- 14 November 2024
- २०८१-०७-२९ (बिहिबार)
नेपालका युवाहरूको तीव्र विदेश पलायन एउटा गम्भीर सामाजिक र आर्थिक मुद्दा बनेको छ । यसले मुलुकको जनशक्ति, सामाजिक संरचना, र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ ।
नेपालका युवाहरू किन युरोप र पश्चिमी देशहरूमा बसाई सर्ने गरेका छन्, यसले नेपालका लागि के प्रभाव पार्न सक्छ भन्ने कुरालाई गम्भीर रुपमा विश्लेषण गर्नुपर्ने आजको आवश्यकता हो । राज्य पक्ष र राज्यका निकाय यस वारेमा गम्भीर भएको महसुस गर्न सकिएको छैन ।
नयाँ र पुराना दलका राजनैतिक भाषण र दस्तावेजमा विदेश गएकालाई स्वदेश फिर्ता गराउने भन्ने भेटिन्छ तर व्यवहारमा त्यसको लागि स्पष्ट खाका कसैले प्रस्तुत गरेका छैनन् । देश छाडेर गएकालाई देशमा फर्काउने एउटा पाटो हो भने देशमै रहेकालाई यही रहन सक्ने वनाउने अर्को पाटो हो ।
रोजगारीको अभाव र आर्थिक अवसर
नेपालमा बेरोजगारी उच्च रहेको तथ्यांकले देखाउने गरेको छ । विशेषगरी शिक्षित युवामा यो समस्या गम्भीर छ । स्नातक र स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूले पनि राम्रो रोजगार नपाउँदा विदेश जाने योजना बनाउन बाध्य हुन्छन् । नेपालमा औद्योगिक र सेवामूलक क्षेत्रहरू विकासमा कमजोर रहेका कारण रोजगारी सिर्जनामा समस्या छ । २०२३ को तथ्यांक अनुसार, हरेक वर्ष करिब ४ लाख नयाँ श्रम शक्ति रोजगार बजारमा प्रवेश गर्छ, तर उपलब्ध अवसरहरू न्यून छन् ।
विदेशमा गएका युवाहरूले राम्रो तलब पाउ“छन्, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ । उनीहरू परिवारलाई आर्थिक सहयोग गर्न सक्छन्, जसले नेपालमा रहेका तिनका परिवारको जीवनस्तरमा पनि सुधार ल्याउँछ । तर, यो क्रम दीर्घकालीन रूपमा हेर्दा मुलुकको उत्पादक जनशक्ति गुमाउँदै गएको देखिन्छ ।
शिक्षा र सीपको लागि अवसर
नेपालमा उच्च शिक्षाको गुणस्तर र रोजगारीस“ग सम्बन्धित सीपहरू प्राप्त गर्न सहज छैन । युरोप र पश्चिमी देशहरूमा विश्वस्तरीय शिक्षण संस्थाहरू र अनुसन्धानका अवसरहरू छन्, जसले नेपाली युवालाई आकर्षित गर्छ । यसबाहेक, त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि छात्रवृत्ति, पोस्ट–ग्राजुएट कामको अवसर, र स्थायी बसोबासको प्रक्रियामा सजिलो हुने भएकाले धेरैले विदेश जाने सोच बनाउने गरेका छन् ।
विदेशमा अध्ययन गर्न जाने युवा शिक्षित र दक्ष जनशक्ति हुन्, तर अध्ययनपछि उनीहरू प्रायः नेपाल फर्किंदैनन् । यसले गर्दा मुलुकले योग्य जनशक्ति गुमाउँछ, र यो “ब्रेन ड्रेन” (मस्तिष्क पलायन) नेपालको दीर्घकालीन विकासका लागि अवरोध बन्न सक्छ ।
राजनीतिक अस्थिरता र भविष्यको अन्योल
नेपालमा लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरताले सरकारी योजना र कार्यक्रमहरू निरन्तरता पाउन सकेका छैनन् । अस्थिर राजनीतिक अवस्था, भ्रष्टाचार, र नीतिगत अस्थिरताले गर्दा धेरै युवाहरूले आफ्नो भविष्य नेपालमा सुरक्षित देख्दैनन् । रोजगारीका अवसरहरू कम हुनु र व्यावसायिक लगानीको वातावरण अस्थिर रहनु पनि विदेश पलायनको एउटा ठूलो कारण हो ।
विदेशमा राजनीतिक स्थिरता र राम्रो सामाजिक सुरक्षा व्यवस्था रहेको कारण धेरै नेपाली युवाहरू त्यहाँ जान चाहन्छन् । युरोपेली देशहरूमा निःशुल्क स्वास्थ्य सेवा, बेरोजगारी भत्ता, र पेन्सन जस्ता सामाजिक सुरक्षा प्रणाली भएका कारण तिनीहरूलाई त्यहा“को जीवन सहज लाग्ने गरेको छ ।
रेमिट्यान्सको भूमिका
विदेश जाने युवाहरूले नेपालमा विप्रेषण पठाउने गर्छन्, जसले नेपाललाई आर्थिक रूपमा लाभ दिएको छ । विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो । सन् २०२३ मा मात्र नेपालले करिब १० खर्ब रुपैयाँ भन्दा बढी विप्रेषण प्राप्त गरेको थियो, जसले देशको आर्थिक स्थिरतामा ठूलो भूमिका खेलेको छ। यो पैसा गाउँ –गाउँ सम्म पुगेर घरेलु अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको छ ।
तर, दीर्घकालीन रूपमा यस प्रकारको निर्भरता हानिकारक छ । विप्रेषणले मुलुकलाई अल्पकालीन राहत दिन सक्छ, तर उत्पादनशील क्षेत्रहरूमा लगानी र रोजगारी सिर्जनामा ध्यान नदिएमा भविष्यमा यो निर्भरता संकटको कारण बन्न सक्छ ।
सामाजिक प्रतिष्ठा र जीवनस्तर
विदेशमा काम गर्ने वा बस्ने मानिसलाई नेपालमा समाजले विशेष सम्मानको दृष्टिकोणले हेर्छ । विदेश गएर पैसा कमाउने र समाजमा उच्च आर्थिक स्तर प्रदर्शन गर्ने चलनले पनि धेरै युवाहरूलाई विदेश जाने प्रेरणा दिन्छ । विदेशबाट पठाइएको पैसा र जीवनशैलीले गर्दा समाजमा “आर्थिक सफलताको” परिभाषा नै बदलिएको छ ।
तर, यो ‘सामाजिक दबाब’ दीर्घकालीन रूपमा देशभित्रका युवाहरूलाई विदेश पलायन गर्न थप प्रेरित गर्दैछ, जसले गर्दा समाजको मानसिकता नै विदेश पलायनतर्फ केन्द्रित हुन थालेको छ । विदेश गएका युवाहरुको नेपालमा रहेका परिवारको रहन सहन, भौतिक विलासिताले नेपालमा रहेर संघर्ष गरिरहेकाहरु माथि केही गर्न नसकेको भन्ने भाष्य निर्माण गरि मनोसामाजिक दवाव वढाउने गरेको छ ।
नेपालका लागि यो प्रवृत्ति लाभदायक हो कि हानिकारक ?
नेपालबाट युवाहरूको विदेश पलायनले छोटो अवधिमा केही सकारात्मक प्रभाव ल्याएको छ । विप्रेषणले अर्थतन्त्रमा सहयोग पुर्याएको छ, र कतिपय परिवारले आर्थिक समृद्धि हासिल गरेका त छन् । तर, दीर्घकालीन रूपमा हेर्दा यसले नेपालको विकासलाई रोक लगाइरहेको छ । युवा जनशक्ति देशको प्रमुख उत्पादनशक्ति हो, र जब यस उत्पादनशक्ति बाहिर पलायन हुन्छ, देशको औद्योगिक, शैक्षिक, र सेवामूलक क्षेत्रहरू कमजोर बन्छन् ।
ब्रेन ड्रेन, आन्तरिक विकासको कम प्राथमिकता, परनिर्भर अर्थतन्त्र जस्ता समस्या नेपालमा मलजल पाएका छन् जसले गर्दा यो समस्याले नेपालमा निकट भविष्यमा विकराल रुप लिने सम्भावना देखिन्छ । त्यसैले सरकार पक्ष यसमा गम्भिर हुनुपर्ने देखिन्छ ।
सरकारले निजी क्षेत्रसंग सहकार्य गरी रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । औद्योगिक क्षेत्रहरूको विकास, कृषि आधुनिकीकरण र सेवा क्षेत्रको विस्तारमा ध्यान दिनुपर्छ ।
उद्यमशीलताका कार्यक्रमहरूलाई प्रवद्र्धन गर्न सकिन्छ, जसले युवा जनशक्तिलाई नेपालमै रोजगारको अवसर दिन सक्छ । त्यसै गरि नेपालको शिक्षालाई व्यवहारिक, सीपमूलक, र रोजगारसंग जोड्न सक्नुपर्छ । उच्च शिक्षामा लगानी बढाउनु र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने संस्थाहरू स्थापना गर्नु दीर्घकालीन उपाय हो ।
सरकार र निजी क्षेत्रले स्टार्टअपहरूलाई सहयोग पुर्याउने वातावरण सिर्जना गर्नुपर्छ । युवा उद्यमीहरूलाई सहज ऋण, करमा सहुलियत, र बजारको पहुँच दिन सकिन्छ । नेपालले विदेशी श्रम बजारमा मात्र निर्भर नरही आन्तरिक श्रम बजारलाई आधुनिकीकरण गर्नुपर्छ ।
औद्योगिक क्रान्ति र प्रविधिको प्रयोगले श्रम बजारमा अवसर वृद्धि गर्न सकिन्छ । र अन्त्यमा विदेशमा शिक्षा र अनुभव प्राप्त गरेका युवाहरूलाई नेपाल फर्केर काम गर्न प्रेरित गर्न, उनीहरूको ज्ञान र सीपलाई मुलुकको विकासमा उपयोग गर्ने रणनीति समेत बनाउनुपर्छ ।
नेपालबाट युवाहरूको विदेश पलायन एक गम्भीर मुद्दा हो, जसले देशको भविष्यमा ठूलो प्रभाव पार्नेछ । छोटो अवधिमा विप्रेषणले केही राहत दिएको भए पनि, दीर्घकालीन समाधानको लागि रोजगारी सिर्जना, शिक्षा सुधार, र सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नु आवश्यक छ ।
युवा जनशक्ति बाहिर गुमाउनुको सट्टा उनीहरूको सीप र प्रतिभा नेपालमै उपयोग गर्ने वातावरण सिर्जना गर्न सकेमा मात्र मुलुकको दिगो विकास सम्भव छ ।