- 06 January 2025
- २०८१-०९-२२ (सोमबार)
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को शैक्षिक सत्र २०८१/०८२ को लागि लिइएको बीई./बी.आर्क प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको लागि भर्ना प्रकृया चलिरहेको छ ।
अहिलेसम्म तेश्रो सूचीको भर्ना कार्यक्रम सम्पन्न भइसकेको छ । विद्यार्थीले आफ्नो रुची अनुसारको विषय र मन परेको कलेज छनोट गर्दै भर्ना गरिरहेका छन् ।
यसैबीच तेस्रो भर्ना प्रकृया सकिएपछिको तथ्यांकलाई आधार मानेर हेर्दा कम्प्यूटर इन्जिनियरिङ विद्यार्थी पहिलो रोजाइमा परेको छ भने इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा विद्यार्थीको आकर्षण कम भएको देखिएको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त काठमाडौँ इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ १४.५ प्रतिशतले मात्र भर्ना गरेको भर्ना प्रोटलमा उल्लेख छ । यहाँ जम्मा ४८ सिटमध्ये ४१ सिट खाली नै छन् । सोही प्रतिशत एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा पनि रहेको छ । यहाँ पनि जम्मा ४८ सिटमध्ये ४१ वटा सिट अझै खाली छन् ।
यस्तै नेशनल कलेज अफ इन्जिनियरिङमा ३७.५ प्रतिशत विद्यार्थीले यस विषयमा भर्ना गरेका छन् । यहाँ रहेका ४८ सिटमध्ये ३० वटा सिट खाली छन् । भने, यो प्रतिशत ख्वप कलेज अफ इन्जिनियरिङमा केही मात्राले बढेको देखिन्छ । यस कलेजमा छुट्याइएको ४८ कोटामध्ये २७ सिट खाली छन् ।
यी चार निजी कलेजको भर्नाको अनुपातले इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा विद्यार्थीको चासो कम भएको तथ्यांकले देखाउँदछ । चारवटै सम्बन्धन प्राप्त कलेजको कोटा जोडेर हेर्ने हो भने जम्मा १९२ सिट यस विषयका लागि छुट्याइएको छ । जसमा १३९ सिट खाली छन् भने २७ प्रतिशत विद्यार्थीले मात्र यस विषयमा भर्ना गरेका छन् ।
यता आंगिक क्याम्पसहरू पुल्चोक, पश्चिमाञ्चल र पूर्वाञ्चल क्याम्पसमा पनि तेश्रो सूचीको भर्ना कार्यक्रम सम्पन्न भैसक्दा पनि उल्लेख्य मात्रमा रिक्त सिट देखिन्छ ।
निजी कलेजभन्दा भर्ना संख्या यहाँ बढी भए पनि अन्य विषयको तुलनामा इलेक्ट्रिकल इन्जिनियरिङमा रिक्त सिट बढी नै छ ।
पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ रेगुलर र इलेक्ट्रिकल इन्जिनियरिङ फुल फि गरी हालसम्म १० वटा सिट खाली छन् ।
यस्तै पश्चिमाञ्चल क्याम्पसमा पनि रेगुलर कार्यक्रम र फुल फि गरी १६ सिट खाली छन् । सोही क्रममा पूर्वाञ्चल क्याम्पसमा पनि इलेक्ट्रिकल इन्जिनियरिङ १८ वटा सिट खाली छन् ।
पछिल्लो दशकमा अन्तर्राष्ट्रिय अवसर र करियर हेरेर अधिकांशले विषय छनोट गर्ने गरेका छन् ।