व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिँदै


Posted: Oct. 2, 2024
  Engineers Nepal

तनहुँ- व्यास नगरपालिकाका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको  छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो । 

विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाले व्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्तर्गत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । 

पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक-१२ को घाँसीकुवासँग जोडिने गरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर, अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ । 

मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण सम्झौता भएको यो आयोजना आगामी असारसम्ममा निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ । प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो ।






Leave a comment




Comments