बीई./बी.आर्क तहमा विद्यार्थीको रोजाइमा कुन क्याम्पस, खाली कोटा कति ?


Posted: Sept. 29, 2024
  Engineers Nepal

काठमाडौँ- इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को शैक्षिक सत्र २०८१/०८२ को लागि लिइएको बीई./बी.आर्क प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको लागि भर्ना प्रकृया सुरु भइसकेको छ ।

अहिले पहिलो सूचीको भर्ना प्रकृया सकिएको छ भने अब दोस्रो सूचीको भर्ना कार्यक्रम सुरु भएको छ । १५ वटा क्याम्पस तथा कलेजहरूमा भर्नाका लागि विद्यार्थी कोटा राखिएका छन् । जसमा १९ वटा विषयहरू समावेश छन् भने ४ हजार ३४४ वटा कोटा छुट्याइएका छन् ।

जसअन्तर्गत पुल्चोक क्याम्पसमा ९० प्रतिशत विद्यार्थी भर्ना भएका छन् । जसमा ६२४ कोटामध्ये ६१ खाली छन् भने ५६३ कोटामा भर्ना भइसकेको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले जनाएको छ ।

यस्तै थापाथली क्याम्पसमा ६५ प्रतिशत भर्ना भएको छ । जसमा रहेको ४३२ कोटामध्ये १४८ उपलब्ध छ भने २८४ फुल छ । पश्चिमाञ्चल क्याम्पसमा ६४ प्रतिशत भर्ना भएका छन् । जसमा ४३२ कोटा थियो भने अहिले १५४ खाली छ र २७८ कोटा फुल छ । पूर्वाञ्चल क्याम्पसको भर्ना प्रतिशत ६७ रहेको छ । यहाँ ५२८ कोटामध्ये १७६ खाली र ३५२ फुल छ ।

सोही समयमा काठमाडौँ इन्जिनियरिङ कलेजमा ५७ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । यहाँ भएको ३८४ कोटामध्ये १६४ खाली छ भने २०२ कोटा भरिएको छ । कान्तिपुर इन्जिनियरिङ कलेजमा ४१ प्रतिशत भर्ना छ । जसमा २८८ मध्ये १६८ खाली र १२० कोटा फुल छ । भने, सगरमाथा इन्जिनियरिङ कलेजमा ३८ प्रतिशत भर्ना भएको छ । यहाँ १४४ मध्ये ८९ कोटा खाली छ भने ५५ वटा फुल छन् ।

एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टको भर्ना प्रतिशत ३८ रहेको छ । जसमा ३३६ कोटा थियो । हाल २०५ वटा खाली छ भने १३१ फुल छ । हिमालय कलेज अफ इन्जिनियरिङमा ७७ प्रतिशत भर्ना भएको छ । जसमा २४० कोटामध्ये ५४ खाली र १८६ फुल रहेको जनाइएको छ ।

नेशनल कलेज अफ इन्जिनियरिङको पनि कोटा २४० मध्ये १५३ खाली छ भने ८७ वटामा भर्ना भइसकेको छ । यस कलेजको भर्ना प्रतिशत ३६ रहेको छ । यस्तै ललितपुर इन्जिनियरिङ कलेजले पनि ९६ कोटामध्ये २६ वटामा विद्यार्थी भर्ना गरेको छ भने ७० वटा खाली छन् । जसको विद्यार्थी भर्ना २७ प्रतिशत रहेको छ । काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा पनि १९२ कोटामध्ये १४८ खाली छ भने ४४ मात्र फुल रहेको छ । यसको भर्ना प्रतिशत २२ रहेको छ ।

यस्तै ख्वप कलेज अफ इन्जिनियरिङमा विद्यार्थी भर्ना ६६ प्रतिशत रहेको छ । जसमा १९२ कोटामध्ये ६५ वटा खाली छ भने १२७ वटामा फुल छ । चितवन इन्जिनियरिङ क्याम्पसमा २४ कोटामध्ये १५ वटा खाली छन् भने ९ वटामा विद्यार्थीले भर्ना लिइसकेका छन् । यसको भर्ना प्रतिशत ३७ रहेको छ । र, जनकपुर इन्जिनियरिङ कलेजमा राखिएका १९२ कोटामध्ये एउटा कोटामा मात्र भर्ना भएको छ ।






Leave a comment




Comments