- 15 November 2024
- २०८१-०७-३० (शुक्रबार)
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका एक सय दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सय दिनको उपलब्धि विवरण सार्वजनिक गरेका हुन् । एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये ८ ओटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको जनाइएको छ ।
‘पुनर्निर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन’
वर्षात र बाढीको प्रकोपका कारण सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालले उल्लेख गरे । वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि थप १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ति संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरूसँग छलफल भइ रहेको समेत मन्त्री दाहालले बताए । तर, दातृनिकायहरूको मात्र भर नपरी मन्त्रालयले आफ्नै श्रोतबाट भए पनि पुनर्निर्माण कार्यलाई अघि बढाउने उनको भनाइ छ ।
नीतिगत र कानुनी कार्यहरू प्राथमिकतामा
मन्त्रालयले यस सय दिनको अवधिमा सरकारले नीतिगत र कानुनी कार्यहरूलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए । नीतिगत, सुशासन र कानुनी सुधार तर्फ सय दिनको अवधिमा ७ उपलब्त्रि प्राप्त भएका छन् ।
राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने, डिप्लोमा ईन्जिनियरिङ परिषद गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने लगायतका काम यस अवधिमा भएका छन् । यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले ३ नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नु पर्ने गरी पहिचान समेत गरेको छ ।