ पढाइरहेको एभरेस्ट कलेज


Posted: Nov. 10, 2023
  Engineers Nepal

ललितपुरको सानेपामा अवस्थित एभरेस्ट इन्जिनियरिङ कलेज सन् २००१ मा स्थापना भएको हो । यो २१ वर्षको अवधिमा नामी कलेजको रूपमा स्थापित भएको छ ।  कलेजले तीनवटा फरक फरक इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

‘मुख्यत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र ब्याचलर इन आईटी इन्जिनियरिङका कार्यक्रम सञ्चालनमा छन् । तीनवटै कार्यक्रमको कोर्स पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेर सञ्चालन गरेको हो । अहिले हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्,’ प्रिन्सिपल विरोध रिजाल भन्छन् । 

उत्तीर्ण भएका विद्यार्थी विभिन्न क्षेत्रमा विभिन्न पदमा काम गरिरहेको उनी बताउँछन् । ‘देशविदेशमा बसेर काम गरिरहेका छन् । सिभिलतर्फ पछिल्लो वर्षदेखि पास आउटहरू मार्केटमा गएर काम गरिरहेका छन्,’ उनी भन्छन् । 

कलेजको भवन, ल्याब कक्ष, खेल मैदान, बास्केट बल कोर्ट, टेबुलटेनिस खेल्ने ठाउँ, सुविधासम्पन्न पुस्तकालय, रिसर्च सेन्टर, कम्प्युटरसहितको पढ्ने ठाउँ छ । ‘कम्प्युटरको मोडर्न ल्याबोरेटरिज छ । जहाँ ५० जनासम्मलाई लाइभ पढाउने र प्राक्टिकल पनि गराउने खालका कक्षा पनि सञ्चालनमा छन्,’ प्रिन्सिपल रिजाल भन्छन् । 

कलेजले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको  छ । ‘ललितपुर महानगरपालिकासँगको सम्झौताअनुसार प्रत्येक विधामा एक जनालाई पूर्ण छात्रवृत्ति दिँदै आएका छौँ,’ प्रिन्सिपल रिजाल भन्छन्, ‘यसबाहेक मेरिटअनुसार जेहेनदार, विपन्नताको हिसाबले पनि प्रत्येक वर्ष बढाएरै छात्रवृत्ति दिने गरेका छौँ ।’

एभरेस्ट कलेजमा आर्थिक रूपमा कमजोर धेरै विद्यार्थी अध्ययनरत छन् । ‘जेहेनदार विद्यार्थीले सहुलियत पाइरहेका छन्,’ प्रिन्सिपल रिजाल भन्छन् । कम्प्युटर, आईटी र सिभिल आकर्षणको विषय भएकाले उत्तीर्ण हुनेबित्तिकै रोजगारीको सुनिश्चितता हुने प्रिन्सिपल रिजाल दाबी गर्छन् । ‘कलेजले अभ्यास गराउँदै कोर्स पूरा गराउने भएकाले तुरुन्तै जागिरको अवसर पाइन्छ,’ प्रिन्सिपल रिजाल भन्छन् । 

सिभिलको पहिलेदेखि नै राम्रो सम्भावना भएको विषय देख्छन् उनी । ‘कम्प्युटर पछिल्लो समय फस्टाउँदै गएको विषय हो । आईटीका सयौँ कम्पनी खुलेका छन् । कतिपयमा बाहिरको काम नेपालमै बसेर गर्न मिल्छ । आईटी र कम्प्युटरको पाठ्यक्रम पढ्दै जाँदा गराउने अभ्यासले बजारमा काम गर्न सक्षम भइसकेको हुन्छ,’ उनी भन्छन् । 

ठूला कम्पनीहरूले थप तालिम पनि दिने गरेका छन् । ‘त्यो हिसाबले हाम्रा जति पनि विद्यार्थी पासआउट भएका छन्, नेपालका थुप्रै कम्पनीमा जागिर खाइरहेका छन् । अघिल्लो र त्यसअगाडिको हेर्ने हो भने जागिर नपाउने अवस्था छैन । यसका लागि कलेजले पनि धेरै आईटी कम्पनीसँग सम्झौता गरेको छ,’ प्रिन्सिपल रिजाल भन्छन्, ‘विद्यार्थीलाई कम्पनीसँग जोड्ने काम कलेजले गर्छ ।’

बीई आईटीमा आकर्षण 

एभरेस्टले सञ्चालन गरिरहेको आईटी कोर्समा विद्यार्थीको आकर्षण छ । ‘आईटी विश्वमै फस्टाइरहेको क्षेत्र हो । आईटीका धेरै भेरियसन छन् । एभरेस्टमा बीईआईटी छ । यो प्राविधिक विषयको शाब्दिक अर्थ ब्याचलर इन्जिनियरिङ इन आईटी हो । यसले इन्जिनियरिङ समस्या समाधान गर्न सिकाउँछ,’ उनी भन्छन् । 

गएको वर्ष यसको पाठ्यक्रम अपडेटेड गरिएको छ । पाठ्यक्रममा फस्टाउँदै आएको एआई क्षेत्रलाई पनि केन्द्रित गरिएको छ ।  ‘यो मेसिन लर्निङसँग जोडिन्छ । कम्प्युटर नेटवर्कसँग सम्बन्धित कुराहरू छन् । डाटा, नेकवर्क र साइबर सेक्युरिटी, डिजिटल फरेन्सिकका कुराहरू आउँछन्,’ प्रिन्सिपल रिजाल भन्छन् । 

क्लाउड कम्प्युटिङसँग सम्बन्धित भौतिक संरचनाबारे पनि बीई इन्जिनियरिङमा पढ्न पाइने बताउँछन् प्रिन्सिपल रिजाल । ‘इन्जिनियरिङको म्याथमेटिक फरम्याट, एनालिटिकल स्किल विकाससँग सम्बन्धित विषय पनि पढ्न पाइन्छ । इन्जिनियरिङका साथै सोलुसन डिजाइन, आर्किटेक्चरिङ गर्ने पक्ष पनि दक्ष भएर ग्राजुयट हुन सक्छन् । अरु आईटी कार्यक्रमभन्दा बीई आईटीको यो अतिरिक्त विशेषता हो,’ उनी भन्छन् । 

किन पढ्ने ?

यो विषय पढ्दा रोजगारको सुनिश्चितता भएकाले पढ्न सुझाउँछन् प्रिन्सिपल रिजाल । ‘यो विषयको सम्भावना बढ्दै गएको छ । रोजगारीका लागि दक्ष बनाउने विषयहरू छन् । जस्तो एड्भान्स इन जाभा छ । यस्तो कोर्स पढिसकेपछि सिधै काम गर्न सकिन्छ । बैंकिङ, नेटवर्किङ, कम्पनीमा जागिर खान सकिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि काम गर्न सकिन्छ,’ उनी भन्छन् । 
नेपालको स्थानीय पालिकामा पनि कामको अवसर रहेको उनी बताउँछन् । ‘नेपालमा ७५३ वटा पालिका छन् । डेटा, सफ्टवेयर व्यवस्थापन गर्न सक्नेगरी दक्ष बनाउने काम यो कोर्सले गर्छ । दोस्रो आफैँ व्यवसाय गर्न मिल्छ,’ उनी भन्छन्, ‘त्यसभन्दा माथि ज्ञान अभिवृद्धि हो । नयाँ अनुसन्धानको काम हुन सक्छ । यो विषय पढिसकेपछि जहाँ पनि खपत हुन सक्छ ।’
यो विषय प्लस टुमा फिजिक्स र म्याथमेटिक्स गरेकाले पढ्न पाउने उनी बताउँछन् । ‘समग्रमा चलेकै शुल्कका आधारमा पढ्न पाइन्छ,’ उनी भन्छन् । 

अरु कोर्समा के फरक छ ?

सन् १९७० मा कम्प्युटर इन्जिनियरिङले जे पढ्नुपथ्र्याे, त्यो अहिले पढ्न नपर्ने बताउँछन् प्रिन्सिपल रिजाल ।  ‘त्यतिखेर विद्युतीय हार्डवेयरको कुरा पढ्नुपथ्र्याे । अहिले कुनै बिजनेसको समस्या बुझ्न सफ्टवेयर बनाउनुपर्छ । कोर हार्डवेयरमा जानु पर्दैन । अहिलेको आवश्यकता एप्लिकेसन सिस्टमको विकास, सफ्टवेयर सिस्टम बनाउने, त्यसको सुरक्षा, डेटा र भौतिक संरचनाको व्यवस्थापनको कुरातिर फोकस हुने हो,’ उनी भन्छन् । 

एआई, क्लाउडिङ, डेटा सुरक्षाको ट्रेन्डलाई सहयोग हुने गरेर हाल सिलेबस अपडेट गरिएको प्रिन्सिपल रिजाल बताउँछन् । ‘सिधै मार्केटमा गएर काम गर्ने जनशक्ति तयार पार्न मद्दत गर्छ । यो सिलेबस ज्ञानसँगै सीपसँग पनि जोडिन्छ । अतिरिक्त तालिम, वर्कसपहरू, ह्याकाथन, रोबोटिक्सको अभ्यास, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पठाउने, सामाजिक प्रभाव पार्ने अभ्यासहरू गराउने पनि गरिन्छ,’ प्रिन्सिपल रिजाल भन्छन् । पोखरा विश्वविद्यालयको मूल्यांकन प्रणाली राम्रो रहेको बताउँछन् उनी । ‘५० प्रतिशत आन्तरिक र ५० प्रतिशत अतिरिक्त गरेर मूल्यांकन हुन्छ,’ उनी भन्छन् । 
 






Leave a comment




Comments