19 March 2025
२०८१-१२-०५ (बुधवार)
कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरू स्नातकमा के पढ्ने ? कुन विषय पढ्ने भनेर कलेजकलेज दौडिरहेका हुन्छन् । आफूभन्दा सिनियरहरूसँग बुझिरहेका हुन्छन् । पढेपछि अवसर के छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विषय छ कि छैन ? विद्यार्थीहरू प्रश्नको घेरामा रुमल्लिएका हुन्छन् । कक्षा १२ मा विज्ञान विषय पढेका र स्नातक पढ्ने तयारीमा रहेका विद्यार्थीले पढ्न सक्ने महत्वपूर्ण विषयमध्ये कम्प्युटर इन्जिनियरिङ पनि एक हो ।
कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । अन्तर्राष्ट्रिय बजारमा पनि माग धेरै भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको हो । बजारमा नयाँ–नयाँ प्रविधिको माग छ । मानिस थोरै समयमा धेरै काम गर्न चाहन्छन् । त्यसैले शारीरिक बलको प्रयोगभन्दा पनि प्रविधिको प्रयोग गरिन्छ ।
हरेक कार्यालय प्रविधिमैत्री बनाउन राज्यले सुरु गरेको छ । ती सबै क्षेत्रमा काम गर्न दक्ष जनशक्ति आवश्यक भएकाले कम्प्युटर इन्जिनियरिङ शिक्षाको माग बढेको हो ।
सफ्टवेयर र हार्डवेयरबारे अध्ययन
कम्प्युटर इन्जिनियरिङ कम्प्युटरको सफ्टवेयर र हार्डवेयरबारे अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा हो । नयाँ कम्प्युटर कस्तो बनाउने ? त्यो कम्प्युटरका लागि कस्तो सफ्टवेयर आवश्यक छ ? आईटी क्षेत्रमा विश्वमा के हुँदै छ ? नयाँ–नयाँ प्रविधिको खोज तथा अनुसन्धान गर्ने र मानिसले गर्ने कामलाई प्रविधिबाट सहज बनाउन सिकाउने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो । सैद्धान्तिक कुरालाई प्रयोगात्मक रूपमा उतारेर जे समस्या छ, त्यसको समाधान प्रविधिबाट गर्न सिकाउने शिक्षा नै कम्प्युटर इन्जिनियरिङ हो ।
कतिपय काममा सिभिल, आर्किटेक्ट र मेकानिकल इन्जिनियरिङजस्ता विषय अध्ययन गरे पनि त्यो क्षेत्रको काम कम्प्युटर प्रोग्रामिङको माध्यमबाट हुन्छ । ती कामका लागि कम्प्युटर इन्जिनियरिङले सहज बनाइरहेको हुन्छ ।
सिभिल इन्जिनियरले पुल बनाउँछन् । तर, त्यो पुल ठीक छ कि छैन भनेर कम्प्युटरको सफ्टवेयरबाट पहिले परीक्षण गरिन्छ । यसबाट फिजिबल भएपछि मात्र पुल बनाउने हो । त्यो सफ्टवेयर कम्प्युटर इन्जिनियरले बनाउँछन् । यहाँ दक्ष कम्प्युटर इन्जिनियर उत्पादन गर्ने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो ।
छात्रवृत्तिको व्यवस्था
गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । त्रिभुवन विश्वविद्यालयले निजी कलेजहरूमा कोटाको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । विश्वविद्यालयले लिने प्रवेश परीक्षामा बढी अंक ल्याएका र समानुपातिक प्रणालीका आधारमा छात्रवृत्ति दिइन्छ । विद्यार्थीलाई प्रोत्साहन गर्न पनि क्याम्पसहरूले सेमेस्टर टपरलाई पनि छात्रवृत्तिको व्यवस्था गरेका छन् ।
प्राक्टिकलमा जोड
यो विषय आईटीसँग सम्बन्धित कोर्स भएकाले प्राक्टिकल र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइन्छ । विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेपछि कार्यक्षेत्रमा गएर सहजै काम गर्न सक्ने गरी प्राक्टिकल र प्रोजेक्ट वर्क गराइन्छ ।
फराकिलो अवसर
आईटीसँग सम्बन्धित धेरै क्षेत्रमा काम गर्न सकिन्छ । सरकारी कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण आईटी कम्पनी, हार्डवेयर, सफ्टवेयर डेभलप, वेब एप, नेटवर्किङ, बैंक, फाइनान्सजस्ता क्षेत्रमा कामको अवसर मिल्छ ।
स्नातक तहको कम्प्युटर इन्जिनियरिङ गरेका धेरै विद्यार्थी विदेश पुगेका छन् । नेपालमा बस्नेले पनि आउट सोर्सिङ कामहरू गरेर पर्याप्त आम्दानी गरेका छन् । कतिपयले आफ्नै स्टार्टअपसमेत सुरु गरेका छन् ।
मास्टर्स लेभल पढ्न र काम गर्न प्राविधिक विषय अध्ययन गरेका विद्यार्थी विदेश जाने गरेका छन् । पछिल्लो वर्षमा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, युरोपमा धेरै नेपाली विद्यार्थी पुगेका छन् ।
-केआर भट्ट