'पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो'


Posted: Sept. 29, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केबलकार कोसेढुङ्गो साबित हुने बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताएका हुन् । उनले यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे ।

ढकालले पाथीभरा केबलकारमा स्थानीयहरूलाई शतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको जिकिर गरे । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शतप्रतिशत प्राथमिकता दिने उनको भनाइ छ । उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए ।

अध्यक्ष ढकालले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको उल्लेख गरे ।

उनले स्थानीयहरूलाई केबलकारले दिने सेवासुविधा सबै दिन तयार रहेको बताए । उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए ।






Leave a comment




Comments