- 30 December 2024
- २०८१-०९-१५ (सोमबार)
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसले अटोमोबाइल इन्जिनियरिङमा विद्यार्थी नपाएपछि कार्यक्रम स्थगन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको पश्चिमाञ्चल क्याम्पसले शैक्षिक सत्र २०८१ को पहिलो भर्ना सूची प्रकाशन गर्दै उक्त कार्यक्रम यो वर्षको लागि स्थगन गरेको हो ।
"अटोमोबाइल इन्जिनियरिङ कार्यक्रममा भर्नाको लागि प्राप्त आवेदकको संख्याबाट पूर्णशुल्किय कोटाको ६०% सिटमा भर्ना हुन संख्या नपुग हुने भएकाले स्नातक तहको प्रवेश–परीक्षा तथा क्याम्पस भर्नासम्बन्धी जानकारी तथा निर्देशिका २०८१ को दफा २ (७) क) र ख) अनुसार यस वर्षको निम्ति स्थगन गरिएको छ ।" सूचनामा उल्लेख छ ।
दफा २ (७) ख मा "प्रथम चरणको भर्ना कार्यक्रम (प्रथम, दोस्रो तथा तेस्रो भर्ना सूची) भित्रमा कुनै पनि कार्यक्रममा पूर्णशुल्कीय र प्रायोजित कोटातर्फको ६०% कोटा नभरिएको खण्डमा सम्बन्धित क्याम्पसले सो कार्यक्रमलाई त्यस वर्षको निम्ति स्थगन गर्न सक्नेछ । त्यस्तो अवस्थामा भर्ना शुल्क पूरै फिर्ता गर्नुपर्नेछ ।" उल्लेख छ ।
११२४ जना प्रवेश परीक्षा उत्तिर्ण विद्यार्थीले क्याम्पसमा आवेदन दिए पनि २३ जना विद्यार्थीले मात्र अन्तिम प्राथमिकता राखेर अटोमोबाइल इन्जिनियरिङ पुर्ण शुल्कीयमा आवेदन दिएका छन् ।
नेपालमा थापाथली क्याम्पस र पश्चिमाञ्चल क्याम्पस गरि स्नातक तहमा ९६ सिटमा अटोमोबाइल इन्जिनियरिङ संचालन हुँदै आएको छ ।