21 May 2025
२०८२-०२-०८ (बुधवार)
वैशाख १२ गते २०७२ को भीषण भूकम्पले नेपाली जनताको मनमा अहिले सम्म पीडा छाडेको छ। त्यस दिनको कम्पनले लाखौंको सपना ढालेको थियो। कतिको छानो खस्यो, कतिको हाँसो गयो, कसैको आफन्त खोस्यो, अनि हजारौं घाइते बने।
एक दशक बित्दा पनि भूकम्पले सिर्जना गरेका घाउ निको भएका छैनन्। राजधानीका गल्लीगल्लीदेखि पहाडका गाउँसम्म अहिले पनि भत्किएका घरहरू ठडिएका छैनन्। जहाँ घरभन्दा पनि बढी सम्झनाहरू ढलेका थिए, त्यहाँ अहिले पनि पुनर्निर्माणको पर्खाइ छ।
वि.सं. २०७२ को भूकम्पले ८,९७९ जनाको ज्यान लियो, २२,३०९ जना घाइते भए। १० लाखभन्दा बढी घर, ७,५५३ विद्यालय, ५४४ स्वास्थ्य संस्था पूर्ण रूपमा ध्वस्त भए। यसैगरी ९२० सांस्कृतिक सम्पदा, ४१५ सरकारी भवन र ३,२१२ खानेपानी संरचनामा पनि ठूलो क्षति भएको थियो।
सरकारले निजी आवास पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान दिएको छ। अहिलेसम्म ८ लाख ३४ हजार २६७ लाभार्थीले पहिलो किस्ता पाएका छन्। तर, धेरैले आर्थिक अभावका कारण घर नबनाउन सकेका छन्। "थप रकम जुटाउन नसक्नेले ढिलो गरे," भन्छन् सहरी विकास विभागका प्रकाश अर्याल।
धरहरा जस्तै प्रतिष्ठित संरचनाको पुनर्निर्माण पनि १४% बाँकी छ। पुरातत्व विभागले विश्व सम्पदा क्षेत्रका १७० संरचनामध्ये ८१५ को मर्मत सम्पन्न गरेको छ, तर ५३१ बाँकी छन्। "परम्परागत सामग्रीको अभावले पुनर्निर्माण ढिलो भएको हो," भन्छन् पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग।
भूकम्पविद् डा. लोकविजय अधिकारीले भन्छन्, "२०७२ को भूकम्पले हामीलाई सुरक्षित निर्माण, खुला स्थान र पूर्वतयारीको महत्त्व सिकायो। तर, अहिले पनि धेरै कुरा सिक्न बाँकी छ।"
मनोचिकित्सक डा. वासुदेव कार्कीले भूकम्पपछिको मनोवैज्ञानिक आघात अहिले सम्म कायम रहेको बताउँछन्। "सानो झट्कामा पनि मानिसहरू आत्तिन्छन्। यसको मनोसामाजिक प्रभावलाई नजरअन्दाज गर्न हुँदैन," उनले भने।