04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को शैक्षिक सत्र २०८१/०८२ का लागि लिइएको बीई./बी.आर्क तहको प्रवेश परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरूको लागि भर्ना कार्यक्रम सुरु भएको छ ।
सबै आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूले मेरिट लिष्ट अर्थात योग्यता क्रमका आधारमा भर्ना लिने प्रक्रिया सुरु गरेका छन् ।
ललितपुरको धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई आकर्षण गर्न आइओईको मेरिटअनुसारको भर्ना शुल्क अफर ल्याएको छ ।
कलेजले इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ र सिभिल इन्जिनियरिङमा आइओईको र्याङ्कअनुसार आफ्नो भर्ना शुल्क खुलाएको छ ।
यस कलेजले इलेक्ट्रोनिक्सको चार वर्षे कोर्षको लागि १ देखि १२०० मेरिट सम्मका ५ जना विद्यार्थीलाई १ लाख ८ हजार रुपैयाँ शुल्क लाग्ने बताएको छ ।
यस्तै १२०१ देखि २००० मेरिटसम्मका १० जनालाई ३ लाख, २००१ देखि ५००० मेरिटसम्मका २० जनालाई ४ लाख र ५००१ देखि माथिका विद्यार्थीहरूलाई ५ लाख शुल्क पर्ने उल्लेख गरेको छ ।

यस्तै कलेजले सिभिल इन्जिनियरिङको ९६ जनाको कोटामा ८५ जना विद्यार्थीहरूका लागि छात्रवृत्तिको कार्यक्रम ल्याएको छ ।
जसमा १ देखि १२०० र्याङ्कमा रहेका १० जनालाई १ लाख ८ हजार, १२०१ देखि २००० मा रहेका २० जनालाई ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
यस्तै २००१ देखि २५०० मेरिटभित्रमा रहेका १० जनालाई ६ लाख, २५०१ देखि ४००० आएका २० जनालाई ७ लाख ५० हजार, ४००१ देखि ६००० मा रहेका २५ जनालाई ९ लाख र ६००१ देखि माथिसम्म आएका विद्यार्थीहरूलाई ११ लाख रुपैयाँ भर्ना शुल्क तोकेको कलेजले जनाएको छ ।

कुल ९ हजार ३ सय ६१ जना विद्यार्थीहरूले आइओई इन्ट्रान्समा फारम भरेकोमा इन्जिनियरिङ अध्ययन संस्थानले ६ हजार ५ सय ३० जना विद्यार्थीको मेरिट लिस्ट प्रकाशित गरेको छ ।