४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न


Posted: Sept. 20, 2024
  Engineers Nepal

काठमाडौँ- ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको उक्त जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।

संघीय सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

आयोजनाको ६ दशमलव दुई किलोमिटर लामो सुरुङ सम्पन्न भई कङ्क्रिट लाइनिङको काम तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्णरूपमा कङ्क्रिट लाइनिङ गर्नु पर्नेछ ।

हालसम्म मुख्य सुरुङको एक किमी कङ्क्रिट लाइनिङ गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । मुख्य सुरुङबाट विद्युतगृहसम्म पानी पुर्यााउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइपमध्ये एक सय ३० मिटर जडान गरिएको छ ।

विद्युतगृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेका छन् । विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुईवटा युनिट रहने आयोजना कार्यालयले जनाएको छ ।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायत उपकरण आयोजनास्थलमा ढुवानी भइसकेका छन् । अब जडान सुरु हुने छ । बालुवा थिग्राउने पोखरी (डिसेन्टर) को निर्माण करिब ३० प्रतिशत सकिएको र वर्षाका कारण रोकिएको हेडवर्क्सको निर्माण सुरु हुने बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर काम भइरहेको जानकारी दिए ।

आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ रहेकामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन् ।

त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत् उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो । सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो । आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो ।

त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो । सिभिल संरचना र हाइड्रो मेकानिकलका काम इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा जयप्रकाश एसोसिएटस् लिमिटेड, भारतले, इलेक्ट्रोमेकानिकलका कार्य भारत हेभ्वी इलेक्ट्रिकल लिमिटेडले र निर्माण सुपरीवेक्षण वाप्कोस् लिमिटेड भारतले गरिरहेका छन् ।

दैनिक चार घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रूपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने जनाइएको छ ।






Leave a comment




Comments