अधिकतम ७ लाख ६५ हजारमा सिभिल इन्जिनियरिङ पढाउँदै ललितपुर इन्जिनियरिङ कलेज


Posted: Sept. 22, 2024
  Engineers Nepal

काठमाडौँ- इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को शैक्षिक सत्र २०८१/०८२ का लागि लिइएको बीई./बी.आर्क तहको प्रवेश परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरूको लागि भर्ना कार्यक्रम सुरु भएको छ ।

कुल ९ हजार ३ सय ६१ जना विद्यार्थीहरूले आइओई इन्ट्रान्समा फारम भरेकोमा इन्जिनियरिङ अध्ययन संस्थानले ६ हजार ५ सय ३० जना विद्यार्थीको मेरिट लिस्ट प्रकाशित गरेको छ । सोही अनुरुप सबै आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूले मेरिट लिष्ट अर्थात् योग्यता क्रमका आधारमा पहिलो सूचीको भर्ना लिने प्रक्रिया सुरु गरेका छन् ।

ललितपुरको पाटनढोकास्थित ललितपुर इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई आकर्षण गर्न आइओईको मेरिटअनुसारको भर्ना शुल्कमा छात्रवृत्ति ल्याएको छ । स्थापनाको १४ औँ वर्षमा चलिरहेको यस कलेजले बीई सिभिल, बीई कम्प्युटर र बीसीए पढ्न चाहने विद्यार्थीहरूका लागि भर्ना खुलाएको छ ।

यी विषयहरूमा ४८-४८ जना विद्यार्थीको भर्ना संख्या तोकिएको छ । कलेजले आइओईको र्याङ्कअनुसार विद्यार्थीलाई छात्रवृत्ति समेत दिँदै आएको कलेजका प्रिन्सिपल प्रा.डा. सुरेन्द्रबहादुर ताम्राकारले जानकारी दिए ।

जापानमा समेत इन्जिनियरिङको अध्यापन गराइसकेका प्रा.डा. ताम्राकारले ललितपुर इन्जिनियरिङ कलेज विद्यार्थीहरू लागि उपयुक्त गन्तव्य भएको बताउँछन् । काठमाडौँ आएपछि झण्डै डेढ वर्षदेखि सोही कलेजमा अध्यापन गराइरहेका उनले बीई सिभिल, बीई कम्प्युटर विषयको भर्ना शुल्कमा छात्रवृत्ति दिइरहेको बताए ।

उनले यस कलेजले बीई सिभिल कोर्षका लागि १ देखि २००० मेरिटसम्मका विद्यार्थीलाई आइओईले तोकेको शुल्क लाग्ने र २००१ देखि ४५०० मेरिटसम्मका विद्यार्थीलाई ७ लाख १५ हजार र ४५०० मेरिटभन्दा माथिका विद्यार्थीलाई ७ लाख ६५ हजार रुपैयाँ लाग्ने बताए ।

कलेजले बीई कम्प्युटर विषयमा पनि छात्रवृत्ति दिइरहेको उनले उल्लेख गरे । उनका अनुसार बीई कम्प्युटरमा विद्यार्थीले छात्रवृत्ति पाउने छन् । जसमा १ देखि १५०० मेरिटसम्मका विद्यार्थीलाई आइओईको शुल्क लाग्ने छ भने १५०१ देखि ३५०० मेरिटभित्र रहेका विद्यार्थीले ९ लाख १५ हजार, ३५०१ देखि ४५०० मेरिट रहेका विद्यार्थीले ९ लाख ६५ हजार र ४५०० भन्दा माथि मेरिट आएका विद्यार्थीले १० लाख १५ हजार रुपैयाँ भर्ना शुल्क तिर्नुपर्ने छ ।

यद्यपी आइओईको टप र्याङ्कमा रहेका ४ जना विद्यार्थीहरूलाई थप १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने प्रा.डा. ताम्राकारले बताए । उनका अनुसार यी दुवै विषयहरूमा आफ्नो सिट सुरक्षित राख्ने महिला विद्यार्थीहरूलाई थप १५ हजार रुपैयाँ छात्रवृत्ति हुने छ ।

यस्तै कलेजमै आउने गरीब तथा जेहेन्दार विद्यार्थीलाई भर्ना शुल्कमा विशेष छात्रवृत्ति दिइने प्रा.डा. ताम्राकारले उल्लेख गरे ।

पछिल्लो समय विभिन्न विश्वविद्यालयहरूले इन्जिनियरिङ पढाउन मनलाग्दी सम्बन्धन बाँडिसकेपछि विद्यार्थी तान्न कलेजहरूबीच प्रतिस्पर्धा सुरु भएको छ ।  कलेजहरूले भर्ना शुल्क घटाउँदै पढाइको गुणस्तर बढाउन थालेका छन् । साथै कलेजहरूले विद्यार्थीको आकर्षण बढाउनका लागि नयाँ योजना ल्याइरहेका छन् ।

यही प्रतिस्पर्धात्मक बजारमा ललितपुर इन्जिनियरिङले विद्यार्थीमाझ नयाँ अभ्यासका माध्यमबाट शिक्षा दिइरहेको प्रा.डा. ताम्राकारले भनाइ राखे । उनी भन्छन्, 'सबै कलेजहरूको पाठ्यक्रम एउटै हुन्छ । तर, हाम्रो कलेजमा विद्यार्थीहरूको इमपावरमेन्ट बढाउने गतिविधि गर्नु, समय समयमा तालिम तथा प्रशिक्षण दिनु नै फरक हो । यसबाट विद्यार्थीले पाठ्यक्रमको सिकाइ सँगसँगै एक्स्ट्रा एक्टिभिटीबाट पनि शिक्षा लिन सक्छन् ।' कलेजले आफ्ना विद्यार्थीहरूका लागि जर्नल निकाल्ने, कन्फरेन्सहरू गर्ने गरेको पनि उनले सुनाए ।

विगत र वर्तमानलाई केलाएर हेर्दा इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरूमा राजनीतिक हाबी देखिन्छ । जसकारण उनीहरूमा आफ्नो पढाइलाई पेसा बनाउन र पेसालाई व्यावसायिकतामा रुपान्तरण गर्न कठिन हुन सक्ने ताम्राकारको भनाइ छ । त्यसैले आफ्नो कलेजलाई राजनीतिले अहिलेसम्म नछोएको उनले जिकिर गरे ।

प्रा.डा. ताम्राकारले भने, 'हाम्रो कलेजमा राजनीति छिरेको छैन र छिर्न पनि दिँदैनौँ । हामीले हाम्रा विद्यार्थीलाई राजनीतिबाट टाढा राखेका छौँ । हामी सबैको ध्यान पढाइमै केन्द्रित छ । हाम्रो कलेज 'विथआउट पोलिटिक्स' हो ।' आफू यस कलेजमा आएदेखि नै कलेजको सबै प्रणाली नयाँ तरिकाले सुचारू गरिरहेको उनले सुनाए ।






Leave a comment




Comments